एजेन्सी – इजिप्टमा आयोजित ‘काहिरा फिल्म फेस्टिबल’मा एक अभिनेत्रीले पारदर्शी कपडा लगाएको विषयमा हंगामा भएको छ । अभिनेत्रीले व्यभिचारलाई उक्साएको भन्दै मुद्दा दायर गरिएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।
काहिरा फिल्म फेस्टिबलका दौरान रानिया यूसेफले कालो रंगको आँखिझ्याल भएको कपडा लगाएकी थिइन् जसमा उनको गोडाको अधिकांस हिस्सा छर्लंग देखिएको थियो । र, मानिसहरुले यो लुगामा विवाद निकाले । यद्यपि, कतिपयले भने उनको बचाउ गर्दै लुगा सामान्य रहेको बताएका छन् ।
इजिप्टको न्यायप्रणालीका जानकारहरुले समाचार एजेन्सी एएफपीलाई बताएअनुसार यदि रानिया दोषी ठहर भइन् भने उनलाई पाँच वर्षसम्मको कैद सजाय हुन सक्छ ।
रानियाको विरुद्ध एमरो आब्द्येसलाम र समीर सबरीले मुद्दा दायर गरेका हुन् । उनीहरु यस्ता विषयमा बारम्बार मुद्दा हालिरहन्छन् । सबरीले एएफपीलाई भने, ‘रानियाको पहिरन समाजको मूल्य, परम्परा र नैतिकता मुताबिक छैन । उनले इजिप्टका महिलाहरुको प्रतिष्ठालाई क्षति पू¥याएकी छन् ।’
४४ वर्षिया रानीयाले यस घटनामा माफी मागेकी छिन् । उनले भनेकी छिन्, ‘यदि विवाद उठ्छ भन्ने थाहा पाएको भए म यस्तो लुगा लगाउने थिइनँ ।’ उनले कपडा छनोटमा आफ्नो गल्ति भएको स्वीकारेकी छिन् ।