बागलुङ, ७ कात्तिक – विद्यामन्दिर पुस्तकालय बागलुङद्वारा सञ्चालित विद्युतीय पुस्तकालयको शनिबार औपचारिक रुपमा उद्घाटन भएको छ ।
सो अवसरमा बोल्दै गैरआवासीय नेपाली संघका केन्द्रिय सदस्य तथा नेपाल लाईब्रेरी फाउण्डेशनका युरोप संयोजक सोम सापकोटाले बदलिदो प्रविधि संगै नेपालका पुस्तकालयलाई परिवर्तन गर्नुपर्ने भएकोले विद्युतिय पुस्तकालयको आवश्यकता सृजना भएको बताए ।
२००३ सालमा स्थापना भएको पुस्तकालयलाई समय अनुसार परिमार्जन गर्ने लक्ष्य सहित हाल पाँच वटा कम्प्युटरबाट सेवा दिन थालिएको छ । पुस्तकालयमा ई–लाइब्रेरी सञ्चालन गर्न फाउण्डेशनले आर्थिक अभियान समेत सञ्चालन गरेको थियो । अहिले फाउण्डेशनले ल्याएको विद्युतीय पुस्तकालय अन्तर्गत ९ हजार स्वदेशी तथा विदेशी पुस्तक इन्टरनेटको माध्यमवाट लाइन नभएपनि कम्प्युटरमा बसेर हेर्न सकिने पुस्तकालयका अध्यक्ष राजेशचन्द्र राजभण्डारीले बताए । विद्युतिय पुस्तकालयको स्थापना पछि पुस्तकालयमा अध्ययन गर्न आउने क्रम बढ्न थालेको छ ।
कार्यक्रममा ओमकारप्रसाद गौचन, प्रजिअ भागीरथ पाण्डेय, बागलुङ नगरपालिका कार्यालयका योजना तथा प्रशासकिय अधिकृत युक्तप्रसाद सुवेदी, बेनी नगरपालिका कार्यालयका प्रमुख छविलाल सुवेदी, पुस्तकालयका पुर्व अध्यक्ष इश्वरप्रसाद मलेपति, सल्लाहकार शैलेन्द्रकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, सल्लाहकार कोपिला कंडेल लगायतले बोलको थिए ।
सो अवसरमा एनआरएनका सोम सापकोटालाई दोसल्ला र प्रमाण पत्रले सम्मान गरिएको थियो । कार्यक्रममा पुस्तकालयका गतिबिधीलाई समाचारको माध्यमबाट प्रकाशन, प्रशारण गर्ने जिल्लाका क्रियाशिल पत्रकारहरु गणेश पौडेल, प्रकाश बराल, दिल शिरिष, कोपिला कंडेल, प्रदिप पन्त, युवराज कँडेल, रबिना बोहरा, सुवास गौतमलाई प्रमाणपत्रले सम्मान गरेको थियो ।
यस्तै पुस्तकालयको एक हजार अभियानलाई सहयोग गर्ने विभिन्न व्यक्तिलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रम पुस्तकालयका अध्यक्ष राजेशचन्द्र राजभण्डारीको अध्यक्षता, उपाध्यक्ष रामप्रसाद शर्माको स्वागत र सचिव राम थापा ‘अबिरल’को सञ्चालनमा सम्पन्न भएको थियो ।
Previous Articleविद्यामन्दिरको महायज्ञको चौथो दिन ४५ लाख संकलन
Next Article लोकतन्त्रमा लोकमान