अमेरिकी सुरक्षा निकायको आग्रहमा चिनियाँ मोबाइल कम्पनी हुवावेकी उपप्रमुख मेंग वानजाउ क्यानडामा पक्राउ परेकी हुन् । चिनियाँ दुरसञ्चार कम्पनीका संस्थापककी छोरी पनि रहेकी मेंगलाई गत डिसेम्बर १ मा भ्यानकुभरबाट हिरासतमा लिइएको थियो ।
उनी चिनियाँ मोबाइल कम्पनी हुवावेकी आर्थिक मामिला प्रमुख समेत रहेकी छन् ।
पक्राउ सम्बन्धि अन्य विवरणहरु सार्वजनिक गरिएको छैन । तर हुवावेले इरानमाथि लगाइएका अमेरिकी प्रतिबन्धहरुको उल्लघंन गरेको हुनसक्ने भन्दै अमेरिकाले उनीमाथि छानबिन गर्दे आइरहेको बताइएको छ ।
गत अप्रिलमा अमेरिकी अधिकारीहरूले हुवावेका गतिविधिहरूमाथि अनुसन्धान भइरहेको घोषणा गरेका थिए ।
मेंगलाई पक्राउ गरिएको विरोधमा क्यानडास्थित चिनियाँ दूतावास अगाडि केहीले प्रदर्शन गर्दे उनको रिहाईको माग गरेका थिए ।
हुवावेले भने मेंग माथि लागेको उक्त आरोपको बारेमा निकै कम जानकारी भएको र उनले कुनै गलत काम नगरेको बताएको छ ।
व्यापारिक विषयलाई लिएर अमेरिका र चीनबीच द्वन्द्व चलिरहेको बेला मेंगको पक्राउलाई संवेदनशील मानिएको छ । यि दुई देशले केही समय पहिलेदेखि एक अर्काको सामानमाथि अर्बाै डलर बराबरको शुल्क लगाउदै आइरहेका छन् ।
तर हालैमा उनीहरु बीच ९० दिनका लागि कुनै नयाँ शुल्क नलगाउने सम्झौता पनि भएको थियो । यो समयमा मेंगको पक्राउलाई अर्थपूर्ण मानिएको छ । बीबीसी