कृष्ण कँडेल
बागलुङ, ९ कात्तिक – बुर्तिबाङलाई केन्द्र मानेर बन्ने स्थानिय निकायलाई नगरपालिका बनाउने विषयमा स्थानिय राजनैतिक दलले फेरी अर्को निर्णय गरेका छन् । बुर्तिबाङ नगरविकास समितिको आयोजनामा सोमबार भएको सर्वदलिय बैठकमा बुर्तिबाङ गाविस समेत पर्ने ईलाका नम्बर–१० का ४ ओटा, १२ मा पर्ने ४ ओटा र ईलाका नम्बर–१३ मा पर्ने ३ ओटा गाविसलाई समेटेर नगरपालिका बनाउने निर्णय गरेका हुन् । स्थानिय निकाय गठन सम्बन्धि एउटै विषयमा दलहरुको एकहप्ता भित्रै दुई फरक–फरक निर्णय आएको हो । यसअघि कात्तिक २ गते ईलाका नम्बर–१० का ४ ओटा गाविसको मात्रै नगरपालिका बनाउने निर्णय गरेका थिए । त्यो बैठकमा सबै गाविसलाई एकमत बनाउन नसकिने भन्दै ११ गाविसलाई नै नगरपालिका बनाउने विषयलाई दोस्रो विकल्पमा राखिएको थियो । पहिलेदेखि नै बुर्तिबाङलाई नगरपालिका बनाउनु पर्ने माग राख्दै आएका दलहरुले जिल्ला प्रविधिक समितिले गाउँपालिका नै बनाउने सिफारिस गरेपछि त्यसलाई नमान्ने भन्दै डेलिगेशन समिति गठन गरेका थिए । ईलाका नम्बर–१० को मात्र नगरपालिका बनाउँदा साधनस्रोत सम्पन्न बलियो नगरपालिका नबन्ने र २०६८ को जनगणना अनुसार जनसंख्याको मापदण्ड नपुग्ने भन्दै उनीहरुले ३ ओटा ईलाकामा पर्ने निसी, भुजि र तमान खोलाका ११ गाविसको नगरपालिका बनाउने निर्णय गरेका हुन् । विगतदेखि नै पछि परेको बागलुङको निर्वाचन क्षेत्र नम्बर–३ मा जसरीपनि नगरपालिका बनाउनुपर्ने दाबी गर्दै नगरविकास समितिा अध्यक्ष अर्जुन सेरचनले भने, “नगरपालिका बनाउने हाम्रो मागप्रति राजनैतिक दलको जिल्ला नेतृत्व र सरकारी निकायले कहिल्यै वास्ता गरेनन्, त्यसैले नगरपालिकाको लागि सवै एक भएर लाग्नुपर्ने भएकाले यस्तो निर्णय गर्नुपरेको हो ।” ईलाका नम्बर–१० मा बुर्तिबाङ सहित भुजिखोलाका राजकुत, अधिकारीचौर र बोबाङ गाविस पर्दछन् । तमानखोलाका तमान, खुङ्गा, बोङ्गादोभान र खुङ्खानी गाविस १२ नम्बर ईलाका अन्तरगत पर्छन् । निसीखोलाका देविस्थान, बोहरागाउँ र निसी चाहिँ १३ नम्बर ईलाकामा पर्छन् । यसअघि जिल्ला प्राविधिक समितिले बुर्तिबाङसहित तमान र भुजीका सात गाविसलाई समेटेर बुर्तिबाङ केन्द्र हुने गरि ढोरपाटन गाउँपालिका प्रस्ताव गरेको थियो । यसरी बन्ने नगरपालिकामा बुतिबाङ आफै पहलकर्ता भएको र अधिकारीचौर तथा बोबाङ जिल्ला प्रविधिक समितिको प्रतिवेदनमा पनि ढोरपाटन नगरपालिकामा परेकाले तिनओटा गाविसको मत मिल्ने उनीहरुको निष्कर्ष छ । यो निर्णयमा देविस्थान, खुङ्गा र राजकुत गाविसले पनि साथ दिने दलहरुले दाबी गरेका छन् । सांसद ज्ञानकुमारी छन्त्यालको उपस्थितिमा भएको बैठकमा निर्वाचन क्षेत्र नम्बर–३ मा क्रियाशिल राजनैतिक दलका क्षेत्रिय स्तरका अधिकांश स्थायि रुपमा बुर्तिबामै बस्ने नेता सहभागी थिए । देबिस्थान गाविसबाट पनि दलका प्रतिनिधिको सहभागीता थियो । राष्ट्रिय जनमोर्चा देविस्थानका मुक्तसिंह ठकुरीले भने, “निसिखोला गाउँ पालिकाको केन्द्र देविस्थान नपरेको अवस्थामा हामी बुर्तिबाङ केन्द्र हुने गरि बन्ने नगरपालिकामा जान तयार छौँ ।” देविस्थानका गाविस सचिवसहित काँग्रेस र राजमो देविस्थानका नेताको सोमबारै बुर्तिबाङमा भएको बैठकले आफुहरु नगरपालिकामा जाने निर्णय गरेको काँग्रेस देविस्थानका सभापति ईन्द्र मल्लले बताए । बैठकमा सांसद ज्ञानकुमारी छन्त्यालले जुनसुकै मुल्य चुकाएर भएपनि बुतिबाङ केन्द्र हुने स्थानिय निकायलाई नगरपालिका नै बनाउनुपर्ने भन्दै त्यसमा एकमत हुन नेताहरुलाई आग्रह गरिन् । नेकपा माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य चन्द्र अर्यालले भने, “स्थानिय हितका लागि अगुवाले चुनौती मोल्न समेत तयार हुनुपर्छ, आबश्यक परे सवैदलले आफ्नो पार्टिका ११ ओटै गाविसका नेता कार्याकर्तालाई सम्झाउन सक्नुपर्छ ।” काँग्रेस नेता समेत रहेका नगरविकास समितिका अध्यक्ष अर्जुन सेरचनले अर्यालको धारणामा सहमति जनाए, “हाम्रो पार्टिको गाउँ कमिटिले नगरपालिका बन्नेभए एकमतले देविस्थानलाई बुर्तिबामा राख्ने निर्णय गरेको छ, अरु पार्टिले पनि यस्तो निर्णय बनाएर आउनुस्, नगरपालिक बनाएरै छाड्नुपर्छ ।” बैठकमा नेकपा एमालेका क्षेत्रीय संयोजक ज्ञानप्रसाद कँडेलले नगरपालिका बनाउने र ११ ओटा गाविसलाई समेट्न सकिने विषयमा सहमत भएपनि अरु गाविसको बारेमा बुर्तिबाङले निर्णय गर्दा पछि समस्या आउनसक्ने धारणा राखे ।
नगरपालिकाको लागि दबाव दिन कार्तिक १८ गते डेलिकेशन जाने निर्णय गर्दै कात्तिक २ गतेको बैठकबाट सांसद ज्ञानकुमारी छन्त्याल संयोजक रहने गरि गठन गरिएको सर्वदलिय डेलिगेशन समितिमा सदस्य थपिएको छ । यसअघि बुर्तिबाङमा क्रियाशिल ७ ओटा राजनैतिक पार्टिका प्रतिनिधि, उद्योग बाँणिज्य संघ बुर्तिबाङ ईकाई र बुर्तिबाङ नगरविकास समिति सदस्य रहेकोमा देविस्थानबाट ईन्द्र मल्ल, मुक्तसिंह ठकुरी र कुविर विश्वकर्मालाई सदस्य राखिएको छ । खुङ्गाबाट तिलक पुन र दिर्घलाल गैरेलाई राखिएको छ । डेशिगेशन समितिमा अवश्यकता अनुसर अन्य सदस्य पनि थप गर्न सकिने निर्णय बैठकले गरेको छ ।
बजेट ८ करोड २४ लाख
पुष्पलाल मध्यपहाडीलोकमार्गमा पर्ने १० ओटा नमुना शहर मध्यको एक बुर्तिबाङ नयाँ शहर आयोजनाका लागि चालु आर्थिक बर्षमा ८ करोड २४ लाख बजेट स्विकृत भएको बुर्तिबाङ नगरविकास समितिका अध्यक्ष सेरचनले बैठकमा जानकारी दिए ।
उनका अनुसार, ८० लाख निसीभुजि जनता क्याम्पस देखि अस्पतालसम्म सडक र ढल निर्माण तथा स्तर उन्नति गर्न, ७० लाख बुर्तिबाङ पुरानो बजार मन्दिर देखि मिलनचोक हुँदै उपल्लो बजारसम्म सडक स्तरउन्नति गर्न, ६५ लाख मध्यपहाडी लोकमार्ग हुँदै खप्तरीवाङ निसीभुजी जनता क्याम्पससम्मको स्ष्क स्तरउन्नति गर्न, ६५ लाख सोरवोटदेखि भव्रेटासम्मको सडक स्तरउन्नति गर्न, ५० लाख बरपिपलदेखि तल्लो नयाँ बस्तिसम्मको ढल निकासका लागि, ५ लाख नयाँ शहरमा रहेका सरकारी जग्गा छुट्याई संरक्षर्ण गर्न, १ करोड नयाँ शहरी योजनाको भवन निर्माण गर्न, १९ लाख जग्गा विकासको ब्लव प्लान स्विकृतपछि सिमांकन गरि बाटो खोल्न, १ करोड उपल्लो बजारदेखि बसपार्क सम्मको शाखा सडक स्तरोन्नति गर्न, ६० लाख वरपिपलदेखि भव्रेटासम्मको सिडि निर्माण गर्न, ५० लाख वतासेखोला डाँडा देखि भव्रेटासम्मको सडक स्तरउन्नति गर्न, ६५ लाख बुर्तिबाङ देखि रिनामसम्मको सडक स्तरोन्नती गर्न, ६५ लाख लागतमा बुर्तिबाङ दुले हुँदै बोंगादोभान सडक स्तरउन्नति गर्न, र ३० लाख बजेट एकीकृत विकास योजनाबाट सम्भाव्य देखिएका शहरी पुर्वाधार निर्माण गर्नेछ ।