पश्चिम म्याग्दीको धौलागिरी गाउँपालिकामा आयोजित प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि धनजनता माध्यमिक विद्यालय मुनाले जितेको छ ।
हेम मध्यमिक विद्यालय सिवाङमा सम्पन्न भएको अन्तर माध्यमिक छात्ररछात्रा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०७५ को उपाधि संगै धनजनता मावि मुनाले १० स्वर्ण ७ रजत र एक काश्य गरी १८ मेडल प्राप्त गरी प्रथम, हेम मावि सिवाङले १० स्वर्ण ४ रजत ४ काश्य गरी १८ मेडल प्राप्त गरी उपविजेता र चन्द्रज्योती मावि खिवाङले २ स्वर्ण ४ रजत ४ काश्य गरी १० मेडल प्राप्त गरी तेस्रो स्थान हाँसिल गरेको गाउँपालिका उपाध्यक्ष रेशम छन्त्यालले बताए ।
धनजनता माविले नगद ४५ हजार रुपैयाँ उपविजेता हेम मावि सिवाङले ३० हजार र तेस्रो भएको चन्द्रज्योती मावि खिबाङले २० हजार रुपियाँ नगद पुरस्कार प्राप्त गरेको छ ।
विजेता विद्यालय र खेलाडीहरुलाई गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले पुरस्कार वितरण गरेकी थिइन् । खेल क्षेत्रको विकासका लागि स्थानीय तहमा आयोजना गरिएको प्रतियोगिताले महत्वपूर्ण योगदान गर्ने उनले बताएकी थिइन् ।