कुनै पनि मानिसलाई तत्काल कुनै काम नगरी नहुने अवस्था सृजना भएकोमा त्यस बखत मञ्जुर लिन सक्ने अवस्था र संरक्षकको अनउपस्थितिमा निजको भलाईका लागि मञ्जुरी नलिएर पनि असल नियतले होसियारीका साथ त्यस्तो काम गर्दा क्षति वा हानी‚नोक्सानी हुन पुग्न गएछ भने त्यस्तो कामलाई कसूर मानिदैन । भलाई भन्नाले आर्थिक लाभ‚ज्यान लिने वा मनासिव कारण विना अंगभङ्ग गर्ने नियतले गरेको कामलाई जनाउने छैन । यसरी यस दफाले आकस्मिक उपचार र परिस्थितिमा कसैले कसैको भलाईका लागि कुनै काम गरेमा सो काम अपराध भित्र नपरी छुट दिएको पाइन्छ । प्राय जसो उपचार र उद्धारका लागि आकस्मिक कार्यहरुमा मञ्जुर लिने अवस्था नै रहदैन । कुनै ब्यक्तिको भलाईका लागि गरेको कामबाट क्षति पुग्न गएको खण्डमा त्यस्तो भलाईको लागि काम गरिदिने ब्यक्तिले उक्त क्षतिको दायित्व व्यहोर्न नपर्ने अवस्था सृजना गरेकोछ । कुनै वेवारिस मानिस दुर्घटनामा परी उपचारको लागि अस्पताल ल्याएकोमा तत्काल उसलाई अप्रेशन चिरफार गर्नु पर्ने अवस्था समेत पर्न सक्छ यस्तो अवस्थामा उसले बोलेर वा प्रत्यक्ष सहमति दिन सक्ने अवस्था रहदैन । कुनै ब्यक्ति बेहोस भै लडेको अवस्थामा उपचारको नाममा अस्पताल लगि किड्नी निकालिन्छ भने यो भलाईका लागि गरेको काम अन्तर्गत पर्दैन ।
आवस्यकताले कानून जान्दैन भन्ने कथन नेपाली कानूनमा रहेको हुँदा त्यस्ता परिस्थिति र अवस्थाहरुमा कानून मान्दा झन बढी खतरा हुन्छ । त्यस्ता कुराहरुलाई फौजदारी कानूनले समेटन खोजेको पाइन्छ । जोडिएको घरहरु वा बस्तीमा आगो लागेमा दमकल नभएको परिस्थितिमा बीचको घर भत्काएर बढी क्षति हुनबाट बचाउने एक मात्र उपाय हो । यस्तो अवस्थामा घर भत्काउन मञ्जुरी लिन थाल्ने हो भने झन बढी क्षति हुन पुग्दछ ।मिति २०७२।०१।१२ गते गएको भुकम्पका कारण कतिपय कारागार भत्किएर बन्दीहरु कारागार बाहिर गई ज्यान जोगाए । पछि सरकारले सूचना मार्फत सम्पर्कमा आउने भनी सूचना जारी गरेको थियो । यहाँ कैदीहरुले जेलको कानून भङ्ग गर्न नहुने यदि कोही कसैले यसो गर्छ भने उ सजायको भागी हुने कुरालाई लिने हो भने न्यायोचित हुदैन । यस्तो समय र परिस्थितिमा कैदीहरु कानून भङ्ग गरेर सुरक्षाको घेरा तोडी बाहिर निस्केर भाग्नु नै न्यायोचित हुने देखिन्छ । काभ्रेपलान्चोक जिल्लामा मानव अंग मृगौला विक्री बारे एक संस्थाले अध्ययन तथा अनुसन्धान गरेकोमा एकातिर आर्थिक विपन्न वर्गका मानिसहरुलाई मृगौला विक्रीबाट आर्थिक अवस्था सुध्रने‚एउटा मृगौलाले काम गरेको हुन्छ अर्को मृगौला त्यसै बसेको हुन्छ । अझ कसैलाई त मृगौला पलाउछ भनी भ्रम फैलाएको प्रतिवेदनमा पाइयो भने अर्कोतिर मानव अंग प्रत्यारोपण ऐन २०६४ मा आफ्ना नातेदारले मात्र मृगौलाको दान गर्न पाउने भएकाले नक्कली कागजात बनाई मृगौला विक्री वितरण भएको कुरा देखियो । आर्थिक हित वा स्वार्थको लागि मृगौला झिक्ने काम कदापी मञ्जुरी हुन सक्दैन । नत भलाईको लागि गरेको काम हुन्छ । गरिवीको कारण मृगौला बेच्नु पर्छ भन्ने आवस्यकता पनि होइन । बरु यस कामले मृत्यू बरण गराउने वा अङ्गभङ्ग गराउने नियत भएकाले भनी आरोप लगाउन सकिन्छ । यसरी परिघटनामा परेका व्यक्तिका बयान हेर्दा र यिनिहरुले दिएको मञ्जुरी हेर्दा अधिकांश व्यक्तिहरु बनावटी र छली कुरामा परी आफ्नो महत्वपूर्ण अंग मृगौला विक्री गर्न पुगेको हुँदा कानून विपरितको कार्य गरेको तथ्यले देखाएको पाइन्छ । बरु मृगौला दिने व्यक्तिले आफ्नो स्वास्थ्यकोख्याल गरी मृगौलाका रोगी आफन्तहरुलाई निशुल्क रुपमा एउटा मृगौला दान गरेमा मृगौला रोगीको भलाई हुने देखिन्छ । यस दफाले आर्थिक भलाई भन्दा पनि शारिरीक भलाई हुने कुरालाई संकेत गर्छ ।प्रतिवेदनले यो पनि सार्वजनिक गरेको देखियो कि मृगौला बिक्री गर्नेहरु पश्चतापमा परेका‚किन्ने ब्यक्तिले पुरा रकम नदिएका‚मृगौला निकाले पछि अस्पतालले आलो घाउमा हुँदै अस्पतालबाट निकालिदिएको‚मृगौला विक्री गरेको कारण गाउँ समाजमा अपहेलित भई मानसिक चिन्तामा परी बिरामी भै मृत्यू भएको कुरा उजागर गरेको देखिन्छ ।
ज्यान बचाउने नाममा कसैको ज्यान लिन नपाइने कुरा फौजदारी विधिशास्त्रमा रहेकोछ । वेलायतको एउटा मुद्दा हेर्दाएउटा पानी जहाज समुद्री आँधीमा परी हजारौ माइल समुन्द्रमा पुग्छ । जहाजमा ३ जना मान्छे भएका र ८ दिन देखि केही खान पाएका हुँदैनन् । २ जनाले अलि कमजोर ब्यक्तिलाई मारी खाने योजना बनाई मारी खान्छन् । ४ दिन पछि तिनिहरुको उद्दार हुन्छ । तिनीहरुलाई ज्यान मारेको वात लाग्छ । जुरीले यस्तो दुःखदायी अवस्थामा दायित्व वहन गराउन इन्कार गरेको पाइन्छ । तर ५ जनाको इजलासबाट दोषी ठहराइन्छ । अदालतको तर्क सायद २ जनाले अर्को मान्छेलाई मारेर नखाएका भए उनिहरुको ज्यान बाँच्न र उद्दार पनि हुने थिएन । तर ४ दिनमा के तिनिहरु भोककै कारण मर्थे ॽ कमजोर ब्यक्ति पहिला नै मर्न सक्थ्यो । जुन समयमा त्यस्तो काम गरे त्यस समयमा कुनै डुंगा उद्दारको लागि आउने सम्भावना पनि थिएन । तर त्यही कमजोर ब्यक्तिलाई नै मारी खानु पर्ने आवश्यकता नभएको कारण दोषी ठहर गरेको हो । यसबाट आवश्यकताले कसैको ज्यान लिन नपाइने पुष्टाइ गरेको छ । आवस्यकताले कानूनले अपराध मानेको कुनै पनि सानो काम गरेर ठुलो हानीबाट बचाउन अन्य कुनै वैधानिक उपाय नभएमा सानो हानी गरी ठूलो हानीबाट बचाएको पुष्टी भएमा सो कार्य गर्ने ब्यक्तिलाई आवस्यकताको प्रतिरक्षा प्राप्त हुन्छ । यो प्रतिरक्ष खास गरेर ज्यान सम्बन्धी अपराधमा प्राप्त हुदैन । यसमा सानो अपराध ठुलो हानीबाट बचाउनका लागि निर्विकल्प हुनुपर्छ । अपराध नगरीकन अन्य सम्भावित उपाय भए पनि यो सुविधा प्राप्त हुदैन । कसैले भलाई गर्ने सोचले शुरुमा उद्दार गर्छ पछि उद्दार गरेको मानिसलाई हमला गरी अझ ठुलो अपराध गरेको भन्ने पूर्ण बहादुर तिमिल्सिनाको मुद्दाबाट देखिन्छ । मोरङ बेलवारीमा रहेकी मिना विश्वकर्माले अत्याधिक मदिरा सेवन गरेकीले अर्ध चेतन अवस्थाममा प्रतिवादीलाई साइकल घरमा पु-याइदिन अनुरोध गर्छिन प्रतिवादीले साइकल र मिना विश्वकर्मालाई रिक्सामा राखी घर पु-याइदिनबाटोमा गइ रहेको अवस्थामा यौन सम्पर्क गर्ने कुरा गर्दै जादा मिना विश्वकर्माले समहमती दिन्छिन । बाटोमा रोकी रिक्साबाट समेत उत्रेपछि पनि यौन सम्पर्क गर्न स्विकार गरेकीले मिना विश्वकर्मालाई प्रतिवादीले बोकेर जंगलतिर लगि यौन सम्पर्क गर्न खोज्दा अचानक अस्विकार गरी दाईलाई भनिदिने भने पछि धम्की दिई डर त्रासमा पारी यौन सम्पर्क गरिसके पछि आफ्नो ज्यान जोखिममा पर्न सक्ने देखि तत्काल आवेगमा आइ मिना विश्वकर्मालाई मारिदिन्छ ।यो मुद्दामा शुरुमा प्रतिवादीले उद्दार गर्न खोजेको र रिक्सामा जादा जादै खसेर मृत्यू भएको भए निजले भलाईका लागि गरेको भन्ने आधारमा यस दफाले प्रतिरक्षा पाउने अवस्था सृजना हुने थियो भने यहाँ प्रतिवादीले रिक्सामा लादै गर्दा यौन सम्पर्कको प्रस्ताव राखी स्वीकार भै जंगलमा लगि यौन सम्पर्क गर्न खोज्दा पिडितले यौन दुर्व्यबहारको प्रतिकार गरेको देखिन्छ । यहाँ वादी प्रतिवादीको इच्छा बमोजिम काम गर्न सक्ने मानसिक अवस्थामा रहेकी छन् की छैनन् । यदि प्रतिवादीले सोचे बमोजिम करणी लिनुदिन भएको भए यस्तो परिस्थितिमा लिएको मञ्जुरी हो वा होइन भन्ने परिस्थिति सृजना हुने थियो तर महिला मरी सकेकोले यसतर्फ सोच्नु पर्ने अवस्था रहेन ।