गंगा सिंह ठकुरी
म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयमा सफल अभिभावकीय कलासम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । सफल अभिभावक बन्नका लागि विभिन्न कला सिकाउने उद्देश्यसहित शनिबार र आइतबार दुई दिनसम्म अभिभावकलाई प्रशिक्षण गरिएको विद्यालयले जनाएको छ ।
कार्यक्रममा माउण्ट एभरेष्ट फाउण्डेशन प्रालिका सञ्चालक समिति अध्यक्ष चन्द्रकुमार केसी, सदस्य किरण सापकोटा, राजु केसी, प्रिन्सिपल डाक्टर त्रिदेव उपाध्याय र भाइस प्रिन्सिपल अमृत सापकोटाले सफल अभिभावक बन्न सक्ने विभिन्न कलाको विषयमा सहजीकरण गरेका थिए । विभिन्न तीन चरणमा सञ्चालित कार्यक्रममा करिब ९ सयजना अभिभावकहरुको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा अभिभावकीय कला, बालबालिकाको हेरचाह तथा सिकाई लगायतका विभिन्न विषयहरुमा सहजीकरण गरिएको थियो । नर्सरी–मन्टेश्वरीदेखि कक्षा १, प्राइमरी र कक्षा ९ देखि ९ सम्म तीनवटा समूहमा अभिभावकलाई प्रशिक्षण दिइएको बताइएको छ ।
कार्यक्रममा कक्षा ६–९ का कक्षागत अभिभावक समितिलाई सम्मान समेत गरिएको थियो । विद्यालयका सञ्चालहरुको सहभागिता रहेको कार्यक्रमको सञ्चालक समिति सदस्य राजु केसीले सञ्चालन गरेका थिए । विद्यालयले विभिन्न समयमा विद्यार्थी र अभिभावकलाई लक्षित गरेर कार्यक्रमहरु गर्दै आइरहेको छ ।