नेकपा स्थायी समिति बैठकमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।
प्रतिवेदनमा पार्टी र सरकारको समीक्षा, सांगठनिक एकीकरण र पार्टीको भावी कार्ययोजनाका विषय समेटिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार पार्टी कार्यालय धुम्बाराहीमा बैठकको प्रारम्भ गर्दै अध्यक्ष ओलीले देशको वर्तमान राजनीतिक परिस्थिति र बैठकको महत्वको विषयमा आफ्नो धारणा राखेका थिए । यस्तै प्रचण्डले राजनीतिक प्रतिवेदनमा केन्द्रीत रहेर आफ्नो धारणा राखेका थिए ।
बैठकमा धारणा राख्दै प्रचण्डले सांगठानिक कार्यभार, पार्टी सञ्चालन, सरकारको समीक्षा र पार्टीको नयाँ कार्ययोजना तयार गर्ने विषयमा केन्द्रीत रहेर राजनीतिक प्रतिवेदन तयार पारिएको बैठकलाई जानकारी गराएका थिए ।
नेकपा स्थायी कमिटी सदस्य अग्नि सापकोटाका अनुसार अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन २२ पेज लामो रहेको छ । सो प्रतिवेदनको अध्ययन गर्न सदस्यहरुलाई आइतबार एक दिनको समय दिइएको उनले रातोपाटीलाई जानकारी दिए ।
सोमबारदेखि बैठकमा सदस्यहरुले अध्यक्षको प्रतिवेदनमाथि केन्द्रीय रहेर आफ्नो धारणा राख्ने क्रम सुरु हुने बताइएको छ । प्रवक्ता श्रेष्ठले सोमबार बिहान ११ बजे समयमै बैठक सुरु हुने पनि जानकारी दिए ।
यसैबीच आजको बैठकमा नेता वामदेव गौतमले छुट्टै प्रतिवेदन पेश गरेका छन् । उनको प्रतिवेदन १६ पेज लामो भएको र सो पनि स्थायी समिति सदस्यहरुलाई अध्ययनका लागि वितरण गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
बैठकले हिजाे नुवाकोटको दुप्चेश्वर गाउ“पालिका–१ घ्याङडाँडामा भएको मिनीट्रक दुर्घटनाबाट ठूलो मानवीय क्षति भएकोप्रति गम्भीर दुःख व्यक्त गर्दै उक्त दुर्घटनामा मृत्यु हुने सबैप्रति श्रद्धाञ्जलि र शोकाकूल परिवारमा समवेदना प्रकट गरेको छ ।
त्यस्तै केही दिनअघि पाल्पा, डोटी, दाङलगायतका देशका विभिन्न भागहरुमा भएका सडक दुर्घटनाप्रति पनि दुःख व्यक्त गर्दै ती घटनाका मृतकहरुप्रति श्रद्धाञ्जलि र शोकाकूल परिवारप्रति समवेदना व्यक्त गरेको छ ।