एसिया प्रशान्त शिखर सम्मेलनमा भाग लिन नेपाल आएकी म्यानमारको स्टेट काउन्सेलरसमेत रहेकी विदेशमन्त्री आङसान सुकीले चेम्बर एक्स्पोको अवलोकन गरेकी छन् । नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको चेम्बर एक्स्पोको अवलोकनपछि संचारकर्मीसँग कुरा गर्दै उनले नेपाल व्यावसायिक वातावरण बनाउनेतर्फ उन्मुख भएको बताएकी छन् ।
नेपाल लागानी र व्यवसायीलाई आकर्षण गर्ने दिशातर्फ उन्मुख भएको भन्दै उनले व्यवसायीलाई लगानी गर्नका लागिसमेत आग्रह गरिन् । उनले नेपालमा लगानी भित्र्याउनका लागि सरकारले पूर्वाधार विकासमा विशेष जोड दिनुपर्ने पनि औँल्याइन् । साथै सुकीले म्यानमार पनि लगानी गर्ने राम्रो वातावरण रहेको भन्दै त्यहाँ पनि लगानी गर्नका लागि व्यवसायी तथा लगानीकर्ताहरूलाई आग्रह गरिन् ।
त्यस्तै, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले चार दशक लामो अस्थिरता अन्त्य भएकाले नेपाल राम्रो लगानीयोग्य देश भएको बताए । उनले सुकी उपस्थितले नेपाल शान्तिको दिशातर्फ अगाडि बढिरहेको छ भन्ने जनाउ दिएको बताए ।
उनले सुकीको नेपाल भ्रमणले दुवै देशको व्यावसायिक सम्बन्धमा थप सुधार गर्ने तर्क गरे । नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको चेम्बर एक्स्पोको म्यानमार पार्टनर देश हो । उक्त एक्स्पोमा म्यानमारमा २० स्टल रहेका छन् । एक्स्पो तीन दिनसम्म चल्नेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणमा सुकी एसिया प्रशान्त शिखर सम्मेलनमा भाग लिन बिहीबार बिहान काठमाण्डु आइपुगेकी हुन् । युनिभर्सल पिस फेडरेसनले आयोजना गर्न लागेको उक्त सम्मेलन बिहीबारदेखि १७ गतेसम्म काठमाडौंमा हुँदैछ । युनिभर्सल पिस फेडरेसन र अन्य राष्ट्रहरूको आर्थिक सहयोगमा हुन लागेको उक्त सम्मेलनमा छ राष्ट्रका राष्ट्रप्रमुख र सरकार प्रमुख, १० जना पूर्व राष्ट्र र सरकार प्रमुख गरी ४५ राष्ट्रका १५ सय प्रतिनिधिको सहभागिता रहनेछ।