कृष्ण कँडेल
बागलुङ, ६ कात्तिक – सरकारले गत बर्षदेखि सुरु गरेको सामाजिक स्वास्थ्य सुरक्षा विमा कार्यक्रमअन्र्तगत बागलुङका विमितले स्वास्थ्य उपचार पाउन थालेका छन् ।
गत असार मसान्तसम्म स्वास्थ्य बीमाको फाराम भरेका बिमितलाई अञ्चल अस्पताल बागलुङसहित प्राथमिक स्वास्थ्य केन्द्रबाट उपचार दिन सुरु भएको सामाजिक विकास समितिको कार्यालय बागलुङका प्रबन्धक जीबलाल खरेलले जानकारी दिए ।
जिल्लामा अहिलेसम्म ४ हजार ५० जनाले स्वास्थ्य बीमाका लागि फाराम भरेकोमा असार मसन्तसम्म भरेका १ हजार ६५५ जनाको लागि भदौ १ गतेदेखि स्वास्थ्य उपचार सेवा सुरु भएको छ । धौलागिर अञ्चल अस्पतालबाट मात्र १ सय ३० जनाले उपचार सेवा लिएका र १० जनालाई उपचारका लागि अन्य अस्पतालमा रिफर गरिएको अंचल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सागर राजभण्डारीले जानकरी दिए ।
प्राथमिक स्वास्थ्य केन्द्र तथा अञ्चल अस्पतालमा उपचार हुन नसकेका बिरामीलाई कार्यक्रमअन्र्तगत सम्झौता भएका ठुला अस्पतालमा पठाउने गरिएको छ । स्वास्थ्य बिमा गराएका बोहरागाउँका टोपबहादुर चन्दले आफ्नी आमाको उपचार विर अस्पताल काठमाण्डौमा गरेर फर्केका छन् ।
हरिचौरका देवेन्द्रसिंह बस्नेतले मणिपाल शिक्षण अस्पताल पोखरामा १५ महिनाकी छोरीको निमोनियाँको उपचार, श्रीमती र आफ्नो समेत गरि १० हजार बराबरको उपचार स्वास्थ्य विमा कार्यक्रमबाट गराएर घर फर्केका छन् ।
बिमाका लागि रकम तिरेर फारम भरि सदस्यता लिएका ग्वालीचौरका राजिव घिमिरेले छोरा हिमांसु घिमिरेको उपचार पनि मणिपाल शिक्षण अस्पताल पोखरामै गराएको बताए । असार मसान्तपछि बिमा रकम बुझाएर फारम भरेका २ हजार ३९५ जनाले भने आगामी मंसीर १ गतेदेखि उपचार सेवा पाउने छन् । बिमा गराउन जिल्लाभर ५१ जना दर्ता सहयोगी परिचालन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख महश्वर श्रेष्ठले जानकारी दिए ।
अहिलेसम्म बागलुङ नगरपालिकामा सबैभन्दा धेरै ८ सय ५५ जनाले स्वास्थ्य बिमा गरेमा छन् । ‘बिमा गरेपछि उपचारका लागि एकैचोटी ठूलो आर्थिक भार नपर्ने रहेछ’ हरिचौरका देबेन्द्रसिंह बस्नेतले भने, ‘स्वास्थ्य बिमा गर्दा विशेषगरी बिपन्न, आर्थिक रुपमा पछाडी परेका र स्वास्थ्य उपचार गर्न आर्थिक अभाव भएकालाई उपचारमा धेरै सजिलो हुने महसुस गरेँ ।’
स्वास्थ्य बिमाका लागि पाँच जनाको परिवारले बार्षिक २ हजार ५०० तिनुपर्ने हुन्छ । यसरी बिमा गरेपछि ५० हजारसम्मको निशुल्क स्वास्थ्य उपचार सेवा पाईन्छ । पाँच जना भन्दा बढीको परिवारले प्रति सदस्य ४ सय २५ रुपैयाँका दरले थप प्रिमियम तिनुपर्ने र थपिएको सदस्य अनुसार प्रतिएक जना बराबर १० हजारका दरले उपचार सेवा रकम पनि बढ्ने व्यवस्था छ ।
एकपटक बिमा गरेपछि १ बर्षका लागि हुने र अर्को बर्षका लागि नविकारण गर्नुपर्छ । बिमा गरेकाले सरकारको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले सम्झौता गरेर तोकेका अस्पलातमा उपचार गर्न पाउँछन् । बागलुङमा धौलागिरी अञ्चल अस्पताल र बुर्तिबाङ, हरिचौर तथा कुस्मिसेरा प्रथमिक स्वास्थ्य केन्द्रलाई स्वस्थ्य सेवा प्रदायक संस्थाको रुपमा सम्झौता गरिएको छ ।
जिल्लाभित्र तोकिएका स्वास्थ्य संस्थामा उपचार हुन नसके उनीहरुकै सिफारिसमा रोगको प्रकृति अनुसार मुलुकका राम्रा अस्तालमा उपचार गर्न सकिन्छ’ सामाजिक विकास समितिको कार्यालय बागलुङका प्रबन्धक खरेलले भने, ‘कार्यक्रमअन्र्तगत मणिपाल शिक्षण अस्पताल पोखरा, पश्चिमाञ्च क्षेत्रीय अस्पताल पोखरा, हिमालय आँखा अस्पताल पोखरा, लुम्बिनी मेडिकल कलेज पाल्पा, विर अस्पताल काठमाण्डौ, कान्ति बाल अस्पताल, विपि कोईराल क्यान्सर अस्पताल लगायतका समितिले सम्झौता गरेका अस्पालमा विमितले उपचार गर्न पाउँछन् ।’
Previous Articleकृषकलाई मौरीघार र विउ वितरण
Next Article लोकमानबारे निर्णय गर्ने ‘अन्तिम अधिकार’ प्रचण्डलाई