सांकेतिक तस्बिर
-बिनोद ढकाल/दैनिक नेपाल
प्रेमजालको पासोमा परेर कतिपयले आफ्नो घरबार देखि जीवन नै समाप्त पारेका घटना पर्याप्त छन् । खासगरी सम्पत्ति भएका घरका युवा, पुरूषहरू यसरी प्रेम जालको पासोमा परी बर्बाद भएका छन् । यसलाई अपराधको अर्को रूप ‘हनिट्रयाप’ भन्ने गरिएको छ ।
नेपालमा यस्ता प्रकृतिका उदाहरणहरू पर्याप्त छन् । त्यसमध्येका केही अनुसन्धान यस्ता छन् ।
महानगरीय अपराध महाशाखाले दुई महिना अघिमात्र एक व्यवसायीलाई ब्ल्याकमेलिङ र एक्सर्टशन गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको थियो । उनीहरू अहिले धरौटीमा रिहा भइसकेका छन् । गोरखा पालुङटारका ३१ वर्षीय वद्रीनाथ लामिछाने र पाँचथर हिलिहाङकी २५ वर्षीया इन्दिरा उप्रेतीले व्यवसायीसँग अन्तरङ्ग भिडियो बनाएर पैसा असुल्न खोजेको उनीहरुमाथि आरोप थियो ।
प्रहरीका अनुसार ललितपुरको कुपण्डोल क्षेत्रमा बस्ने एक जना व्यवसायीलाई उनीहरुले ब्ल्याकमेलिङ गरेका थिए ।
इन्दिरा उप्रेतीले फेसबुकमा निशा अधिकारीको नामबाट तीन व्यापारीलाई फ्रेन्ड रिक्वेस्ट पठाएकी थिइन् । पछि कुराकानीको क्रममा उनले व्यवसायीसँग मोबाइल नम्बरसमेत लिएकी थिइन् ।

हनिट्रयापमा व्यापारी पार्ने पाँचथरकी इन्दिरा उप्रेती र यसको योजना बनाउने गोरखाका बद्रीनाथ लामिछाने (धरौटीमा रिहा) ।
पछि उप्रेतीले व्यवसायीलाई फोन गरी ‘तपाईंको अफिसमा भेट्न आउँछु, कुराकानी गर्नुछ’ भन्दै गत असार १ गते दिउँसो ‘निशा अधिकारी’ बनेर अफिसमा पुगेकी थिइन् । त्यहाँ पुगेपछि उनले आफ्नो वास्तविक नाम ईन्दु भएको र घर झापा जिल्लाको बुधवारेमा पर्छ भनेर परिचय दिएकी थिइन् ।
त्यसअघि नै उनले ती व्यवसायीले थाहा नपाउने गरी मोवाइलको भिडियो क्यामेरा अन गरी सोफामा राखेर त्यहाँ भएको सबै कुरा रेकर्ड गरेकी थिइन् । त्यसपछि व्यवसायीको नजिक हुँदै छेउमा गई अङ्गालो मारी चुम्बन समेत गरेर त्यहाँबाट निस्केकी थिइन् ।
उनी त्यहाँबाट गएपछि आफूलाई ‘गणेश लामा’ बताउने व्यक्तिले ती व्यवसायीलाई इमोबाट फोन गरी सो अन्तरङ्ग पलको भिडियो रेकर्ड आफूसँग रहेको भन्दै रकम माग गरेका थिए । प्रहरीका अनुसार एक करोड रुपैयाँ रकम नदिएमा युट्युब र फेसबुकमा अपलोड गरी वेइज्जत गरिदिन्छु भन्दै ती व्यक्तिले वार्गे्निङ गर्दै आइरहेका थिए ।
यस विषयमा प्रहरीलाई उजुरी दिएपछि अनुसन्धान गर्दा घटनामा वद्रीनाथ लामिछाने र इन्दिरा उप्रेतीको संलग्नता रहेको खुल्न आएको थियो ।
हनिट्रयाप अहिले अपराधको नयाँ श्रृङ्खला बनेको छ । कुरो, ०६७ सालको हो । प्रेमीका बनेर लुटपाट गर्ने समुहका पाँच जनालाई प्रहरीले पक्राउ गरेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौं र सोह्र खुट्टे प्रभागको टोलीले उनीहरूलाई राजधानीका विभिन्न स्थानबाट पक्राउ गरेको थियो ।
प्रेमीका बन्ने सञ्चिता कार्की, नुवाकोट त्रिशुलीका नितेश गुरूङ, सोलुखुम्बुका पेम्बा सेर्पा, बौद्धका तेञ्जिङ लामा र क्षेत्रपाटीका राजन श्रेष्ठलाई पक्राउ गरियो । उनीहरूको समुहले लैनचौरमा कोहिटीका सुनिल तुलाधरलाई लुटेको थियो । क्षेत्रपाटीको रिक्रियसन फाइनान्सका सञ्चालक तुलाधर फायर क्लब ठमेलबाट फर्किर्ने क्रममा सञ्जिता कार्कीले लैनचौरसम्म छाड्न लिफ्ट मागेकी थिईन् । राती साढे १० बजे लिफ्ट दिएर लैनचौर चोकमा आइपुग्दा तुलाधरलाई पेस्तोल देखाएर मोटरसाइकल सहित लुटेका थिए ।
युवतीहरू प्रायः सुन्दर, खानदानी देखिने र सेक्सी समेत बन्छन् । जो चाँडै प्रेम बन्धनमा बाँधिएको नाटक गर्छन् । युवक अथवा पुरूषले प्रस्ताव राख्न हिचकिचाए पनि प्रस्ताव राख्छन् र कुनै नाटक गरी समस्या सुनाउँछन् । समस्या सुनाउँदा पनि काम नभए अपहरण गरी रकम हात पार्छन्
पक्राउ परेकी कार्कीले धेरै सुन लगाएको देखेपछि साथीहरू मिलेर लुटेको बयान दिएकी थिइन् । उनीहरूले लामो समयदेखि उनलाई निगरानीमा राखेको र सञ्चिताले एकाध पटक प्रेमको नाटक पनि गरेकी थिइन् ।
धनको रवाफ भएका युवालाई पब, क्लव वा अन्य ठूला ठाउँमा देखेपछि युवतीले कुनै न कुनै मौका छोपी आफ्नो सुन्दरताको पासोमा अल्झाउने गरेका छन् । त्यसपछि अपराधको चरण सुरु हुन्छ ।
यस्तै अर्को उदाहरण हो, दाङका व्यापारी राजकुमार श्रेष्ठको अपहरण र हत्या । श्रेष्ठको अपहरण र हत्यामा संलग्न भएको आरोप लागेकी युवती पुजा घर्तीमगर लाई प्रहरीले पक्राउ गरेपछि यसको रहस्य खुलेको थियो ।

व्यापारी राजकुमार श्रेष्ठलाई प्रेम जालमा पारी अपहरण र हत्यासम्म गराउने भूमिका खेलेकी पूजा घर्तीमगर
दाङको विशेष टोलीले घटनाका मुख्य अभियुक्तहरू तुलसीपुर–६ बस्ने टीकाराम घर्ती, उनकी छोरी पूजा घर्ती र मानबहादुर भण्डारीलाई पक्राउ गरेको थियो । मिलोमतोमा नै यो घटना भएको थियो ।
अपहरणमा परेका श्रेष्ठको शव प्रहरीले असार १६ गते सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ४ मा पर्ने झिम्पेको जंगलमा फेला परेको थियो ।
अपहरणपछी हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरिसकेको छ । अपहरण र हत्यामा संलग्न भएको आरोपमा भर्खरै पक्राउ परेकी पुजाले व्यापारी श्रेष्ठसँग लामो समयदेखि संगत गरेको खुलेको थियो । एक प्रकारले श्रेष्ठ पुजासँग प्रेममा थिए । पछि पुजाको योजनामा नै उनको अपहरणपछि हत्या भयो ।
यस्ता अपराधको घटना यहाँमात्र रोकिन्न । राम्रै आम्दानी गर्ने वैदेशिक रोजगारीमा रहेका युवालाई सामाजिक सञ्जालमा साथी बनाएर, प्रेमी बनाएर पनि लुटपाट गरिन्छ ।
गोरखा स्थायी घर भएका ३१ वर्षीय शक्तिमान विक कतार बस्दै आएका थिए । कतारमै काम गर्दै गरेका विक सामाजिक सञ्जाल फेसबुकमा अभ्यस्त हुँदा पिया थापासँग नजिकिए । नेपालमै रहेकी पियासँग सामाजिक सञ्जालमा चिनजान नभएको भए सायद उनी तत्काल नेपाल आउदैनथे । अनलाइन च्याटमै उनलाई पियाले ‘नेपाल आउ, बिहे गरेर यतै बसौँला, यतै काम गरौँला’ भनिन् । शक्तिमान पियाको मिठो बोलीमा फसे। अन्ततः पियासँग घरजम गरी बस्ने मिठो सपना बोकेर शक्तिमान २०७२ माघमा कतारबाट नेपाल आए ।
उनीहरूबीच फेसबुकमा फोटो मात्र आदान–प्रदान भएको थियो । शक्तिमान काठमाडौं आएर पियालाई खोज्न थाले। तर शक्तिमानले पियालाई सजिलै भेट्न पाएनन् । केही दिनपछि उनै पियाले केही युवकहरू परिचालन गरी उनलाई अपहरण गर्न लगाइन् । अपहरण गरी शक्तिमानसँग भएको धनमाल सबै लुट्न लगाइन् ।
लुटिएपछि विकले महानगरीय अपराध महाशाखामा उजुरी दिए । सोही उजुरीको आधारमा महानगरीय प्रहरी बानेश्वर वृत्तले उनीहरूको खोजी गरेको थियो । प्रहरीले पिया र ललितपुर इमाडोलका उनका वास्तविक प्रेमी सन्तोष घिमिरेलाई पक्राउ गरेको थियो ।उनीले १४ फागुन २०७२ मा विकलाई कोटेश्वरबाट अपहरण गरी लुटेको स्वीकार गरे । योजनाबद्ध हिसाबले घटना घटाएको उनको स्वीकारोक्ति थियो ।
विकको साथमा रहेको ५७ हजार नगद, दुईवटा सामसुङ मोबाइल, एटिएम कार्ड लगायतका धनमाल लुटेको उनीहरूले स्वीकार गरे । जसमध्ये २५ हजार नगद भने बरामद भएको थियो ।
च्याटमा कुरा गर्दागर्दै थापाले विकसँग प्रेमको नाटक गरेकी थिइन् । नेपाल आउन र सँगै बस्ने अनि मिलेर व्यापार गर्ने उनले प्रस्ताव राखेकी थिइन् । सोहीअनुसार विक कतारबाट नेपाल आएका थिए । नेपाल आएर केही दिन गोरखा पुगेर फर्किए। पियासँगै व्यापार गरी सँगै बस्ने सपनासहित उनी काठमाडौं आएका थिए । तर, तिनै प्रेमिकाबाट उनी अपहरणमा परे ।
पियाले उनका वास्तविक प्रेमी सन्तोष घिमिरेसँग मिलेरै प्रेमको नाटक गरी अपहरणको योजना बनाएकी थिइन् । पक्राउ परेका घिमिरे पिया ‘लिभिङ टुगेदर’मा थिए ।
यस्ता अपराधमा संलग्न रहेका युवतीहरू प्रायः सुन्दर, खानदानी देखिने र सेक्सी समेत बन्छन् । जो चाँडै प्रेम बन्धनमा बाँधिएको नाटक गर्छन् । युवक अथवा पुरूषले प्रस्ताव राख्न हिचकिचाए पनि प्रस्ताव राख्छन् र कुनै नाटक गरी समस्या सुनाउँछन् । समस्या सुनाउँदा पनि काम नभए अपहरण गरी रकम हात पार्छन् । प्रायः यस्ता युवतीको गिरोह नै हुन्छ । भारतमा यस्तो गिरोहको ठूलो सञ्जाल छ, जुन नेपालसम्म विस्तार भइसकेको छ ।
एक प्रहरी अधिकारी भन्छन्,‘यो अलग प्रकारको अपराध हो । यसमा प्रेमजालको पासो थापेर लुट्ने र भाग्ने या हत्या गर्नेसम्मका काम हुन्छन् ।’
यस्तो गिरोहले सम्बन्धित व्यक्तिलाई लामो समयदेखि अध्ययन गरेर उसको पछि लागेको हुन्छ । कुनै न कुनै बेला आफ्नो जालमा फँसाएर ब्ल्याकमेलिङ गर्ने, त्यसले पनि काम नगरे अपहरणसम्म हुने गरेका कतिपय घटनाका प्रकृतिले पुष्टि गर्छ ।
![]()
धिरजप्रताप सिंह, एसएसपी, महानगरीय अपराध महाशाखा
प्रहरीमा आएका घटनामा हनिट्रयापमा पारी लुट्ने, रकम असुल्ने गरेको प्रशस्त भेटेका छौं, पक्राउ गरी कारबाही पनि गरेका छौं’, सिंह भन्छन्,‘तर कतिपय घटना उच्च घरानीय धनाड्य अथवा व्यापारी व्यावसायीले प्रहरीसम्म आउन नदिने वा नचाहने पनि हुनसक्छ । यसकारण यो प्रकृतिको अपराध भइरहेको हुन्छ
महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहका अनुसार हनिट्रयाप नेपालमा पनि प्रशस्त हुन थालेका छन् । प्रहरीसम्म आइपुगेका घटनामा अनुसन्धान गरी सफलता हात परेको छ । तर कतिपय घटना आइपुग्दैनन् ।
‘प्रहरीमा आएका घटनामा हामीले हनिट्रयापमा पारी लुट्ने, रकम असुल्ने गरेको प्रशस्त भेटेका छौं, पक्राउ गरी कारबाही पनि गरेका छौं’, उनी भन्छन्,‘तर कतिपय घटना उच्च घरानीय धनाड्य अथवा व्यापारी व्यावसायीले प्रहरीसम्म आउन नदिने वा नचाहने पनि हुनसक्छ । यसकारण यो प्रकृतिको अपराध भइरहेको हुन्छ ।’ उनले यस्तो शंकास्पद लागेको खण्डमा व्यक्ति आफू चनाखो हुने र प्रहरीलाई जानकारी दिनुपर्ने बताए ।
सुरक्षा संयन्त्रमा पनि हुन्छ ?
लुटपाटका लागि मात्र नभएर कतिपय राष्ट्रिय सुरक्षाका गोप्य जानकारी लिनका लागि सुरक्षा अधिकारीलाई पनि ‘हनिट्रयाप’को माध्यमबाट फसाउने गरिँदै आएको छ ।
नेपालमा यस्तो घटनाको जानकारी अहिलेसम्म नआए पनि भारतमा भने सैनिक अधिकारीहरू यसरी फँसिसकेका छन् । खासगरी भारतीय स्थल र जल सेनाका अधिकारीहरू ।
पाकिस्तानी गुप्तचर संस्थाकी महिलासँग प्रेमजालमा फँसेका कर्णेलले सेनाका गुप्त जानकारी दिएको आरोप लागेको थियो । उनलाई पक्राउ गरी कारबाही समेत गरियो ।
कहाँबाट सुरु भयो ?
हनिट्रयाप रुसबाट सुरु भएको थियो । अमेरिकाका गोप्य जानकारी हात पार्नका लागि सीआइए अधिकारीबाट सूचना चुहाउन रुसले राम्री युवतीहरू खटाउने गर्दथ्यो । जसमा अधिक सफलता मिलेको भन्ने चर्चा रुसमा भयो ।
कुटनीतिक, सुरक्षा संयन्त्रका वैधानिक जानकारीका लागि अवैध हिसाबका मिसनका रूपमा सुरु गरिएको हनिट्रयाप नेपालसम्म आइपुग्दा अपराधको एउटा नयाँ श्रृङ्खला बनिदियो । सिंह थप्छन्,‘यस्तो अपराध सुसुप्त ढंगबाट कहिँ पनि भइरहेको हुनसक्छ । नेपाल प्रहरीका अनुसन्धानले अहिलेसम्म यस्ता प्रकरणमा सफल छन् ।’