
लमजुङ । ४४ रोपनी जग्गा कीर्ते गरी बेचविखन गरेको अभियोगमा लमजुङका चार जना जेल चलान भएका छन् । जिल्ला अदालतको आदेशमा उनीहरुलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।
अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ – जेल जानेमा बेसीशहर नगरपालिका-३ दनाई गाउँमा स्थायी घर भएका ४८ वर्षीय काजीराम दमै, सोही नगरपालिका– ८ अस्पताल टोलमा स्थायी घर भएका बसन्त बराल, सोही नगरपालिका-४ पुरानकोटकी स्थायी बासिन्दा ३७ वर्षीया हरिमाया गुरुङ र सोही नगरपालिका-९ बाख्रेजगतमा स्थायी बसोबास गर्ने मिलन गुरुङ रहेको जिल्ला अदालतका स्रेस्तेदार भूमिप्रसाद शर्माले बताए । उनका अनुसार जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले उनीहरूलाई पुर्पक्षका लागि जेल चलान गरेको हो ।
दुई जना फरार
सोही मुद्दामा नुवाकोटको साविक सिग्रे गाविस-६ स्थायी घर भएका २६ वर्षीय दीपक तामाङ र काभ्रेको सिपली चिलाउने गाविस-१ स्थायी घर भएका २६ वर्षीय बुद्ध लामा फरार भएको प्रहरी नायव उपरीक्षक यादव ढकालले बताए ।
ढकालका अनुसार जेल जाने बेसीशहर– ४ पुरानकोटकी हरिमाया गुरुङ जग्गा धनी सोही स्थान निवासी ८१ वर्षीय मनमाया गुरूङकी छोरीकी नातिनी हुन् । उनीहरू ६ जना मिलेर पुरानकोटकै विभिन्न स्थानमा मनमाया गुरूङका नाउँमा रहेको जग्गा कीर्ते गरी विक्री गरेको भेटिएको ढकाल बताए ।
उनीहरूले बेसीशहर नगरपालिका–४ नं वडा कार्यालयको कीर्ते सिफारिस गरी कुल ४४ रोपनी ९ आना ९ पैसा ३ दाम क्षेत्रफलको जग्गा कीर्ते गरी विक्री गरेको पाइएको प्रनाउ ढकालले बताए । उनका अनुसार पछिल्लो पटक ३२ रोपनी जग्गा त्यसरी विक्री गर्दै गर्दा छिमेकले थाहा पाएर सो रोक्ने काम भयो र अनुसन्धानका लागि उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिने काम गरेको थियो । अनुसन्धानका क्रममा ४४ रोपनी जग्गा कीर्ते गरेको भेटिएको ढकालले बताए ।
उनका अनुसार बेसीशहर नगरपाकालिका– ४ का वडाध्यक्ष लालवीरको उजुरीले नेपाल सरकार बादी हुने गरी मुद्दा दायर गरिएको छ । मनमायाका पति र छोरा छैनन्, छोरीहरू पनि सबैको विवाह भइसकेको छ । गाउँमै विवाह गरेर हजुर आमाको समेत रेखदेख गर्दै आएकी हरिमाया गुरुङले किराना पसल समेत सञ्चालन गरेकी थिइन् ।
उनले पसल चलाउन पैसाको अभाव रहेको हजुरआमासँग गुनासो गरेपछि बैँकमा धितो राखेर ऋण लिनका लागि मञ्जुरीनामामा ठूलीआमाले ल्याप्चे लगाई दिनु भएको रहेछ नेपाली काँग्रेस क्षेत्र नं– २ का सभापति रहेका भएका मनमायाका भतिजा बृषराज गुरुङले बताए । उनले भने, ‘उनीहरूले पछिल्लो लटमा विक्री गर्दै गरेको ३२ रोपनी जग्गा विक्री गर्दै गरेको सुइको पाएपछि मालपोत कार्यालयमा रोक्न सफल भइयो । पछि बुझ्न जाँदा त ४४ रोपनी भ्याई सकेका रहेछन् ।’