प्रताप बानियाँ
उच्च पहाडी जिल्ला म्याग्दीमा मङ्गलबार बिहानैदेखि भारी हिमपात भएको छ । खासगरी जिल्लाको माथिल्लो भेगमा हिमपात भएको हो । सदरमुकाम बेनीबजारदेखि २६ कोष टाढा पश्चिममा पर्ने दुर्गम तथा विकट गूर्जामा आज दिनभर हिमपात भएको स्थानीयले बताएका छन् ।
धौलागिरी गाउँपालिका–१, नम्बर वडामा रहेको गूर्जा गाउँमा अहिले पनि हिमपात भैरहेको वडा अध्यक्ष झकबहादुर छन्त्यालले टेलिफोनमा जानकारी दिनुभयो । उहाँका अनुसार गूर्जामा २ फिटसम्म हिउँ जमेको छ भने हिमपातका कारण अत्यधिक चिसो बढेको छ । हिमपातले गर्दा स्थानीयवासिन्दा घरभित्रै आगो तापेर बस्न बाध्य भएका छन्भने चिसो बढेपछि भर बाहिर निस्कन गाह्रो परेको वडा अध्यक्ष छन्त्यालले बताउनुभयो ।
बिहानैदेखि हिमपात भएपछि स्थानीय जनकल्याण माध्यमिक विद्यालयको पठनपाठन बन्द भएको छ । बालबालिकाहरु घर बाहिर निस्कन नसकेको हुँदा अत्यधिक चिसो बढेकाले पठनपाठन बन्द गरिएको विद्यालयले जनाएको छ । गूर्जामा मात्रै यो वर्षको तेस्रोपटक हिमपात भएको हो । गूर्जाका साथै जिल्लाको माथिल्लो क्षेत्रहरु लुलाङ, मुदी, पर्यटकीय क्षेत्र खोप्रालेक, घोरेपानी, महरेडाँडा लगायतका क्षेत्रमा सेताम्मे हिउँ परेको छ ।
उता हिमालपारीको जिल्ला मुस्ताङमा पनि बिहानैदेखि हिमपात भएको बताइएको छ । पाँचवटा गाउँपालिका रहेको मुस्ताङको सबैजसो क्षेत्रमा हिमपात भएको हो । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका अन्तर्गत लोमान्थाङ, छोसेर, छोन्हुपसहितका क्षेत्रमा भारी हिमपात भएको लोमान्थाङबाट कर्मा सम्टुकले टेलिफोनमा जानकारी दिनुभयो । लोमान्थाङमा झण्डै डेढ फिटसम्म हिउँ परेपछि बाहिर निस्कन नसकेको हुँदा आफूहरु घरभित्रै बसेर आगो तापेको उहाँले बताउनुभयो ।
हिमपातका कारण लोमान्थाङमा नमस्ते मोबाइलको सम्पर्क बिच्छेद भएको छ । लोमान्थाङको तापक्रम माइनसतर्फ झदै गैरहेको हुँदा रातमा १७ डिग्रीसम्म पुग्ने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) कार्यालय लोमान्थाङले जनाएको छ । हिमपात भएपछि मुस्ताङका डाँडाकाँडाहरु सेताम्मे देखिएको र सदरमुकाम जोमसोममा करिब आधा फिटसम्म हिउँ जमेको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी विश्वश्वर रेग्मीले टेलिफोनमार्फत जानकारी दिनुभयो । हिमपातले स्थानीयको जनजीवन कष्टकर बनेको हुँदा बजारमा चहलपहल घटेको र कार्यालयको दैनिक कार्यसम्पादनमा समेत समस्या भएको सहायक प्रजिअ रेग्मीले बताउनुभयो ।
म्याग्दी र मुस्ताङमा भारी हिमपातले जनजीवन कष्टकर, कृषकलाई राहत
Previous Articleतिम्ल्याह बच्चा पालनपोषणमा बेनपाको सहयोग
Next Article बेनी बोर्डिङ कप प्रतियोगिता सुरु