राष्ट्रिय पूनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार म्याग्दीले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा झण्डै ११ करोड रुपैयाँ बजेट खर्च गरेको छ । चालु आर्थिक वर्ष २०७५÷७६ मा कार्यालयलाई विभिन्न शीर्षकमा प्राप्त कुल बजेट ३१ करोड ९३ लाख ३९ हजार रुपैयाँमध्ये आधा वर्षमा जम्मा १० करोड ८३ लाख २१ हजार सातसय ९७ रुपैयाँ खर्च गरेको हो ।
भूकम्पपछिको पूनर्निर्माण र पूनसर््थापना सम्बन्धमा आयोजित जिल्लास्तरीय समन्वय वैठक, अभिमुखीकरण तथा समीक्षा गोष्ठीमा जिल्ला आयोजना कार्यान्वयन इकाई प्रमुख शिवराम गेलालले प्राप्त बजेट र खर्चको बारेमा जानकारी गराएका थिए । उनका अनुसार पूँजीगततर्फ १३ करोड ५४ लाख ३० हजारमध्ये दुई करोड ५८ लाख ३१ हजार १९८ खर्च भएको छ भने विद्यालयतर्फ चालु वर्षमा सात करोड ४४ लाख ३० हजार प्राप्त भएको छ ।
यसैगरी स्थानीय पूर्वाधारतर्फ छ करोड रुपैयाँ प्राप्त भएकोमा दुई करोड ४९ लाख ३२ हजार सातसय ३६ रुपैयाँ खर्च भएको इकाई प्रमुख गेलालले बताए । उनले चालु खर्चतर्फ चार करोड ९४ लाख ७९ हजार रुपैयाँ रहेकोमा दुई करोड ७१ लाख ६९ हजार दुईसय ८७ रुपैयाँ खर्च भएको छ भने निजी आवासतर्फ तीन करोड पाँचलाख ९६ हजार रहेकोमा दुई करोड ३९ लाख ५० हजार रुपैयाँ खर्च भएको छ । त्यस्तै कार्यक्रम तथा प्रशासनिकतर्फ एक करोड ८८ लाख ८३ हजार रुपैयाँमध्ये ३२ लाख १९ हजार दुईसय ८७ रुपैयाँ खर्च भएको प्रमुख गेलालले जानकारी दिए ।
२०७२ सालको बैशाखमा आएको विनाशकारी भूकम्पको क्षति सर्भेक्षण गर्दा म्याग्दीमा १ हजार ३ सय ५० लाभग्राही रहेकोमा ८ सय ६८ लाभग्राही पहिचान भएका थिए । तीमध्ये ७ सय ८४ लाभग्राहीले सम्झौता गरेर प्रथम किस्ता लगेका थिए । कार्यालय प्रमुख गेलालले दिएको जानकारी अनुसार हालसम्म दोस्रो किस्ता २ सय ८७ लाभग्राहीलाई वितरण गरिएकोमा तेस्रो किस्ता जम्मा १ सय ६५ जनालाई वितरण गरिएको छ । प्रबलीकरण लाभग्राहीमा ७ जना लाभग्राही छन्भने यसमध्ये पहिलो किस्ता वितरण ६ जना रहेकोमा ४ सय २५ गुनासो दर्ता भएको गेलालको भनाइ छ ।
राष्ट्रिय पूनर्निर्माण प्राधिकरणका कृष्ण थापा, डाक्टर योगेन्द्र रिजाल, चन्द्रकान्त लौडारी, दिवतकुमार श्रेष्ठ र अक्षय पौडेलले सहजीकरण गरेको कार्यक्रममा म्याग्दीका स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरुले आ–आफ्नो स्थानीय तहमा भएको पूनर्निर्माणको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख देवेन्द्र केसी, बेनी नगरपालिका प्रमुख हरिकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी, नेकपाका नेता गोविन्द पौडेल, नेपाली कांग्रेसका उपसभापति माधवप्रसाद रेग्मी र पूनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य चन्द्रबहादुर श्रेष्ठले मन्तव्य राखेका थिए । कार्यक्रम जिल्ला समन्वय समितिका शाखा अधिकृत गोविन्द सुनारको सञ्चालनमा सम्पन्न भएको थियो ।