डा. दिनबहादुर थापा/नेपालको इतिहासमा अमरसिंह थापा, भीमसेन थापा, नयनसिंह थापा, उजिरसिंह थापा र माथवरसिंह थापा एउटै परिवारका सदस्यहरु हुन् । यी सबैको नेपाल एकीकरण अभियान र राष्ट्र निर्माणमा उत्तिकै योगदान रहेको छ । अमरसिंह थापाका सात भाइ छोराहरु मध्ये जेठा भीमसेन थापा र माइला नयनसिंह थापा हुन् । यी नयनसिंह थापा विसं. १८६३ मा नेपाल एकीकरणको अभियानमा काँगडाको हण्डुर भन्ने ठाउँमा वीरगति प्राप्त गरेका थिए । उनै नयनसिंह थापाका जेठा छोरा कर्णेल उजिरसिंह थापा र कान्छा छोरा नेपालका प्रथम प्रधान मन्त्री माथवरसिंह थापा हुन् भने छोरीहरुजेठी जंगबहादुर राणाकी आमा गणेशकुमारी र कान्छी रणबहादुर शाहकी कान्छी महारानी ललितत्रिपुर सुन्दरी हुन् । यही परिवारमा माथवरसिंह थापा अमरसिंहका नाति, भीमसेनका भतिज, नयनसिंहका छोरा, उजिरसिंहका भाइ, पाण्डेहरुका भान्जा र जंगबहादुर कुँवर (राणा) का मामा हुन् । यिनै माथवरसिंह थापाले नेपालको इतिहासमा उल्लेखनीय योगदान पु¥याएका छन् ।
माथवरसिंह थापाको जन्म विसं. १८५५ आश्विन १८ कृष्ण सप्तमीको मंगलबार भएको थियो । उनी एक कुलीन घरानमा जन्मेर पनि आठ वर्षको हुँदा उनका बाबु नयनसिंह थापा कांगडाको किल्लमा वीरगति प्राप्त गरेका थिए । बाल्यकाल उनको त्यति सन्तोषपूर्ण नभए पनि उनको परिवारले नयनसिंह थापाको ‘मरावट’ प्राप्त गरेको थियो भने हजुर बा अमरसिंह थापा पाल्पाका बडाहाकिम र काका भीमसेन थापा मुख्तियार हुनुका नाताले पनि उनले केही सुविधाहरु पाएका थिए । उनी एक सहिद परिवारका हुनुका नाताले पनि १९ वर्षको उमेरमा कप्तान र उनका दाजु उजिरसिंह थापा कर्णेल बनी पाल्पा गएका थिए । सोही अवधि विसं. १८७१–०७२ को नेपाल–अंग्रेज युद्धमा दाजु उजिरसिंह थापाका साथ भाइ माथवरसिंह थापा पनि कप्तान पदमा रहेर विशेष वीरता देखाएका थिए ।
विसं. १८७३ मा गोरखा बोर्लाङघाटको भीमसेन थापाको अभिलेखमा उनका तीन पुस्ताको वर्णन गर्दै उजिरसिंह र माथवरसिंह थापाको पनि प्रख्याति लेखिएको छ । माथवरसिंह थापाले विसं. १८८८ तिर सल्यान र प्युठान भेगको रेखदेख गर्ने गरी मुख्तियारी पनि पाएका थिए । काठमाडौंमा भीमसेन थापाको राजनीतिक परिस्थिति प्रतिकूल भइरहेको अवस्थामा माथवरसिंह थापा गोरखामा सिंहनाथ पल्टनको कमाण्डर इन्चिफ थिए । तर दुःखको कुरा विसं. १८९४ को पजनीमा उनको भत्ता र अधिकारमा कटौती भएपछि उनी आप्mनो पदबाट राजीनामा दिएर तराइको भ्रमण गर्ने निहुँमा भीमसेन थापाको घटना घट्नु पूर्व नै भारतको सिम्लामा पुगेर बसेका थिए ।
माथवरसिंह थापाको आकर्षक र प्रभावशाली व्यक्तित्व थियो । उनको व्यक्तित्वका सम्बन्धमा विदेशी लेखकहरुले समेत उनलाई कसैले सिंहसँग त कसैले अफगानी नागरिकसँग तुलना गरेका थिए । उनको व्यक्तित्वका सम्बन्धमा उनका समकालिक लेखक जे.टी. व्हीलर (१८४५इ.) ले ‘दरबारमा माथवरसिंह थापा कुकुरहरुको झुण्ड मध्ये एक सिंह थिए । उनी एक डरलाग्दो व्यक्ति थिए तापनि उनीसँग प्रशस्त गुण, शक्ति र पर्याप्त योग्यता पनि थियो । नेपालमा उनी जस्ता अर्को व्यक्ति पाउन मुस्किलै होला अतः नेपालले आप्mनो दाहिने हात नै गुमायो’ भनेका थिए । अर्का विदेशी लेखक मड डाइभरले पनि माथवरसिंहको व्यक्तित्वका सम्बन्धमा ‘उनी सिंह जस्तै बहादुर थिए तर उनी कातरहरुद्वारा मारिनु प¥यो । यस्तो अपराध एसियामा मात्र कलात्मक तरिकाले गर्नसकिन्छ र त्यो पनि अरु कुनै ठाउँमा भन्दा नेपालमा अझै कलात्मक तरिकाले हुन सक्छ’ भनेका थिए ।
नेपालको इतिहासमा जनताको छोराले सबैभन्दा बढी अधिकार प्राप्त गर्ने व्यक्ति पनि यिनै माथवरसिंह थापा हुन् । उनले राजा राजेन्द्र विक्रम शाहबाट ‘‘यो कसैलाई नबक्सीयाको श्री श्री श्री प्राइम मिनिष्टर यान् कम्याण्डर इनचीफ जनरल माथवर सिंह थापा कलाबहादुर खिताब बक्सी सुनापत्र गरी तक्मा बक्स्यौं’’ भनी नेपालको इतिहासमा पहिलो पटक प्रधान मन्त्रीको पद प्राप्त गरेका थिए । यसका साथै उनलाई आप्mनो जीउ, धन र पदको सुरक्षाका निम्ति अभयको लालमोहर समेत प्रदान गरिएको थियो ।
माथवरसिंह थापाले आफू प्रधान मन्त्री भएपछि नेपालमा केही स्मरण योग्य कामहरु गरेका छन् । उनले छोटै अवधिमा भए पनि व्यारेकहरुको निर्माण, पाटी, पौवा र पुराना मठमन्दिरहरुको जीर्णोद्वार तथा केही नयाँ मन्दिरहरुको निर्माण गरी गुठीको समेत व्यवस्था गरिदिएका थिए । उनले काठमाडौंको धरहरा नजिकै एक भगवती मन्दिरको नाममा एउटा सुनको गजूर सहित ७५ रोपनी जग्गा गुठी राखेका थिए भने काका भीमसेन थापाको नाउँमा विष्णुमतीको तट (हाल कालिमाटी भीममुक्तेश्वर) मा भव्य भीममुक्तेश्वरको मन्दिर निर्माण गरी प्रशस्त जग्गा र नित्य पूजाको व्यवस्था गरिदिएका थिए । उक्त मन्दिर र गुठीको जग्गा माथवरसिंहको मृत्यपछि उनकी आमा रणकुमारी थापाले विसं. १९१० मा गुठी संस्थानलाई शिलापत्र गरी बुझाएकी थिइन् ।
माथवरसिंहका जीवनमा अनेकौ आरोह र अवरोहका घटनाहरु घटेका थिए । बाल्यकालमा उनी बाबुको असामयिक मृत्युले अनाथ बन्नु प¥यो भने देशको कम्याण्डर इनचिफ भइसकेको व्यक्ति सत्ताच्यूत भएपछि केही समय ढाक्रे जीवन समेत बिताउनु परेको थियो । सुगौली सन्धिपछि नेपालका वीर योद्धाहरु अर्थोपार्जन र जीवन निर्वाह गर्नका निम्ति भारतको लाहोरमा पुगेर रणजीतसिंहको फौजमा भर्ती हुने प्रचलन पनि थियो । सोही समयदेखि नेपालमा लाहुरे संस्कृति भित्रिएको हो । कसैले यी माथवरसिंह थापालाई पनि लाहोर पुगेका थिए भनेका छन् भने कसैले उनलाई कम्पनी सरकारले केही समय कैद गरेको थियो पनि भनेका छन् । वास्तवमा उनी भारतको सिम्लामा पुगेर बसेका थिए । तत्कालीन भारतका रजौटाहरु र ब्रिटिस कम्पनी सरकारसँग उनी सुपरिचित भने अवश्य थिए । तसर्थ उनको व्यक्तित्वका सम्बन्धमा विदेशी लेखकहरुले पनि मनफुकाएर लेख्ने अवसर पाएका हुन् ।
नेपालमा माथवरसिंह थापाको अभाव खड्किएपछि सुरुमा उनलाई भीमसेन थापाका पालामा लगाइएको सम्पूर्ण झुट्टा र काल्पनिक अभियोग हटाइ प्रधान मन्त्रीको पद दिने र भीमसेन थापाको पालामा हरण गरिएका थापा खलकको सारा संपत्ति एवम् मान पदवीहरु पनि फिर्ता दिने कबुल सहितको प्रतिज्ञा पत्र पठाइयो । तर माथवरसिंहलाई नेपाल आउने इच्छा भएर पनि उनले यो प्रतिज्ञा पत्रलाई सहजै स्वीकार गर्न सकेनन् । बरु उनी सिम्लाबाट गोरखपुर आइ यस विषयमा दुई महिनासम्म अध्ययन गर्न थाले ।
माथवरसिंह थापालाई लाहोरमा महाराज रणजित सिंहले प्रशस्त सुविधा र फौज सहित हात्ती घोडाको तैनाथसम्मको प्रलोभन देखाएका थिए भने गोरखपुरमा अंग्रेजले उनलाई राम नगरको राजा बन्ने अवसरको प्रलोभन समेत देखाएका थिए रे भनिएको छ । यता नेपालमा लामो प्रतीक्षासम्म पनि माथवरसिंह थापा नआएपछि राजा राजेन्द्रले उनलाई लिन उनकै भान्जा जंगबहादुरलाई लालमोहर सहित गोरखपुरतर्फ पठाए । आप्mनै भान्जाबाट दरबारको सबै वस्तुस्थिति बुझेपछि उनी १७ अप्रिल १८४३ मा दलबल सहित काठमाडौं प्रवेश गरेका थिए । काठमाडौंमा उनको राजा, रानी, युवराज र सर्वसाधारण जनताबाट समेत भव्य स्वागत गरियो । माथवरसिंह थापा राजभक्तिभाव, राष्ट्रसेवा र आप्mना पूर्खामा लगाइएको कलंक मेट्न तथा आप्mना शत्रुको बदला लिने उद्देश्यका साथ उनी छ वर्षपछि (विसं. १९०० मा) काठमाडौं प्रवेश गरेका थिए । सुरुमा उनले राजाले दिएको मुख्तियार पद सहजै स्वीकार नगरी काका भीमसेन थापा र आप्mनो कुलमा लागेको कलंकको छानबिन गर्न माग गरे । भीमसेन थापालाई लगाइएको अभियोग निष्पक्ष छानबिन नभएसम्म आपूmले कुनै पनि राजकीय पद स्वीकार नगर्ने घोषणा समेत गरे । भीमसेन थापाको सबै मुद्दा दोहो¥याइ छानबिन गर्दा षडयन्त्रमा संलग्न पाण्डे र उनका सहयोगीहरुलाई कसुर अनुसार ज्यानसम्मका सजाय सुनाइयो । विसं. १९०० बैशाख ३० गते उनले राजाबाट १० पृष्ठ लामो जितापत्र पनि प्राप्त गर्न सफल भए । उक्त जिता पत्रमा माथवरसिंह थापाको वंशले नेपाल एकीकरणमा पु¥याएको योगदान, उनीहरुमा राजाबाट भएको अन्याय र राजपरिवारसँगको सम्बन्धका विषयमा स्पष्ट पारिएको छ ।
माथवरसिंह थापा नेपाल फर्केको करिब आठ महिनापछि २५ डिसेम्बर, १८४३ इ. का दिन औपचारिक रुपमा नेपालको प्रथम प्रधान मन्त्री पदमा नियुक्त भए । उनी औपचारिक प्रधन मन्त्री नबन्दै उनले सबै राजकीय शक्तिको उपयोग गर्न थालिसकेका थिए । पाण्डेहरुको पतनपछि पनि केही समयसम्म राजाले फत्तेजंग चौतारियाको मन्त्रीमण्डल विघटन गर्न केही आनाकानी गरेका थिए । किन राजाले माथवरसिंहलाई केही समयसम्म प्रधान मन्त्री बनाउन आनाकानी गरे भन्ने सम्बन्धमा पनि इतिहासकारहरुमा मत बाझिएको छ । यसको कारणमा एकथरी इतिहासकारहरु राजालाई युवराज सुरेन्द्रको रोलक्रम भंग गर्ला कि भन्ने आशंकाले गर्दा उनले आलटाल गरेका थिए भन्ने छ भने अर्काथरी इतिहासकारहरुको भनाइमा ब्रिटिस रेजिमेन्टले माथवरसिंह थापालाई नचाहेका कारण केही समय आनाकानी गरेका हुन भनिएको छ । वास्तवमामाथवरसिंह थापाले राजाबाट असीमित अधिकार प्राप्त गरेका थिए । उनले युवराजलाई समेत सजाय गर्नसक्ने र राजारानीको नाजायज आदेश समेत मान्न नपर्नेसम्मको अधिकार प्राप्त गरेका थिए ।
यसरी राजा राजेन्द्रले आपूmमा भएको सबै शक्ति माथवरसिंह थापालाइ किन दिए भन्ने सम्बन्धमा मत बाझिएको छ । एकथरी इतिहासकारले राज परिवारभित्रको गृहकलहका कारण राजा राजेन्द्रले आप्mनो अधिकार कहिले महारानीलाई, कहिले युवराजलाई त कहिले माथवरसिंह थापालाई दिएका हुन भनेर चर्चा गरेका छन् भने अर्काथरी इतिहासकारले ब्रिटिस साम्राज्यवादको नीति बुझेर राजाले आपूm पर्दा पछाडिबाट शासन गर्न सहजहोस् भनी उनले आप्mनो सबै अधिकार माथवरसिंह थापालाई दिएका हुन् पनि भनिएको छ । वास्तवमा जे भए पनि राजा निरिह भएर नै आप्mनो सबै अधिकार माथवरसिंह थापालाई दिएका हुन् ।
माथवरसिंह थापाले आपूm सर्वाधिकार सम्पन्न हुनासाथ एकातर्फ जनतामा लोक प्रिय हुने कामहरु गर्न थाले भने अर्कातिर आप्mनो शक्ति सुदृढीकरण गने तीन कम्पनी फौज खडा गरे । उनको यो शक्ति देख्नासाथ एकातर्फ राजपरिवार त अर्कातर्फ कम्पनी सरकार अझ बढी सशंकित हुन थाल्यो । माथवरसिंह थापाको शक्तिबाट डराएर उनको हत्याको योजना बनाइयो । तर उनको हत्याको यो योजना राजपरिवार, जंगबहादुर कुँवर वा ब्रिटिस रेजिमेन्ट कसले बनायो भन्ने सम्बन्धमा पनि फरकफरक मतहरु जाहेर भएको पाइन्छ । आप्mनै मामा माथवरसिंह थापाको हत्या गर्न जंगबहादुर कुँवरलाई राजपरिवार वा ब्रिटिस रेजिमेन्ट कसले उपयोग गर्न सफल भयो भन्ने सम्बन्धमा पनि मतैक्य छैन ।
इतिहासकार प्रो. ढुण्डिराज भण्डारीले कम्पनी सरकारले चाहे जस्तो महत्वाकांक्षी, अवसरवादी र साहसी युवक स्वामीभक्त बालनरसिंह कुँवरको जेठो छोरा वीरनरसिंह कुँवर (जंगबहादुर राणा) नै थियो तसर्थ यही अवसरवादी युवकले कम्पनी सरकारको मतोमा लागी विसं. १९०२ ज्येष्ठ २ गतेका राति स्वयम् आप्mनै हातले बन्दुक हानी देशाभिमानी आप्mनै मामा माथवरसिंह थापाको हत्या गरेकको थियोभनेका छन् ।
माथवरसिंह थापाको हत्याका सम्बन्धमा अहिलेसम्म पनि सत्यतथ्य कुरा बाहिर आउन सकेको छैन । कोही इतिहासकारहरुले राजा राजेन्द्र आफैले बन्दुक चलाएर मारेका हुन् भन्ने तर्क अगाडि सारेका छन् भने कोहीले गगनसिंह, कुलमान सिंह र रुवी ध्वजले मारेका हुन् भन्ने आशंका पनि व्यक्त गरेका छन् । माथवरसिंह थापा लगायत उनका सबै परिवारको सर्वस्व हरण गर्नमा पनि धेरै इतिहासकारहरु जंगबहादुरको हात छ भनेका छन् भने केही इतिहासकारले माथवरसिंहको हत्यामा जंगबहादुर निर्दोष थिए पनि भनेका छन् । बरु माथवरसिंहका छोरा कर्णेल राणोज्वलसिंह र कप्तान राणजोर थापालाई शरण दिई त्यहाँबाट भगाउनमा जंगबहादुर आफैले सहयोग गरेका थिए पनि भनिएको छ भने कतै जंगबहादुर आफैले माथवरसिंह थापाको सबै सम्पत्ति हडप्ने काम गरेका थिए पनि भनिएको छ ।
जंगबहादुर राणा १८५१ इ. मा बेलायतबाट फर्केपछि माथवरसिंह थापाको हत्या आफैले गरेको हुँ भन्ने कुरा स्वीकार त गरेका छन् तर उनले आप्mनै मामाको हत्या शक्तिको प्रलोभनमा परी गरे वा राजाको आदेश पालना गर्न बाध्य भई गरे भन्ने विषयमा पनि मतमतान्तरहरु अद्यापि छन् । वास्तवमा जंगबहादुरको स्वभाव, महत्वाकांक्षा, मावलीको थापा थलीमा रहेको सबै सम्पत्ति हडप्ने काम र माथवरसिंह थापाको हत्यापछि पनि गगनसिंहको हत्या, कोतपर्व, भण्डारखाल पर्व आदि घटनाको योजनाकार स्वयम् जंगबहादुर भएका कारण पनि माथवरसिंह थापाको हत्यारो पनि जंगबहादुर कुँवर नै हो भनी ठोकुवा गर्न सकिन्छ । नेपालको इतिहासमा माधवरसिंह थापाको हत्यारो भनी जंगबहादुर कुँवरलाई नै चिनिन्छ । तर जंगबहादुरले माथवारसिंहको हत्या कसको इशारामा ग¥यो वा आप्mनै योजना अनुसार ग¥यो भन्ने सम्बन्धमा अझै रहस्योद्घाटन भएको छैन ।
यसरी नेपालको इतिहासमा एक देशभक्त, राजभक्त, कर्तव्य निष्ठ, शूरवीर र सुयोग्य महापुरुषको षडयन्त्रपूर्ण हत्या गरियो । यो हत्याको रहस्योद्घाटन अझै हुन सकेको छैन । नेपालको इतिहासमा यस्ता रहस्यमय घटनाहरु अनेकौ दोहोरिए । पछिल्लो समयमा मदन भण्डारी लगायत राजपरिवारको वंश समाप्त हुँदासम्मका घटनाहरु रहस्यमय रहनु यही माथवरसिंह थापाको हत्याको पुनरावृत्तिको परिणाम हो । माथवरसिंह थापाको हत्याको परिणामले देशमा जहानीया निरंकुश राणा तन्त्रलाई स्थापित ग¥यो । ब्रिटिस साम्राज्यवादको दासत्वलाई सहजै स्वीकार गरी देशलाई आधुनिक समुन्नत मुलुकका सामुमा १५० वर्ष पछाडि धकेलिदियो र राजनेताको हत्याको परम्परालाई निरन्तरता दियो । यी रहस्यमय हत्याको वास्तविक तथ्यहरु बाहिर नआएसम्म र हत्यारालाई दण्डको व्यवस्था नभएसम्म यी घटनाले निरन्तरता नपाउलान भन्न सकिदैन । (थापा त्रिविका सहप्राध्यापक हुन् ।)
Previous Articleमहाअभियोग पारित गर्न सांसदहरुलार्इ मसालको अपील
Next Article क्षेत्रिय व्याडमिन्टन प्रतियोगिताको उपाधि बुटवललाई