म्याग्दी, मंसिर १६ – सरकारले निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्दै आइतबार विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति म्याग्दीले सदरमुकाम बेनीमा प्रदर्शन गरेको छ ।
बलात्कारपछि हत्या गरिएको कन्चनपुरकी १३ वर्षीया बालिका पन्तको चार महिना बितिसक्दा पनि अझै हत्यारा पत्ता नलगाएको भन्दै सो पार्टीले विरोध गरेको हो । नेपाल कम्युनिष्ट पार्टीले ‘दलाल, पुँजीपति सत्ता खारेज गरौं, जनताको सत्ता निर्माण गरौं’ भन्ने नारासहित निर्मला पन्तको न्यायका लागि विरोध प्रदर्शन गरेको जनाएको छ ।
प्रर्दशनका क्रममा विप्लव नेतृत्वको पार्टीमा आबद्ध नेता तथा कार्यकर्ताले निर्मला पन्तको हत्यारालाई कार्वाही गर, हत्यारालाई फाँसी दे, गृहमन्त्रीले राजीनामा दिनुपर्ने जस्ता नारा लेखिएका विभिन्न प्लेकार्डहरु बोकेर विरोध प्रदर्शन गर्दै वर्तमान सरकारको विरुद्धमा चर्को नारावाजी गरेका थिए ।
निर्मलाको न्यायका लागि दवाव दिन भन्दै विप्लव समूहले घोषण गरेको देशव्यापी कार्यक्रम अनुसार म्याग्दी जिल्लामा पनि जनप्रदर्शन गरेको हो । विरोध प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी म्याग्दीका इन्चार्ज गमबहादुर श्रीषले सरकारले अपराधीलाई संरक्षण गरेकाले हत्यारा पत्ता लगाउनका लागि दवाव दिने उद्देश्यका साथ आफूहरुले देशैभर जनप्रदर्शन गरेको बताउनुभएको थियो ।
पूर्व सभासद समेत रहनुभएका इन्चार्ज श्रीषले बलात्कारपछि हत्याको घटना घटेको लामो समयसम्म पनि सरकारले हत्यारा पत्ता लगाउन नसक्नु गैरजिम्मेवारी काम भएको आरोप लगाउनुभयो । गाउँघरमा छोरी चेलीले निर्मला पन्तको हत्यारालाई कारवाही नहुँदा असुरक्षित वातावरण सिर्जना गरेको नेकपाका सेक्रेटरी बाबुलाल शाक्यको भनाइ छ ।
Previous Articleबलात्कारी भाइसँग भाग्दै एक दिदी
Next Article घारखोला–खिबाङ–शिख–घोडेपानी जोड्ने सडकको शिलान्यास