प्रताप बानियाँ
म्याग्दी, पुस १६ – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधार गर्नुपर्ने बताउनुभएको छ । सोमबार पर्वतको जलजला गाउँपालिका–२, बगरफाँटस्थित शिद्धबाबा आधारभूत विद्यालयमा आयोजित श्रीमद्भागवत् धनधान्याचल ज्ञान महायज्ञको उद्घाटन गर्दै उहाँले शैक्षिक गुणस्तर विकासमा ध्यान दिनुपर्ने बताउनुभएको हो ।
उहाँले शिक्षक, विद्यार्थी र अभिभावक मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै सामुदायिक विद्यालयमा सबै बालबालिका आएर अध्ययन गर्ने वातावरण निर्माण गर्न सरोकारवाला सबैलाई आग्रह गर्नुभयो । उहाँले विद्यालयको विकासका लागि स्थानीय तहले आवश्यक सहयोग गर्नुपर्ने भन्दै विद्यालयमा अध्यापनरत शिक्षकहरुले शैक्षिक विकासमा विशेष ध्यान पु¥याउन सुझाव दिनुभयो । सामुदायिक विद्यालयमा पनि विद्यार्थीमैत्री वातावरण निर्माण गरी स–साना बालबालिकाहरुलाई अध्ययन, अध्यापन गराउनुपर्ने उहाँको भनाइ छ ।
राष्ट्रियसभा अध्यक्ष तिमिल्सीनाले शिक्षकहरुले अलि मेहनत गरेर विद्यालयमा शिक्षा प्रदान गर्नुपर्ने बताउँदै अभिभावकहरुले पनि आफ्ना छोराछोरीको पढाइमा ख्याल राख्नुपर्ने बताउनुभयो । उहाँले समाज र राष्ट्रप्रति समर्पित भई उत्तरदायी भएर अगाडि बढ्नुपर्ने भन्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने विषयमा शिक्षक, विद्यालय तथा अभिभावक जिम्मेवार रुपमा प्रस्तुत हुनुपर्ने बताउनुभएको थियो ।
अध्यक्ष तिमिल्सीनाले अहिले हिउँदे अधिवेशन चलिरहेको हुँदा आउँदो माघ–फागुनसम्म सबै ऐन कानुनहरु बनाई सकिने बताउँदै त्यसपछि क्रमशः कार्यान्वयनमा लगिने बताउनुभएको छ । उहाँले संविधानले सबै नागरिकहरुलाई खान, लाउन, बाँच्न, स्वास्थ्य उपचारलगायत मौलिक हक अधिकार दिएको बताउँदै समृद्ध राष्ट्र निर्माणका लागि सबै नागरिकहरु एकजुट भएर लाग्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
कार्यक्रममा पूर्व सांसद नवराज शर्माले बालबालिकाहरुलाई सरकारी विद्यालयमै पढाएर सरकारी बनाउनुपर्ने बताउँदै विद्यालयको विकासका लागि आफू सक्दो सहयोग गर्न तयार रहेको बताउनुभयो । जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले विद्यालयको विकासका लागि आफ्नो तर्फदेखि आवश्यक सबै सहयोग गर्ने बताउँदै महायज्ञमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।
महायज्ञ उद्घाटनको अवसरमा जलजला गाउँपालिका अध्यक्ष यामबहादुर मल्लले एकलाख र बेनीका क्रसर व्यवसायी एवं युवा नारायण जिसीले एकलाख ११ हजार १११ रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । २०६८ सालमा स्थापना भई बन्द भएपछि ०७४ बाट पुनः सञ्चालन गरिएको विद्यालय सञ्चालनका लागि साप्ताहिक महायज्ञ आयोजना गरिएको छ । बाल कक्षादेखि १ कक्षासम्म पठनपाठन हुँदै आएको विद्यालयको भौतिक अवस्था जिर्ण हुनुका साथै शिक्षकहरुलाई तलब खुबाउन समेत समस्या भएपछि महायज्ञ लगाइएको हो ।
सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधार गरौं : अध्यक्ष तिमिल्सीना
Previous Articleमाउण्ट एभरेष्टको सफल अभिभावकीय कलासम्बन्धी कार्यक्रम
Next Article स्वर्ण पदक पाउनेमा छात्रा धेरै