प्रताप बानियाँ
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा निर्माणाधीन अवस्थामा रहेको घलेम्दीखोला जलविद्युत आयोजनाको विद्युतगृह निर्माणले तीव्रता पाएको छ । जिल्लास्थित निजी क्षेत्रको अगुवाइमा निर्माण धालिएको साढे पाँच मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत आयोजनाको निर्माण कार्यलाई तीव्र बनाइएको हो ।
आउँदो चैत महिनाभित्रै परीक्षण प्रसारणका लागि विद्युत उत्पादन गर्नेगरी अहिले कामलाई तीव्रता दिइएको घलेम्दीखोला जलविद्युत आयोजनाले जनाएको छ । हाल जलविद्युत आयोजनाले विद्युतगृह (पावरहाउस) सहितका आवश्यक संरचनाहरुको निर्माण गर्ने काम धमाधम भैरहेको छ । जलविद्युत आयोजनाको मुहानतिर ड्याम साइडलगायत कामलाई पनि तीव्र रुपमा अगाडि बढाइएको छ ।
घलेम्दी हाइड्रो लिमिटेडका कम्पनी सचिव बिमल रिजालले आयोजनाको पूर्वाधार निर्माणको झण्डै ९० प्रतिशत भन्दाबढी काम सम्पन्न भैसकेको बताउनुभयो । उहाँले हालसम्म इन्टेक, सुरुङ, पेनस्टक पाइप जडान र विद्युतगृह निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको छ । इन्टेकको काम ९५ प्रतिशत सकिएको हुँदा अहिले सुरुङभित्र फिनिसिङको काम भैरहेको उहाँले जानकारी दिनुभयो । विद्युतगृहको निर्माणकार्य समेत तीव्र रुपमा अगाडि बढाइएको छ भने विद्युत गृहको निर्माणपछि भारतीय प्राविधिकहरु आएर इलोक्ट्रो–मेकानिकल (जेनेरेटर, टर्वाइनल)लगायत जडान गर्नेछन् ।
२०७२ सालमा नेपालमा आएको विनाशकारी भूकम्प र अघोषित भारतीय नाकाबन्दीका कारणले गर्दा आयोजना निर्माणको काम समयमै सम्पन्न गर्न ढिलाई भएको घलेम्दीखोला जलविद्युत आयोजनाले जानकारी दिएको छ । यसअघि आयोजनाको निर्माणस्थलसम्म खच्चड र मजदुरमार्फत निर्माणका सामग्रीहरु ढुवानी गराउनुपर्ने बाध्यता थियो । एक्याप तथा वन कार्यालयसँगको लफडा जस्ता समस्याले गर्दा आयोजना तोकिएको समयमा निर्माणसम्पन्न हुन नसकेको कम्पनी सचिव रिजालको भनाइ छ । म्याग्दी जिल्लाका उद्योगी व्यवसायीहरुको लगानीमा निर्माण हुन लागेको यो जिल्लाको पहिलो जलविद्युत आयोजना हो ।
घलेम्दी हाइड्रो लिमिटेडका सञ्चालक सदस्य राजेश शाक्यले अबको तीन महिनाभित्र आयोजनाको बाँकी निर्माण गर्नुपर्ने सबै काम सकेर परीक्षण प्रसारणको तयारी थालिने बताउँदै करिब एकअर्ब १५ करोड रुपैयाँको लागतमा अयोजना सम्पन्न हुने बताउनुभयो । अर्का सञ्चालक सदस्य सुविन श्रेष्ठले आयोजनाको निर्माणकार्य अन्तिम चरणमा पुगेको बताउँदै निर्माणसम्पन्न भएपछि यसले सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभएको छ ।
वि.सं. २०७१ सालबाट निर्माण थालिएको आयोजनाको हालसम्म मुख्य ड्याम, बालुवा थिग्राउन पोखरी बनाउने, बाँधदेखि पोखरीसम्म नहर निर्माणका कामहरु सकिएका छन् । १७ सय मिटर सुरुङ हुँदै ल्याइएको घलेम्दीखोलाको पानीलाई १ सय ५० मिटरको उचाइबाट तल रहेको पावरहाउसमा खसालेर विद्युत उत्पादन गरिनेछ । सम्झौताअनुसार आयोजनाबाट उत्पादन हुने विद्युतलाई नेपाल विद्युत प्राधिकरणले खरिद गर्ने भएको छ ।
वार्षिक साढे १३ करोड बराबरको विद्युत खरिद गर्ने प्राधिकरणले वर्षायाममा चार रुपैयाँ ८० पैसा र हिउँदमा आठ रुपैयाँ ४० पैसामा प्रति युनिट विद्युत खरिद गर्ने सम्झौता गरिएको छ । पछिल्लो समय अन्नपूर्ण गाउँपालिकाको नारच्याङ वडा हाइड्रो भिलिजको रुपमा विकास हुँदै गैरहेको छ । नारच्याङमा घलेम्दी, मिरिस्ती, रेले, निलगिरी लगायतका खोलामा जलविद्युत आयोजनाको निर्माणकार्य अगाडि बढाइएको छ ।