म्याग्दी जेसीजले सदाकाे वर्ष जस्तै यस वर्ष पनि आयोजना गरेको जेसीजकप फुटबल प्रतियोगिताको उपाधि भिडन्त रोचक बन्ने पक्का छ । डिफेन्डिक च्याम्पियन र मोफसलको उत्कृष्ठ टिम दरवाङको केबी एकेडेमी बीचको खेल हेर्न लायक हुने अपेक्षा दर्शकको रहेको छ ।
शुक्रवार भएको सेमिफाइनल खेलमा धौलागिरि मावि सिङ्गालाई ० का विरुद्ध ८ गोल गर्दै न्यू वेष्ट प्वाइन्ट फाइनलमा प्रवेश गरेको हो । यस्तै बेनी वोर्डिङ आवशीय माविलाई १ का विरुद्ध दुइगोल गर्दै केबी एकेडेमी दरवाङले फाइनल खेलका लागि यात्रा तय गरेको छ ।
यस अघि विहिवार भएको क्वाटर फाईनलमा प्रकाश माविलाई २ का विरुद्ध ३ गोल गर्दै बेनी आवासीय मावि, बेनी सामुदायिकलाई १ का विरुद्ध ३ गोल गर्दै न्यु वेष्ट प्वाइन्ट, माउण्टलाई २ का विरुद्ध ३ गोल गर्दै केवी एकेडेमि र लिटल गार्डेन एकेडेमिलाई शुन्यका विरुद्ध ७ गोल गर्दै धौलागिरि मावि सेमिफाईनल प्रवेश गरेका थिए ।
प्रतियोगिताको बिजेतालाई जेसीजकप, ट्रफी, मेडल, प्रमाण–पत्र र नगद ४० हजार तथा उपबिजेतालाई ट्रफी, मेडल, प्रमाण–पत्र र नगद २५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको म्याग्दी जेसीजका प्रवक्ता सुजन बरुवालले जानकारी दिनुभयो ।
अनुशासित टिमलाई पाँच हजार पाँच सय, उत्कृष्ट खेलाडी, डिफेण्डर, सर्वाधिक गोलकर्ता, प्रशिक्षक, मिडफिल्डर, स्ट्राइकर, गोलरक्षक र प्लेयरलाई एक हजार पाँच सय रुपैयाँ नगद, मेडल र प्रमाण–पत्र प्रदान गरिने भएको छ ।
सात लाख ६८ हजार रुपैयाँ बजेट खर्च हुने अनुमान गरिएको प्रतियोगितामा सन्तोष स्मृति अक्षयकोष मुख्य प्रायोजक रहेको म्याग्दी जेसीजका अध्यक्ष विश्वकर्माले बताउनुभयो । बेनीका दिवंगत पूर्व खेलाडी सन्तोष श्रेष्ठको स्मृतिमा उहाँका परिवारले दुई लाख पचास हजार रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ ।
विगत १७ वर्षदेखि बेनीमा निरन्तर रुपमा म्याग्दी जेसिजले चन्दा सहयोग जुटाएर प्रतियोगिता गर्दै आएको छ । खेलको टाइटल स्पोन्सरका रुपमा बेनीको नरेश मोवाइल सेन्टरले एकलाख रुपियाँ सहयोग गरेको छ ।