कृष्ण कँडेल
बागलुङ, ३ कात्तिक – जिल्लाको बुर्तिबाङलाई केन्द्र मानेर बनाउने स्थानिय निकायलाई नगरपालिका नै बनाउनुपर्ने स्थानिय राजनैतिक दल र सरोकारवालाले माग गरेका छन् ।
बुर्तिबाङ नगर विकास समितिको आयोजनामा भएको सर्वदलिय सर्वपक्षिय बैठकले यस्तो निर्णय गरेको हो । बैठकले ईलाका नम्वर–१० मा पर्ने ४ ओटा गाविसलाई समेटेर नगरपालिका बनाउने निर्णय गर्दै त्यसका लागि केन्द्रमा दबाव दिन जाने भएका छन् । जनसंख्याको मापदण्ड पनि पुग्ने भन्दै उनीहरुले केन्द्रमा दवाब दिन डेलिकेशन जान सांसाद ज्ञानकुमारी छन्त्यालको संयोजकत्वमा सर्वदलिय डेलिकेशन समिति गठन गरेका छन् ।
डेलिकेशन समितिमा नेपाली कांग्रेका दोर्णकुमार कुँवर, नेकपा एमालेका टंक पौडेल, नेकपा माओवादी केन्द्रका चन्द्र अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टिका दिपक कँुवर, राष्ट्रिय जनमोर्चाका गौरीश्वर पाण्डे, नेकपा क्रान्तिकारी माओवादीका निलबहादुर पुन, विप्लप नेतृत्वको नेकपा माओवादीका हरि कुँवर र नयाँ शक्ति पार्टि नेपालका टेकबहादुर कुँवर रहेका छन् । बुर्तिबाङ नगरविकास समितिका अध्यक्ष अर्जुन शेरचन र बागलुङ उद्योग बाणिज्य संघ बुर्तिबाङ इकाईका अध्यक्ष चिन्तामणि कँडेल पनि डेलिकेशन समितिको सदस्य रहेका छन् ।
समितिको बैठक बसेर तिहारलगत्तै मुख्य राजनीतिक दलका नेतृत्व, नेपाल सरकार तथा स्थानिय निकाय पुनर्संरचना आयोगमा दबावका लागि डेलिकेशन जाने निर्णय भएको बुर्तिबाङ नगरविकास समितिका अध्यक्ष अर्जुन शेरचनले जानकारी दिए । बैठकमा विभिन्न विकल्पको बारेमा छलफल भएपनि उयुक्त विकल्प ईलाका नम्बर–१० मा पर्ने ४ ओटा गाविसलाई समेटेर नगरपालिका बनाउने र त्यसको केन्द्र बुर्तिबाङ नै बनाउने भएको निष्कर्ष सहित यो निर्णय भएको शेरचनको भनाई छ ।
नगरपालिकाको नामको विषयमा भने खुला रहेको अध्यक्ष सेरचनले बताए । यसअघि जिल्ला प्राविधिक समितिले बुर्तिबाङसहित बोबाङ, अधिकारीचौर, तमान, खुङ्गा, बोङ्गादोभान र खुङ्खानी गाविसलाई समेटेर ढोरपाटन गाउँपालिका बनाई बुर्तिबाङलाई केन्द्र बनाउने गरि केन्द्रमा सिफारिस गरिसकेको छ । तर पछिल्लोपटक मुख्य राजनैतिक दलले यसअघि भनिएको स्थानिय निकायको संख्या ५६५ बाट बढाउने गरि ईलाकालाई समेत आधार बनाएर स्थानिय निकाय गठन गर्ने सहमति गरेका छन् । यसै अनुसार स्थानिय निकाय पुनर्संरचना अयोगले काम अघि बढाएको छ ।