प्रताप बानियाँ
म्याग्दी, मंसिर १६ – उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा आइतबार सडक स्तरोन्नति कार्यको शुभारम्भ भएको छ । घारखोला–खिबाङ–शिख–चित्रे हुँदै पर्यटकीय क्षेत्र घोरेपानी जोड्ने सडकको स्तरोन्नति कार्यको शिलान्यास गरिएको हो ।
कुल साढे १८ किलोमिटर अर्थात् ५४० मिटर लम्बाई रहेको सडकको साढे १२ किलोमिटर कालोपत्रे गरिने भएको छ भने ३ दशमलव ७५ मिटर चौडाइको सडकमा ४ किमी सोलिङ र २ किमी आरसिसी ढलान गरिनेछ । भ्याट रकमसहित ३६ करोड ६९ लाख ५८ हजार १० रुपैयाँ जम्मा लागत रहेको सडकको निर्माण गर्न मोतीदान÷जयमाता जेभी शान्तिनगर, काठमाडौंले ठेक्का पाएको छ ।
निर्माण कम्पनीसँग गएको ९ गते सम्झौता भएको सडकको आउँदो २३ गतेबाट काम सुरु गरिने र आगामी २०७७ साल जेठ २२ गते निर्माण गरिसक्नुपर्ने मिति तोकिएको जिल्ला आयोजना कार्यान्वयन इकाई म्याग्दीका प्रमुख शिवराम गेलालले बताए । सडक निर्माणका क्रममा मुख्य संरचना अन्तर्गत ढुङ्गा तथा माटो काट्ने, ग्याविन तथा मेसनरी वाल, ह्युमपाईप÷कल्भर्ट लगाउने, आरसिसी, सववेस–वेस तथा कालोपत्रे गर्ने र स्टोन सोलिङ (ढुङ्गा बिच्छ्याउने) कार्यहरु गरिनेछ । सडक निर्माण गर्नका लागि बजेटको स्रोत नेपाल सरकारको रहेको छ ।
राष्ट्रिय पूनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार बेनी, म्याग्दीद्वारा आयोजित सडक स्तरोन्नति शुभारम्भ कार्यक्रममा प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापाले सडक निर्माणको शिलान्यास गरेका थिए । सडकको शिलान्यास गर्दै उनले निर्माणकार्य समयमै सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गरेका छन् । जनताको चाहना र इच्छा अनुसार सडक आयोजना आएको बताउँदै नेकपा केन्द्रीय सदस्य समेत रहेका प्रतिनिधिसभा सदस्य थापाले अन्नपूर्ण गाउँपालिकामा पुलको योजना पनि परेको जानकारी दिए ।
सरकारले म्याग्दीका तीन ठाउँलाई नयाँ पर्यटकीय गन्तव्यका रुपमा घोषणा गरेको बताउँदै उनले पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माणका लागि आवश्यक बजेट आउने बताए । गण्डकी प्रदेशका सदस्य विनोद केसीले जिल्लादेखि केन्द्रसम्म सबैको पहलमा सडक स्तरोन्नतिको योजना आएको बताउँदै आगामी दिनमा प्रदेश सरकारमार्फत खेलकुद, शिक्षा, स्वास्थ्य, पर्यटनका क्षेत्रमा बजेट आउने बताएका छन् ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, राष्ट्रिय पूनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइका निर्देशक गणेशबहादुर वस्ती, म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी, नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का संयन्त्र सदस्य हरिकृष्ण श्रेष्ठ, नेपाली कांग्रेसका कार्यवाहक सभापति माधवप्रसाद रेग्मी र निर्माण व्यवसायी रामप्रसाद बन्जडाले सडकको काम समयमै सम्पन्न गर्नुपर्ने र त्यस अनुकुलको वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए ।