म्याग्दी कला संगीतका लागि निकै धनी जिल्ला हो र यहाँ थुप्रै यस्ता कलाकारहरु जन्मिए, उनीहरुको उचाइ निकै माथि पुग्यो । म्याग्दी जिल्लामा जन्म लिएर गीत संगीतको क्षेत्रमा लागेका धेरै त्यस्ता व्यक्तित्वहरु जसको चर्चा सधंै चलिरह्यो । लोक गीतको क्षेत्रमा पुराना नामले चर्चा जति कमाए त्यस भन्दा माथि पनि नयाँ पुस्ता पुग्यो होला तर पुरानाको तुलना भनेको माथि नै छ । तर अहिले पछिल्लो समयमा निकै कलाकारहरु आएका छन् बजारमा । पहिला क्यासेट प्लेयरमा क्यासेट हालेर बजाइने गीत अहिले सानो चिप्समा राखेर मोबाइल तथा टिभीमा पनि हेर्न सकिन्छ भने विश्वको जुन सुकै कुनामा पनि क्षणभरमै हेर्न मिल्छ । अहिले गीत संगीत औंलाको टुप्पोमा छ भन्दा फरक नपर्ला । औंलाको एक क्लिकबाट मोबाइल अथवा ल्यापटप, ट्याबलेट लगायतका आधुनिक प्रविधिबाट हामी हेर्न सक्छौं । यस्तै सिलसिलामा प्रस्तुत छ पछिल्लो समय झण्डै एक दर्जन गीतको म्युजिक भिडियो सहित बजारमा चर्चा बटुलिरहेका कलाकार ध्रुव जि.सी.सँग गरिएको कुराकानी ।
बाल्यकाल :
अहिले लोकदोहोरी गीतको क्षेत्रमा निकै ध्यान दिएका कलाकार ध्रुव जि.सी.को जन्म २०३७ साल वैशाख ३० गते भएको थियो । आमा चेतकुमारी र बाबा लालबहादुर जिसीको कोखबाट तेस्रो सन्तानको रुपमा जन्मिएका ध्रुवको वाल्यकाल ग्रामीण भेकमै बित्यो । कक्षा पाँचसम्म त्रिभुवन प्राथमिक विद्यालय ¥यालेखोरमा पढेका थिए भने कक्षा ६ र ७ बालोदय निम्न माध्यमिक विद्यालय भर्जुलामा र माध्यमिक तहको अध्ययन भने ध्रुवले मंगला माध्यमिक विद्यालय बाबियाचौरबाट पूरा गरेका थिए । बाल्यकालमा गीत संगीत तर्फ आफ्ना बाबा लालबहादुरको चाहनाले गर्दा लागेका थिए । बाबाको चाहना रेडियोमा ध्रुवको गीत सुन्ने थियो तर त्यो बाबा जिवित हुँदै सम्भव भएन ।
जागिरे जीवन :
विद्यालय स्तरको पढाइ सकिएसँगै उनले सन् १९९६ जनावरीमा भारतीय सेनामा भर्ती भएका थिए । उनी सेकेण्ड ज्याक राइफल्समा भर्ती भएका थिए । उक्त फौजमा भारतीय नागरिक मात्र भर्ना हुने भए पनि जिसीले ज्याक राइफल्समा मौका पाएका थिए । उक्त फौजमा सिक्कीम तथा दार्जलिङ क्षेत्रका नेपाली भाषी मात्र रहन्थे । जब जिसीले फौजको आन्तरिक कार्यक्रममा “बेनीको बजार जता माया उतै छ नजर…” बोलको गीत गाए । त्यस पछि उनको पनि त्यो फौजमा चर्चा अनि माग हुन थाल्यो । पानको पात तथा अन्य नेपाली गीतलाई उक्त फौजमा स्थापित गर्न ध्रुव सफल भए र उनको गीत संगीतप्रतिको रुचि पनि बढ्दै गयो । अहिलेसम्म पनि उक्त सेनाको ब्याण्डमा नेपाली गीतहरु गाइन्छ, त्यो भनेको ध्रुवकै देन हो भन्दा फरक पर्दैन ।
जागिरकै सिलसिलामा पनि छुट्टीमा नेपाल आएको समयमा पनि लोकदोहोरी प्रतियोगितामा पनि सामेल हुन्थे भने पुरस्कार पनि जित्ने गर्दथे । जागिरकै सिलसिलामा नेपाल आएर पनि गीत संगीतमा लाग्ने गरेका थिए जि.सी. ।
आदर्श व्यक्तित्व :
कुनै पनि क्षेत्रमा कसैले पनि काम गर्दछन् भने त्यसमा कसै न कसैलाई आदर्श मान्ने गर्दछन् । त्यसै मध्ये जि.सी.का लागि आफ्ना बाबु लालबहादुर पहिलो आदर्श हुन् भने परिवारको सहयोग र सद्भाव पनि निकै अपरिहार्य छ । लोक गायक खड्ग गर्बुजा पनि जि.सी.का आइडल हुन् । बेलायती सेनाका लागि चयन भएका खड्ग दुर्घटनामा परेर सेनाको सपना मनमा राखेर गीत संगीतको क्षेत्रमा लागेको सम्झन्छन् ध्रुव । त्यस्तै आदर्श व्यक्तित्वका कारण नै गीत संगीतको क्षेत्रमा आफू लागेको ध्रुवको भनाइ छ । जब कोही पनि व्यक्तिले गीत संगीतको भाषा बुझ्दैन, त्यो त सम्भव छैन तर पनि गीतले मनको कुनाकुनामा स्थान बनाउने र सब पीडा भुलाउने भएकाले पनि यस क्षेत्र सबैका लागि एउटा गतिलो औषधि भएको जि.सी.को ठम्याई छ ।
गीत संगीतको अवस्था :
पहिलो पटक बेनीकी निशा के.सी. सँगको सहकार्यमा अमित विश्वकर्माको संगीत रहेको “लोभै लाउने जिउ…” बोलको गीत बजारमा ल्याएर सुरु भएको थियो ध्रुव जि.सी.को गीत संगीतको यात्रा । त्यसपछि उनले थुप्रै गीतमा स्वर दिए अहिलेसम्म उनले “सनाइ रोलाकी”, “तिमीसँग बसेको दिल”, “सुनसान बनैमा”, “विहानी पख”, “भेट हुँदा जहिले नि ठिक्क”, “झर्छ आँसु झर्न देउ सानु”, “ जेभनेनी सहने बानी पर्या छ““औंठी औंला”मा जस्ता गीत निकालेका जि.सी.को पछिल्लो गीत “माया माया”को म्युजिक भिडियो पनि हालै सार्वजनिक भएको छ । नकुल ढकालको शब्द÷संगीत रहेको माया माया बोलको गीत भूपेन बानियाँको निर्देशन रहेको छ भने देवी घर्तीको स्वर रहेको छ । म्युजिक भिडियोमा तीलु शर्मा, सुनिल बानियाँ, सिमान्त बानियाँलगायतका कलाकारको अभिनय रहेका छ । सबै म्याग्दी जिल्ला भित्रका कलाकारहरुको अभिनय रहेको उक्त म्युजिक भिडियो म्याग्दीबाटै सञ्चिालित क्रियटिभ मिडिया प्रोडक्सनको युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।
पुरस्कार तथा सम्मान :
धेरै पुरस्कार तथा सम्मान पाइएको भए पनि ठ्याक्कै सम्झनु पर्दा पहिलो पटक नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय युवा परिषद् अन्तर्गतको जिल्ला युवा समिति म्याग्दीबाट २०७३ मा उत्कृष्ट युवा कलाकारको रुपमा नगद सहित सम्मान पाएका थिए । त्यस्तै म्युजिक खबर म्युजिक अवार्ड २०७४, उत्कृष्ट नवप्रतिभाको अवार्ड र अन्य थुप्रै सम्मान तथा पुरस्कार हात लागेको छ जि.सी.लाई । खासमा सम्मान तथा पुरस्कार पाउनका लागि भन्दा पनि गीत संगीतको जगेर्नाका लागि गीत संगीतलाई अगाडि बढाउँदै आएको जि.सी. को कथन छ ।
किन स्थानीय कलाकार मात्रै त भिडियोमा ?
हाम्रो क्षेत्रमा पनि निकै क्षमतावान कलाकारहरु रहेका छन् भन्ने कुरा त अहिले बनेको भिडियोबाटै पनि थाहा हुन्छ । खासमा अझै भन्नु पर्दा झण्डै एक वर्ष अगाडि अडियो तयार भएको भए पनि कलाकार तिलु शर्माको समय नमिलेका कारणले गर्दा नै अलिकति ढिलो भएको हो । सुनिल बानियाँ, तिलु शर्मा तथा सिमान्त बानियाँजस्ता सक्षम कलाकार म्याग्दीमै भएको अवस्थामा बाहिरबाट कलाकार ल्याएर म्युजिक भिडियो भनाउनु त्यत्ति राम्रो नहुने जस्तो लागेका कारणले नै स्थानीयलाई प्रोत्साहन दिएको जि.सी. सुनाउँछन् । अहिलेको भिडियोमा लिड रोलमा रहेका कलाकार तीलु शर्माको समय मिलाउनका लागि अलिकति ढिलो भएको हो । पहिला पनि ध्रुवकै अगुवाइमा धौलागिरी लोकतारा सम्पन्न गरिएको थियो । पहिलो धौलागिरी लोकतारा शक्ति छिनाल भएका थिए । त्यस्तै राजकुमार परियार, रविना भण्डारीलगायतका कलाकारलाई पनि ध्रुवले नै कास्ट गरेका थिए ।
के छन् त योजना :
अहिलेसम्म १२ भन्दा बढी गीतको म्युजिक भिडियो तयार भइसकेको छ । अझै आधा दर्जन जति गीतहरु बजार आउने तयारीमा रहेका छन् । स्थानीय स्तरका क्षमतावान् कलाकारहरुलाई स्थापित गर्ने जि.सी.को योजना छ । स्थानीय स्तरमा पनि कला भएका तथा त्यसलाई प्रष्फुटन गर्न नसकेका युवा कलाकारलाई प्राथमिकता दिने जि.सी.को योजना छ । स्थानीय ठेट शब्द अनि ठेट चालचलनलाई गीत संगीतको माध्यमबाट सबैको माझमा ल्याउने योजनालाई सफल पार्नु नै जि.सी.को योजना हो । नन्दु गर्बुजा, रोजिना गर्बुजा, हसिना शर्मा, सन्तोष नेपाली, जितु गुरुङ, दिलिसा पुन, बिनु कार्की जस्ता कलाकारलाई पर्दामा ल्याउने काम गरेको हुँ ।
सम्झनै पर्ने नामहरु :
मिडियाको क्षेत्रमा रुप्से ग्रुपका अमृत बास्कुने, आदरणीय दाजु बेद जि.सी., मेरो गीत संगीतमा साथ दिने सम्पूर्ण कलाकार मित्रहरु, सुरेन्द्र खड्का तथा मेरा गीत संगीतलाई माया गरेर हौसला बढाउनुहुने सम्पूर्ण दर्शक श्रोता अनि सदा मेरो राम्रोका लागि सुझाव सल्लाह दिने मेरी धर्मपत्नी मिना जि.सी.लाई सम्झनै पर्ने हुन्छ । प्रकाश पौडेल, कस्तुप पन्त, इन्द्र जि.सी.लगायत मेरो परिवार जसले सधंै सहयोग र साथ दिए, उनीहरुप्रति आभारी छु ।