जिल्लाको पश्चिम क्षेत्रमा अवस्थित मंगला गाउँपालिकाको चौथो गाउँसभामा चालु र पुँजीगत बजेट बाँडफाँड गरिएको छ । बुधबार गाउँपालिकामा सम्पन्न भएको गाउँसभामा प्राप्त बजेटलाई पूर्णरुपमा कार्यान्वयन तथा लक्षित समुदायमा पुग्ने गरी विनियोजित बजेटलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको थियो ।
कुल १४ करोड ८८ लाख ४८ हजार ४५२ बजेटलाई पूँजीगततर्फ नौ करोड ९० लाख ३३ हजार र चालुतर्फ चार करोड ९८ लाख १५ हजार ४५२ विनियोजित गरिएको गाउँपालिकाका सूचना अधिकारी राजेन्द्र आचार्यले बताए । उनका अनुसार बिगतमा बजेट कार्यान्वयमा देखिएको चुनौती तथा आवश्यकताका आधारमा बजेट विनियोजन गरिएको बताए । कृषि शाखातर्फ २५ लाख र भेटेनरी २३ लाख ४५ लाखको बजेट समेत स्वीकृत गरिएको थियो ।
गाउँसभाको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष शतप्रसाद रोकाले गाउँपालिकालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन कृषि, पर्यटनको क्षेत्रलाई प्राथमिकता दिनेगरी तयार गरिएको योजनालाई कार्यान्वयनमा जोड दिएका थिए । ‘समृद्ध गाउँपालिका बनाउन लक्ष्य अनुसारका गतिविधिलाई प्राथमिकता दिनुपर्छ, ‘योजना कार्यान्वयनलाई प्रभावकारी बनाउनुपर्छ’ रोकाले भने । उनले बजेट संशोधनसँगै हरेक वडामा विनियोजित बजेटको अनुगमनलाई तीव्रता दिइने बताउँदै विकास निर्माणसँगै गाउँपालिकाले सुरु गरेका दीर्घकालीन योजना पुरा भएमा समृद्ध मंगला बनाउन सकिने बताए ।
अर्गानिक मल उद्योगसहित कृषिका क्षेत्रमा गरिएको प्रयासको सिको गर्न अन्य जिल्लाबाट आउन थालेको बताउँदै कृषिमा पकेट क्षेत्र बनाउने प्रयासले आगामी बजेटमा समेत प्राथमिकता पाउने अध्यक्ष रोकाले बताए । गाउँसभाले सडकको मापदण्ड समेत तोकेको छ । तोकिएको मापदण्ड अनुसार सडक आसपासमा संरचना बनाउन समेत निर्देशन दिइएको छ । सभाको अध्यक्षता रोका, स्वागत प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतम र सञ्चालन सूचना अधिकारी राजेन्द्र आचार्यले गरेका थिए ।
गाउँकार्यपालिका सदस्यको उपस्थिति रहेको सभामा बजेट कार्यान्वयनको अवस्थाका साथै वडास्तरमा भैरहेका गतिविधिका बारेमा छलफल भएको उपाध्यक्ष सृजना केसीले बताइन् । गाउँपालिकाले कृषि, पर्यटन, पशुपालन, सिपमूलक तालिम, युवामैत्री बजेटलाई प्राथमिकता दिएको छ ।
Previous Articleहिस्टुन म्याग्दीको अध्यक्षमा थापा
Next Article म्याग्दीमा यसवर्ष धान उत्पादनमा वृद्धि