नीलो आकाशमुनि सोमवार टोक्योस्थित मेइजी मन्दिरमा जापानकी राजकुमारी आयाको र उनका पति केइ मोरियालाई बिहेको शुभकामना दिनका लागि लगभग एक हजार शुभेच्छुक भेला भएका छन् ।
मुस्कानका साथ यो जोडी मन्दिरभित्र पस्दा भीडले बान्जाई भनी चिच्यायो । त्यसको अर्थ हुन्छ : लामो जीवनका लागि पवित्र शुभकामना । विवाह समारोह हुने हलमा पस्दा दुलाहा र दुलहीलाई परिवारका सदस्य र साथीहरूले स्वागत गरे ।
राजकुमारी आयाकोले हलुका पहेंलो रंगको उचिकी किमोनो लगाएकी थिइन् र त्यसमा गुलाबी फूल र हरिया पातको बुट्टा सजाइएको थियो । उनले जापानी साइप्रेसबाट बनेको पंखा पनि बोकेकी थिइन् ।
दुलाहा मोरियाले पश्चिमी शैलीको कालो कोट, खैरो पाइन्ट र रेशमी टोपी लगाएका थिए ।
राजकुमारी आयाको राजकुमारी हिसाको र स्वर्गीय राजकुमार ताकामोदोकी कान्छी छोरी हुन् । ताकामोदो राजा अकिहितोका भतिजा हुन् ।
जापानको शाही कानूनअनुसार, राजपरिवारका महिला सदस्यले सर्वसाधारणसँग विवाह गरेमा आफ्ना पदवी, हैसियत र भत्ता त्याग गर्नुपर्ने हुन्छ । पुरुष सदस्यको हकमा चाहिँ यो कानून लागू हुँदैन ।
मोरियालाई बिहे गरेपछि राजकुमारीले शाही हैसियत त्याग्नेछिन् र जीवनयापन खर्चका लागि जापान सरकारबाट ९ लाख ५० हजार डलर बराबरको रकम लिनेछिन् । मोरिया जहाज कम्पनी निप्पोन युसेन केकेका जागिरे हुन् ।
सीएनएनबाट