- – नकुल ढकाल
गीत संगीत र कला कसलाई मन पर्दैन । बोलेर अनि लेखेर जति शब्द पुग्दैनन्, त्यो भन्दा धेरै संगीतले शब्द दिएको हुन्छ र त्यही संगीतमा शब्द भरेपछि बन्छ सुन्दर गीत अनि त्यसैमा मोहित हुन्छ मानिस । विश्वमा बोलिने झण्डै ३ हजार भन्दा धेरै भाषाहरु भए पनि संगीतको एउटै भाषा हुन्छ । सबै तीन हजार भन्दा बढी भाषा हामीले बुझ्दैनौं तर संगीतको भाषा भने ती सबै भाषा बोल्नेले बुझ्दछन् । अनि त भनिन्छ नि संगीतको भाषामा सबै डुब्छन् र त्यसबाट बाहिरिन सक्दैनन् । यस्तै गीत संगीतको भाषामा मोहित हुने व्यक्तिको बारेमा तपाइँलाई हामीले जानकारी गराउने जमर्को यहाँ गरेका छौं । - नकुल ढकालको उखान युद्धको म्युजिक भिडियो
- बाग्लुङ जिल्लाको बलेवा पैयुँपाटा – २ बढहरेमा जन्मिएका नकुल ढकालका चार बहिनी र दुई भाइ छन्, जसमा नकुल जेठो छोरो हुन् । बाल्यकालमा उनले अंग्रेजी स्कुलमा पनि पढे । उनी १० वर्षको हुँदा काका र बुवा छुट्टिएका थिए । नकुललाई हजुर आमाले असाध्यै माया गर्ने गर्थिन् । उनको परिवार छुट्टिभिन्द भएपछि नकुलको परिवार नारायणस्थान – ६ मा बसाई सर्यो ।
नकुलको घरमा पसल थियो । उनकोमा पसल भएकाले पढ्न भन्दा पनि पसल तिरै नकुलको ध्यान बढ्दै गयो । पढाइतिर ध्यान कम हुँदै गयो र विस्तारै १४ वर्षको उमेरमै विदेश जाने योजना उनमा चड्यो र लागे भारत तिर । बाबासँग सात सय रुपैयाँ खर्च लिएर भारत तर्फ रोजगारी गर्नका लागि सन १९९६ जनवरीमा भारतको मद्रासका लागि हानिए । आधुनिक जमानाका टेलिफोन, टेलिभिजन तथा यातायातको साधन बस वा रेल केही पनि नदेखेको एक बालक जब मन भित्रको हुटहुटी सँगै मद्रास पुग्यो तब लाग्यो आफ्नो सपना चाहना अनि भविष्य पुरै कालो पोतिएर अन्धकार भयो भन्ने । मद्रासमा पहिलो दुई वर्षमा एक पछि अर्को गर्दै झण्डै २० वटा जागिर फेरे तर पनि उनी ठेगानिन सकेनन् । जब समस्या आउँछ तब मात्र मानिसले आफ्ना आफन्त अनि घर परिवार सम्झन्छ । एक जना नेपालीलाई लिएर जागिर खोज्दै जाँदा उनीसँगै गएको साथीले जागिर पायो तर उनले पाएनन् कारण थियो – साथी ठूलो थियो भने नकुल सानो भएकाले साहुले विश्वास गरेन ।
जब हातमा जागिर छैन अनि खल्तीमा पैसा छैन, तब सबै मानिसको घर भनेकै मन्दिर, सडक पेटी, प्रतिक्षालयहरु नै त हुन्, नकुलको पनि त्यस्तै हालत भएको थियो मद्रासमा । त्यही समयमा बिरामी परेका उनलाई नेपालीहरुले अस्पताल त लगिदिए तर उनको साथमा खानेकुरा पनि थिएन र खानेकुरा किन्नका लागि पैसा पनि थिएन । सरकारी अस्पतालले औषधी दियो तर खानेकुरा अरु दिएन । खाली पेटकै कारण बिरामी परेका थिए । अनि त्यही खाली पेटमै औषधि कसरी निल्यो होला त्यो कलिलो उमेरमा । हुन त कसैले कर गरेर पठाएको ठाउँ पनि थिएन त्यो, उनी आफ्नै हुटहुटीले गएका थिए । अस्पतालमा तिर्नु पर्ने १ हजार दुई सय पुगेको थियो तिर्नका लागि पैसा थिएन । अनि अस्पतालबाट भाग्नु शिवाय केही उपाय पनि थिएन । त्यसैले एक हजार दुई सय तिर्न सक्ने अवस्था नभएपछि उनी पनि भागे ।
तीन वर्षसम्म मद्रास लगायतका क्षेत्रमा बिताउँदै गर्दा पछिल्लो वर्ष भने एउटा राम्रो जागिर मिल्यो र दिगो पनि । त्यही जागिरबाट आफूले सरसापट गरेर लागेको सात हजार ऋण तिर्ने काम भयो भने घरमा पनि तत्काल आठ हजार भारु पनि पठाए । केही समय पछि नेपाली साथीहरु माघे संक्रान्तिमा नेपाल आउँदै रहेछन्, त्यही मेसोमा उनी पनि नेपाल फिरे ।
पढाइ पहिल्यै छुटेको थियो फेरि पढ्न मन लागेन । विदेश जानका लागि अझै पनि १८ वर्ष पुगेको थिएन त्यही कारणले गर्दा नेपाल एक महिना बसे पछि पुनः फिरे भारततिरै । नेपाल फिरेको समय पढ्न मन लागे पनि वातावरण नै बनेन पढ्नका लागि । पहिला परिवारले पढ्नका लागि हजार प्रयास गर्दा पनि नपढेका उनलाई पछि परिवारबाट पढ्ने खालको वातावरण नै सृजना भएन ।
भारतमा सेक्युरिटि गार्डको जागिर गर्दै गर्दा आफैं सिप सिक्ने भन्ने चाहना बढेपछि उनको जीवन फरक मोड तर्फ मोडियो । सेक्युरिटि बस्दै गर्दा फुरेको दिमागले उनलाई लग्यो इलेक्ट्रोनिक्स तर्फ । त्यही समयको सोचले अहिले बेनीमा ढकाल सोलार हाउसको सञ्चालक बनायो उनलाई । सोलार हाउसको सञ्चालक मात्र भएर उनको हुटहुटी रोकिएन र उनी लागे साहित्य सृजना अनि गीत संगीत तर्फ पनि ।- भारतमा तीन वर्ष बसेर इलेक्ट्रोनिक्स काम सिकेर फर्के पछि घरमा आए पश्चात् विवाह बन्धनमा बाँधिए । बाग्लुङ पैंयुपाटाकी गीता पौडेलसँग विवाह गरे पछि एक महिना पनि घर नबसी आफ्नै व्यवसाय गर्ने भन्दै परिवार छाडेर हिँडेका उनले ३ वर्ष पैयुँपाटामै व्यवसाय गरे । घर परिवारले विदेश जानका लागि लाख कोशिष गर्दा पनि नगएर स्वदेशमै केही गर्नु पर्छ भन्ने उनको सोंचकै कारण ३ वर्ष पैंयँुपाटा बसेपछि उनी केही समय पोखरा पुगे अनि सोझिए बेनी तर्फ । बाबाले सायद उनकै भलाइको लागि हो या उनमा इख बढ्छ भनेर हो केही पनि गर्न सक्दैनस भन्ने गरेको कारण नै केही गर्न पर्छ भनेर उनले गरेको मेहनतले अहिले उनले ब्यापार व्यवसाय मात्र नभएर गीत संगीतको क्षेत्रमा पनि आफ्नो छुट्टै पहिचान बनाएका छन् । ३ वर्ष पैंयुपाटामा व्यवसाय गरेका नकुल म्याग्दीको बेनीमा आएको पनि १४ वर्ष बिति सकेको छ ।
- ढकाल सँगको कुराकानी रुप्से दैनिकमा हेर्न यहाँ क्लिक गर्नुहोस
म्याग्दी आए पछि नेपालमा भएको दोश्रो जनआन्दोलनमा उनले म्याग्दीबाटै राजतन्त्र फ्याकेर गणतन्त्र स्थापनाका खातिर आन्दोलनमा सहभागी भएका थिए । म्याग्दीको बेनीमा ठाकुरप्रसाद शर्मा तथा बालकृष्ण सुवेदी लगायतको सहयोग र साथका कारणले गर्दा आफूले म्याग्दी छाडेर अन्त जान नपरेको उनको बुझाई छ । ढकाल इलेक्ट्रोनिक्सबाट ढकाल सोलर हाउस पनि सञ्चालन गर्न हौसला मिल्यो उनलाई ।
ब्यापार व्यवसाय फस्टाउँदै जान थाले पछि उनको मन मोडियो गीत संगीत तर्फ । अनि निकाले म्याग्दीका विभिन्न स्थानहरु समेटेर टिका क्षेत्रीको सहयोगमा निकाले नकुलले सालौजो । त्यस पछि उनका गीत संगीतहरुमा रफ्तार बढ्दै गयो अनि आयो उनको गीत ‘दियो जलाइदेऊ’ । आफ्नो कर्म भूमि म्याग्दी समेटेर गीत निकालेका नकुलले जन्मस्थान बलेवाको लागि भनेर निकाले ‘बलेवामा लैजान्छु मायाँलाई केबल कार चडेर’ । त्यस पछि रहिछौ नानी गाजले, रुँदै मेला पातैमा, पिरती मिसार, हाई भन जवानी फर्किन्छ जस्ता गीत बजारमा ल्याए र ती गीतले दर्शक श्रोताको मन पनि निकै जित्यो । गीत लेखनका लागि उनले निकै मेहनत गर्छन् र त्यो जारी छ । यसै सिलसिलामा धेरै गीतका लागि शब्द कोरे भने ती कति बजार आए कति रेकर्ड भएर बसेका छन् र कतिपय बजारमा आउने तर्खरमा छन् । - गीत संगीतको क्षेत्रमा लाग्ने क्रममा नकुल ढकालको पछिल्लो समय बजारमा आएको छ – उखान युद्ध । गीतको शब्द लेखन गरेका उनले स्वर दिएका छन् भने अभिनयको लिड रोल पनि उनकै छ । छोटो समयमै ७ लाख भन्दा धेरैले हेरेको ढकालको उखान युद्ध अहिले सामाजिक भिडियो शेयरिङ एप टिकटकमा पनि निकै जमेको छ ।
गाउँघरमा प्रयोग हुने उखानको शब्द माछोमाछो भ्यागुतो भन्ने शब्द दिमागमा फुरे पछि थालनी भएको शब्द लेखनले अहिले बजारमा निकै चर्चा बटुलेको छ । युट्युवमा भ्युअर्स र कमेन्ट गर्नेहरुको अवस्था सन्तुलित नै छ । लाइक गर्ने (मनप¥यो भन्ने) १० हजार हाराहारी हुँदा डिसलाइक (मनपरेन भन्ने) एक हजार आशपास छन् ।
उनी आफैं पनि स्वीकार्छन् कि मौलिक दोहोरी गीत लेख्ने भए पनि गाउनका लागि आफ्नो आवाज सुहाउँदैन । रोइला, भजन तथा ब्याटल गीतमा आफ्नो स्वर म्याच खान्छ । गीत संगीतलाई अगाडि बढाउनका लागि पहलकदमी सधैं नै हुने भन्ने ढकाललाई धेरैले ब्याटल–२ ल्याउन आग्रह गरिरहेका छन् ।
नकुल ढकालसँगको कुराकानीमा आधारित