म्याग्दी जिल्लाको बेनी नगरपालिका–२ बगरफाँटका स्थानिय वासिन्दाले गाउँ टोल सफा राख्नका लागि फोहोर संकलन गर्ने डस्बीन आवश्यक भएको बताएका छन् । सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सोमबार बगरफाँटमा आयोजित नागरिक सुनुवाई कार्यक्रममा उक्त कुरा बताइएको हो ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीको आयोजनामा आयोजित कार्यक्रम स्थानिय नागरिकहरुले आ–आफ्ना समस्याहरु राखेका थिए । बेनी बजारको आसपासका सुकुम्बासी समुदायले आफुहरुलाई जग्गाधनी पुर्जाका लागि पहलकदमी माग गरेका थिए । त्यस्तै बगफाँटका स्थानिय वासिन्दाले सडकबत्तीको व्यवस्था, सडकमा डस्बीन राखिनु पर्नेलगायतका माग राखेका थिए । म्याग्दी नदिको कटान नियन्त्रणका लागि पहलकदमी तथा नदीमा करेण्ट लगाएर माछा मार्ने काम भएकाले त्यसलाई रोक्नु पर्ने माग पनि राखेका थिए ।
सामुदायिक प्रहरी सेवाकेन्द्रकी अध्यक्ष विष्णु गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, बेनपा–२ का वडा अध्यक्ष हिराबहादुर थापा, डिएसपी बिरबहादुर बुढामगरले सर्वसाधारणको प्रश्नको जवाफ दिएका थिए । कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यले मन्तव्य राखेका थिए । उक्त कार्यक्रममा डिएसपी बुढामगरले प्रहरीले पछिल्लो तीन महिनामा गरेका कामकारवाहीको बारेमा जानकारी गराएका थिए ।

