रुप्से दैनिक/पर्वत
सामुदायिक रेडियो दिदीबहिनी ९५ दशमलव २ मेगाहर्ज पर्वतको आयोजनामा हुन लागेको ११औं गण्डकी प्रदेशस्तरीय महिला महोत्सव तथा रेडियोको नवौं वार्षिकोत्सव तयारी सुरु भएको छ । आगामी फागुन १७ देखि २५ गतेसम्म महोत्सवको आयोजना गर्नेगरी तयारी भैरहेको भए पनि यही माघ २५ देखि फाल्गुण ५ गतेसम्म महोत्सव अगाडि सारिएको हो ।
महोत्सवका विषयमा रेडियो दिदीबहिनीका अध्यक्ष कल्पना चापागाईंले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएकी छिन् । महोत्सवमा मुख्य आकर्षणको रुपमा राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता राखिएको र सोही समयमा भलिबलको महिला राष्ट्रिय टिम अन्यत्रका प्रतियोगितामा पनि जानुपर्ने सेड्युल रहेका कारण खेलाडीको समय व्यवस्थापनको लागि महोत्सवलाई अघि सारिएको चापागाईंको भनाइ छ । महोत्सवमा महिला भलिबल प्रतियोगिता, दौडलगायत विभिन्न प्रतियोगिताहरु आयोजना गरिएको छ ।
तेस्रो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०७५ माघको २८, २९ र फागुन १ गते तीन दिनसम्म चल्नेछ । प्रतियोगिताका विजेताहरुले क्रमशः दुईलाख, एकलाख र ५० हजार रुपैयाँ पाउनेछन् । प्रतियोगितामा तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी क्लब, नेपाल एपिएफ क्लबसहित न्यु डायमन्ड एकेडेमी, पश्चिमाञ्चलको कुनै एक टोली, आयोजक दिदिबहिनी क्लबको सहभागिता रहनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिग नकआउटका आधारमा खेल हुनेछ । यस्तै खुल्ला दौड प्रतियोगिताको विजेताले २५ हजार, दोस्रो हुनेले १५ र तेस्रो हुने खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
दौड प्रतियोगितामा महिला पुरुषले एकैपटक दौडने भएका छन् । भलिबल प्रतियोगिताको उद्घाटनकै दिन माघ २८ गते दौड आयोजना गर्ने योजना रहेको छ । महोत्सवमा अपाङ्कता भएका व्यक्ति, ज्येष्ठनागरिक र एकल महिलालाई परिचयपत्रका आधारमा टिकट निःशुल्क गरिने छ भने मरुभुमीमा मात्र पाइने उटले नेपाली गितमा नृत्य गर्ने पनि बताइएको छ । महोत्सव सुरु हुन १९ दिन मात्र बाँकी रहँदा तयारी पनि तीव्र पारिएको कार्यक्रम संयोजक दुर्गा शर्माले बताएकी छिन् ।
भलिबल प्रतियोगिताका दौरान जनप्रतिनिधि र सञ्चारकर्मीबीच मैत्रीपूर्ण भलिबल खेलको पनि आयोजना गरिने रेडियोले जनाएको छ । २०६६ साल फागुन २४ गते १०९औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा स्थापना भएकोे रेडियोले स्थापनाकालदेखि नै पश्चिमाञ्चलस्तरीय महिला महोत्सवको आयोजना गर्दै आएको छ । महिलाहरुको प्रतिभाको उजागर र सिपको प्रदर्शन हुँदै आएको महोत्सवमा यसवर्ष महिला भलिबल, दौडसहित प्रथम दिदीबहिनी डान्स आईडल, रत्यौली तथा भजन प्रतियोगिता, उत्कृष्ट ¥याली एवं झाकी प्रदर्शन प्रतियोगिताहरु हुनेछ ।
Previous Articleम्याग्दीमा भेटियो दुर्लभ ‘किङ्ग कोब्रा’
Next Article फरक धारको गित संगित आउनु पर्छ: रबिना भण्डारी