
काठमाडाै । प्रधानमन्त्री केपी ओलीले विकासको कामले असाधारण गति लिने बताएका छन् । नयाँ–नयाँ उपलब्धिका लागि सरकार हरेक दिन एक कदम अघि बढिरहेको उनको भनाइ छ । पार्टी कार्यालय धुम्बाराहीमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रधानमन्त्रीले आर्थिक समृद्धिका क्षेत्रमा उत्साहजनक प्रगति देखिएको दाबी गर्दै नेपाल विश्वमै तीव्र आर्थिक वृद्धिदर लक्ष्य हासिल गर्ने मुलुकमा दर्ज हुने गरी काम भइरहेको बताए ।
अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ – ‘सरकार विकासको बाटोमा, नयाँ–नयाँ काममा उपलब्धि हासिल गर्ने कुरामा हरेक दिन एक कदम अघि बढिरहेको छ,’ प्रधानमन्त्रीले भने, ‘नेपाल विश्वमै तीव्र आर्थिक वृद्धिदर लक्ष्य हासिल गर्ने मुलुकका रूपमा चिनियो भने कसैले आश्चर्य नमान्नुहोला, हामी त्यसतर्फ अघि बढिरहेका छौँ ।’ उनले अहिलेकै रफ्तारमा अघि बढ्न सके सन् २०३० अगावै सहस्राब्दी दिगो विकास लक्ष्य पूरा गर्न सकिने विश्वास व्यक्त गर्दै मुलुक छिट्टै आर्थिक रूपले समृद्ध हुन सक्ने बताए । त्यसअनुसार नै नेपालीहरूको प्रतिव्यक्ति आय र आर्थिक वृद्धिदरमा प्रगति भइरहेको उनको भनाइ थियो ।
कांग्रेसका पूर्वसांसद भुसाल नेकपामा प्रवेश
पूर्वसांसद तथा चितवन कांग्रेसका पूर्वसभापति तीर्थराज भुसाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्षद्वय ओली तथा पुष्पकमल दाहाल प्रचण्डले भुसाललाई स्वागत गरे । भुसाल ०५१ सालमा कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सांसदमा निर्वाचित भएका थिए । लामो समयदेखि कांग्रेसमा क्रियाशील उनी चितवनमा प्रभावशाली मानिन्छन् ।
फुट्ने होइन, नेकपाले झन् तला थप्छ
प्रधानमन्त्री ओलीले नेकपा व्यावहारिक रूपमै लोकतान्त्रिक पार्टी भएको उदाहरण प्रस्तुत गर्दै पार्टी झन् सशक्त र मजबुत बन्दै जाने उद्घोषसमेत गरे । ‘हाम्रो पार्टीको बैठक देख्दा दुनियाँका अरू पार्टी पनि छक्कै पर्छन्, लामो छलफल र बहस हुन्छ, कतिपय कुरा बाहिर आउँछन्, के–के न होला भन्ने लागेको हुन्छ, अन्तिममा त सधैँ सर्वसम्मत निर्णय पो हुन्छ,’ प्रधानमन्त्रीले भने, ‘कसैकसैले पार्टी फुट्छ भन्ने पनि ठानेका होलान्, तर यहाँ त अझै कत्रा–कत्रा तला थपिँदै जानेछ ।