प्रधानमन्त्री केपी शर्मा ओलीले किर्तिपुर नगरपालिका स्थित चोभारमा सुख्खा बन्दरगाहाको शिलान्यास गरेका छन् ।
साविक हिमाल सिमेन्ट कारखानाले चर्चेको चोभार स्थित ११.७७ हेक्टर जग्गामा बन्दरगाहा निर्माणको शिलान्यास गरिएको हो । प्रधानमन्त्री ओलीले यो बन्दरगाहा निर्माण भएपछि काठमाडौंका लागि उपभोग्य वश्तुको अभाव नहुने बताए । दक्षिणबाट आउने रेल र उत्तरबाट आउने रेलले ल्याउने सामानको भण्डारण कक्षको रुपमा यो बन्दरगाहा उपयोग हुने प्रधानमन्त्री ओलीले बताए ।
प्रधानमन्त्री ओलीले देश तिव्र विकाको गतिम अघि बढ्ने बताउँदै सरकारका एक वर्ष कानुन निर्माण र अन्य तयारीमा वितेको बताए । “संविधान थियो कानुन थिएन । त्यसले गर्दा एकबर्ष हामीले कानुन बनाउने काममा बितायौं । हामीले अब काम गर्ने वातावरण बनाएका छौं । अब देश तिव्र गतिमा अघि बढ्छ ”प्रधानमन्त्री ओलीले भने ।
बन्दरगाह निर्माणले स्थानीय बासीहरुका लागि रोजगारीका धेरै अवसर सृजना हुने प्रधानमन्त्री ओलीले बताए । “यहाँ बन्दरगाहा निर्माणले रोजगारीका धेरै अवसर सृजना गर्छ । यातायाले यस ठाउँलाई विभिन्न ठाउँसँग जोड्छ” प्रधानमन्त्री ओलीले भने “स्थानीयबासीका केही गुनासा र भनाइ भए सम्बन्धित निकायमा जानकारी गराउनुहोस । सरकारले सकारात्मक ढंगले लिनेछ ” प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले निर्माण कम्पनीलाई समयमै काम सक्न आग्रह गरे । “तोकिएको मितिमा काम सम्पन्न गर्नुहोस । गुणस्तरमा सम्झौता नगर्नुहोस” प्रधानमन्त्री ओलीले भने । बन्दरगाहा १ अर्व, ४८ करोड ३४ लाख रुपैंयाको लागतमा निर्माण सम्पन्न हुने भएको हो ।