म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका–३, घुमाउने तालमा स्थीत पालेको एक दर्जन बाख्रा मरेका छन् । चरन क्षेत्रबाट गोठमा फर्किएका बाख्रा गोठमै मरेको अवस्थामा भेटिएका थिए । व्यवसायिक रुपमा बाखापालन गरिरहेका स्थानीय कृषक अनिल शाहीका अनुसार चरन क्षेत्रबाट ल्याएपछि घाँस नखाने, झोक्रिने जस्ता लक्षण देखिएको बताएका थिए । विषालु घाँस खाएर त्यत्तीका बाख्रा मरेको हुन सक्ने अनिलले आसंका गरेका छन् ।
गोठभित्र धमाधम बाख्रा मर्न थालेपछि कृषक शाहीले भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीलाई जानकारी गराएका थिए । डिभिजन प्रमुख पशु चिकित्सक जीवनप्रसाद आचार्यको नेतृत्वमा गएको टोलीले बिषालु घाँस, झार खाएर मरेको जनाएको छ । केन्द्रका पशु प्राविधिक सुवास रेग्मीले दिएको जानकारी अनुसार चरन क्षेत्रमा पाइने विषाक्त घाँसकै कारण बाख्रा मरेको बताए ।
‘अज्ञान रोगको महामारी होइन्, ‘चरन क्षेत्रमा भेटिने विषालु घाँसको पहिचान नहुँदा बाख्रा मरे’ रेग्मीले भने । उनका अनुसार मरेका सबै बाख्रामा एकै किसिमको समस्या देखिएको बताए । ११ वटा बाख्रा मरेको र ५ वटाको उपचार भैरहेको उनले जानकारी दिए । बाख्राको उपचार तथा समस्याको पहिचान गर्न प्रमुख आचार्य, प्राविधिक रेग्मीसहित नायव पशु प्राविधिक गणेशप्रसाद रिजाल, दिपा पौडेल र वडा कार्यालयका प्राविधिक सुजन विक पुगेका थिए ।
यसैबीच चरन क्षेत्रमा रहेका विषालु घाँसको पहिचान गर्न समेत टोलीले अनुरोध गरेको छ । चरन क्षेत्रमा लैजानुपूर्व गाउँघरमा पाइने विषालु घाँस भए वा नभएको हेरेर मात्रै पशु चौपायालाई चरनका लागि प्रयोग गर्नुपर्नेमा जोड दिएको छ । कृषकको करिब ३ लाखको हाराहारीमा नोक्सानी भएको अनुमान गरिएको छ ।