म्याग्दीमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम सुरु भएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई जनताको घरघरमा पु¥याउनका लागि जिल्लाका जनप्रतिनिधिहरुले प्रतिबद्धता जनाएका छन् । आइतबारदेखि देशैभर सुरु भएको समुदाय–प्रहरी साझेदारी कार्यक्रममा म्याग्दीका ६ वटै स्थानीय तहका प्रमुखले साझेदारी पत्रमा हस्ताक्षर गर्दै जनताको घरदैलामै पुग्ने गरी कार्यक्रम सञ्चालन गर्ने ऐक्यबद्धता जनाएका हुन् ।
सदरमुकाम बेनीमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले स्थानीय तहको सहकार्यमा वडास्तरमै पुग्ने कार्यक्रमले अपराधिक घटनाको न्युनीकरणमा सघाउने बताए । उनले कार्यक्रममार्फत कानुनले बर्जित गरेका गतिविधिलाई नियन्त्रणका साथै ग्रामीण क्षेत्रका जनतालाई समेत सहकार्यको वातावरण बनाउने बताएका छन् । स्थानीय तह सक्रिय भएमा कार्यक्रम सफल बनाउन सहज हुने बताउँदै उनले सामाजिक बिकृतिलाई पनि न्युनीकरण गर्न सकिने बताएका थिए ।
म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जनताको सहभागितामा कार्य दीगो हुने भएकाले पनि समुदायसँग प्रहरीले सुरु गरेको अभियानलाई सफल बनाउन अनुरोध गरेका छन् । उनले बर्दीविनाका प्रहरीको सूचना र सक्रियताले जिल्लामा अपराधिक गतिविधि न्युनीकरणमा सहज हुने बताए । जिल्लाभित्र रहेका सामाजिक बिकृतिका बारेमा समेत प्रहरीलाई जानकारी गराउनुपर्ने बताए । विभिन्न किसिमका हिंसा, आत्महत्या, लागूपदार्थ, वन्यजन्तुको तस्करीलगायत कानुनी गतिविधिका बारेमा स्थानीय तहको अगुवाइमा कार्यक्रम गरिने उनले बताए ।
कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्या. डमबहादुर पुन, रघुगंगाका अध्यक्ष भवबहादुर भण्डारी, मंगलाका अध्यक्ष शतप्रसाद रोका, मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगर र धवलागिरी गाउँपालिका अध्यक्ष थमसरा पुनसहित विभिन्न संघसंस्थाका प्रतिनिधि र जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।
सोही अवसरमा प्रहरी नायव उपरीक्षक विरबहादुर बुढामगरले समुदाय–प्रहरी साझेदारी कार्यक्रममा प्रहरीका गतिविधिबाहेक विभिन्न मन्त्रालयका कार्यक्रमलाई समेत जानकारी गराउँदै जनताको सहभागितामा हुने हरेक गतिविधिलाई प्रोत्साहन गर्ने बताए । उनले जिल्ला, स्थानीय तह, वडा, टोल र विद्यालयस्तरमा विभिन्न कार्यक्रम गरिने बताउँदै विगतमा प्रहरीले सुरु गरेको अभियान जस्तै सफल बनाउन समेत म्याग्दीवासीलाई अनुरोध गरेका छन् । जिल्ला, स्थानीय तह, वडा र विद्यालय गरी चारै तहमा समिति बनाइने बताए ।
कार्यक्रममा सहभागी स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसहित सरोकारवालाहरुले कार्यक्रमको उद्देश्य प्राप्तिका लागि साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । समुदाय–प्रहरी साझेदारी कार्यक्रमले हरेक स्थानीय तहमा केन्द्रित रहेर सबै पक्षसँगको समन्वय र सहकार्यका आधारमा समूचित सहभागितालाई सुनिश्चित गर्दै सचेतनासँगै सुरक्षाका उपाय अवलम्बन गर्न सघाउ पु¥याउने म्याग्दी प्रहरीले अपेक्षा गरेको छ ।
Previous Articleलेस्टर सिटीका मालिक भिचाईको हेलिकोप्टर दुर्घटनामा मृत्यु
Next Article मंगलामा व्यावसायिक तरकारी खेतीको अनुगमन