प्रताप बानियाँ
म्याग्दी, पुस २९ – कराँते प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरी स्वर्णपदक जित्न सफल खेलाडीलाई बेनीमा सम्मान गरिएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित जिल्ला खेलकुद विकास समिति म्याग्दीले आइतबार सम्मान गरेको हो ।
भारतको पश्चिम बङ्गालमा सम्पन्न अन्तर्राष्ट्रिय क्यु क्याकोसिन फुल कन्ट्याक्ट कराँते प्रतियोगितामा स्वर्णपदक विजेता म्याग्दीको रघुगंगा गाउँपालिका–२, राखुभगवतीका निर्मलबहादुर केसीलाई सम्मान गरिएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । जिल्ला समन्वय समिति प्रमुख देवेन्द्र केसी, प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी र खेलकुद विकास समिति अध्यक्ष कृष्णकुमार विश्वकर्माले खेलाडी केसीलाई अबिर तथा माला लगाई सम्मानपत्रद्वारा सम्मान गरेका थिए ।
खेलाडी केसीलाई सम्मान गर्दै जिसस प्रमुख केसीले स्वर्णपदक विजेता खेलाडीले सिङ्गो राष्ट्रको नाम राख्न सफल भएको बताएका छन् । उनले खेलकुद क्षेत्रको विकासमा राज्यले पर्याप्त लगानी गर्नुपर्ने बताउँदै खेल क्षेत्र र खेलाडी राष्ट्रको गौरव भएको बताए । कार्यक्रममा प्रजिअ अधिकारीले खेलकुद क्षेत्रको दीगो विकास र व्यावसायिक खेलाडी उत्पादनका लागि स्थानीय तहहरुले विशेष ध्यान पु¥याउनुपर्ने बताए ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विश्कर्माले स्थानीय सरकारले कुल बजेटको १ प्रतिशत बजेट खेलकुदको क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिँदै खेल क्षेत्रको विकासमा सबैले सहयोग पु¥याउनुपर्ने बताए । कार्यक्रम अध्यक्ष विश्वकर्माको अध्यक्षता र कराँते प्रशिक्षक विरेन्द्र श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो । भारतको पश्चिम बङ्गालमा हालै आयोजित साउथ एसियन च्याम्पियनसिप कराँते प्रतियोगितामा खुल्लातर्फबाट सहभागी भई केसीले च्याम्पियनसिपको उपाधि हात पारेका थिए ।