प्रताप बानियाँ
ज्येष्ठ नागरिकहरुलाई जाडोका लागि आवश्यक न्यानो कपडा सहयोग भएको छ । सौन्दर्यकला व्यवसायी संघ म्याग्दीले शनिबार बेनी नगरपालिका–९, गलेश्वरस्थित ज्येष्ठनागरिक आश्रममा रहेका ज्येष्ठनागरिकहरुलाई न्यानो कपडा सहयोग गरेको हो ।
‘उद्यमी बनौं, स्वरोजगारको सिर्जना गरौं’ भन्ने मूल नारासहित संघले परिवारबाट तिरस्कृत र बेसाहारा जीवन बिताइरहेका ज्येष्ठनागरिकलाई मफुलर तथा ओठमा लगाउने लिपगार्ड हस्तान्तरण गरिएको जनाएको छ । सौन्दर्यकला व्यवसायी संघका केन्द्रीय सदस्य राधाकुमारी मल्ल, जिल्ला अध्यक्ष प्रमिला जोशी श्रेष्ठ, संस्थापक अध्यक्ष संगिता श्रेष्ठ, गलेश्वर शिवालय क्षेत्र विकास कोषका सचिव माधवप्रसाद रेग्मी र गलेश्वरधाम ज्येष्ठनागरिक आश्रमका कार्यवाहक अध्यक्ष बमबहादुर पुनले न्यानो कपडा वितरण गरेका थिए ।
वृद्धवृद्धालाई कपडा वितरण गर्दै सौन्दर्यकला व्यवसायी संघका केन्द्रीय सदस्य राधा मल्लले वृद्धवृद्धाहरुलाई सबैले सहयोग गरेर जीवनयापन गराउनुपर्ने बताइन् । गलेश्वर शिवालय क्षेत्र विकास कोषका सचिव माधव रेग्मीले जिल्लास्थित विभिन्न संघसंस्थाको सहयोगमा वृद्धाश्रम सञ्चालनमा सहज भएको बताएका थिए ।
कार्यक्रममा ज्येष्ठनागरिक आश्रमका कार्यवाहक अध्यक्ष बमबहादुर पुन, सचिव खगराज पोख्रेल, पत्रकार महासंघ म्याग्दीका संस्थापक अध्यक्ष घनश्याम खड्का र लायन्स क्लब अफ बेनी–महारानीका अध्यक्ष हिरादेवी उपाध्यायले मन्तव्य राखेका थिए । कार्यक्रम सौन्दर्यकला व्यवसायी संघका अध्यक्ष प्रमिला श्रेष्ठको अध्यक्षता, संस्थापक अध्यक्ष संगिता श्रेष्ठको स्वागत र उपाध्यक्ष गंगा थापा कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।
यसैबीच सोही अवसरमा लायन्स क्लब अफ बेनी–महारानीले पनि वृद्धवृद्धाहरुलाई पन्जा र मोजा उपलब्ध गराएको छ । क्लबका जोन चियरपर्सन प्रमिला जोशी श्रेष्ठ, अध्यक्ष हिरादेवी उपाध्याय, मेम्बरसिप डाइरेक्टर संगिता श्रेष्ठ, गलेश्वर शिवालय क्षेत्र विकास कोषका सचिव माधवप्रसाद रेग्मी, कोषाध्यक्ष बमबहादुर पुनले वृद्धवृद्धालाई पन्जा र मोजा हस्तान्तरण गर्नुका साथै लगाइदिएका थिए ।
कार्यक्रम क्लब अध्यक्ष उपाध्यायको अध्यक्षता, जोन चियरपर्सन जोशीको प्रमुख आतिथ्य, मेम्बरसिप डाइरेक्टर श्रेष्ठको स्वागत र सचिव भीमकुमारी सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो । त्यस्तै पशुपति अन्नपूर्ण आश्रम काठमाडौंका जगदीप वैद्यले ज्येष्ठनागरिक र संस्कृत वेदविद्याश्रमका विद्यार्थीहरुलाई उपलब्ध गराएको ८० थान ज्याकेट पनि वितरण गरिएको थियो ।