तेस्रो ग्लोबल नेपाली फिल्म अवार्ड २०१८ सम्पन्न भएको छ । अमेरिकाको कोलोराडोस्थित डेनबर सहरमा सम्पन्न अवार्ड समारोहमा यसपटक सर्वोत्कृष्ट अभिनेताको अवार्ड फिल्म भुइँमान्छेबाट रमेश बुढाथोकीले प्राप्त गरेका छन् ।
यस्तै स्टार अफ दी इयरको अवार्ड अभिनेता प्रदीप खड्काले हासिल गरेका छन् । उनको २०७४ मा प्रेम गीत २ र लिलीबिली गरी दुई फिल्म सफल भएका थिए ।
अवार्ड समारोहमा सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड चलचित्र पञ्चायतबाट नीता ढुंगानाले चुमिन् । सर्वोत्कृष्ट फिल्मको अवार्ड २०७४ को व्यावसायिक फिल्म छक्का पञ्जा–२ ले पाएको छ । यही चलचित्रकी निर्देशक दीपा श्री निरौलाले सर्वोत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गरिन् । चलचित्र छक्का पञ्जा २ बाट सहअभिनेताको अवार्ड पनि जितु नेपालले, सर्वोत्कृष्ट हास्य अभिनेताको अवार्ड केदार घिमिरे (माग्नेबूढा) र सर्वोत्कृष्ट छायाँकारको अवार्ड पुरुषोत्तम प्रधानले प्राप्त गरे ।
कलाकार एवम् प्राविधिकबीच विभिन्न १२ विधामा ग्लोबल नेपाली फिल्म अवार्ड प्रतिस्पर्धा भएको थियो । जसअन्तर्गत सर्वोत्कृष्ट सहअभिनेत्रीको अवार्ड चलचित्र कृबाट रूपा रानाले जितिन्। संगीततर्फको अवार्ड चलचित्र ऐश्वर्यको तिमी रोएको पलले प्राप्त गर्यो ।