विगतका बर्ष जस्तै यस वर्ष पनि बडादशैमा पशुवलिबारे वहस भयो । यो वहसमा सबैले आआफ्ना तर्क नै सर्वश्रेष्ठ भन्ने तर्क गरे । विगतमा भन्दा फरक यसबर्ष यो वहस सामाजिक सञ्जालहरुमा शाकाहारी र मांसाहारीबीचको बहसका रुपमा अगाडि आयो । वहसका क्रममा एकथरिले शाकाहारी बन्न सबैलाई सुझाव दिए भने अर्काथरिले सनातनदेखि चलिआएको पशुवलि कायम राख्न र शारीरिक तन्दुरुस्तीका निम्ति मासु आवश्यक खानेकुरा भएको तर्क दमदारसंग राखे । जेहोस् बडादसैँ २०७३ तुलनात्मकरूपमा सुखद रह्यो । वहस जेजसरी भए पनि गत वर्षको वडादसैँ महाभूकम्पका र नाकावन्दीका कारण अलिनोजस्तै बनेको थियो । यसवर्ष त्यो कष्टबाट नेपाली जनताले थोरै भए पनि मुक्ति पाए । यतिवेला भने बडादसैँले हामीबाट विदा लिइसकेको छ भने नेपाल संम्वत, दीपावली तथा छठ पर्वको स्वागतमा हामी तम्तयार भएर वसेका छौँ । वास्तवमा सानो देश हाम्रो नेपाल चाडपर्वले पूर्ण छ।
यतिवेला सामाजिक सदभाव अत्यन्त महत्वपूर्ण रुपमा देखिएको छ । तर दुर्भाग्य नै मान्नुपर्छ, बहुसंस्कृति, बहुभाषा तथा बहुपरम्परा रहेको हाम्रो देशमा पछिल्लो समय एकले अर्को परम्पराको सम्मान गर्नुको साटो विभिन्न बहानामा होच्याउने काम हुन थालेको छ। सांस्कृतिक बहुलताको मुलुकमा यो राम्रो लक्षण होइन। आफू र आफ्नो समुदायले मनाउँदै आएको सांस्कृतिक पर्वलाई मात्र प्राचीन वा उत्तम मान्ने अनि अरुलाई खराब देख्ने एकांगी सोच कसैका निम्ति पनि हितकारी हुदैन। देशको नयाँ संविधान, सर्वसाधारणको मनोविज्ञान, सहिष्णु परम्पराले पनि सबैलाई समान अधिकार प्रदान गरेको छ। यसकारण पनि हाम्रो मुलुकमा सांस्कृतिक निषेध अवाञ्छित छ। संस्कृति भन्ने कुरा आफ्नो जीवन शैली, आर्थिक अवस्था तथा बदलिँदो समाजअनुरूप क्रमशः परिवर्तन हुँदै जान्छ। कुनै कानुन, सरकारीरगैरसरकारी संस्थाको दबाब वा कसैले होचोअर्घेलो गर्दैमा परम्परा तत्कालै फेरिन सक्दैन। फेराउने कोशिस कतैवाट पनि गरिनु हुदैन ।
कोहीकसैले आफू मांसाहारी छु भन्नु शाकाहारीको अधिकार खोस्नु हुदैन । पशुवलिको सवाललाई पनि यसरी नै बुझ्नुपर्छ । कुनै पश्चिमा मुलुकको एक वा दुई जनाले भन्दैमा अथवा राष्ट्रिय अन्तराष्ट्रि«य गैरसरकारी संस्थाले बडादसैँको छेकोमा आएर पशु अधिकारका नारा लगाउँदैमा त्यसको सिको गर्नुपर्छ भन्ने बाध्यता कसैमा पनि रहँदैन। देवीको मन्दिरमा जथाभावी वलि दिने प्रचलन स्वास्थ्य र वातावरणका दृष्टिकोणबाट पनि हानिकारक छ। धार्मिक आस्थाको मन्दिर जुनसुकै बखत सफा राख्नु आवश्यक छ। यसकारण वलि प्रथालाई विधिपूर्वक तथा हानिरहित ढंगमा कायम राख्न सकिन्छ। मन्दिर मांसाहारी–शाकाहारी सबैको हो तर अहिले पशु अधिकार रक्षा निश्चित समुदायको अर्थोपार्जन गर्ने गतिलो नारा बन्न पुगेको छ भन्ने वारेमा भने सवैले वुझ्नु पर्दछ । अहिलेको एक्काइसौँ शताब्दीको प्रविधियुक्त युगमा मन्दिरमा लगेर पशु रेटेर रगत चढाउँदैमा धर्म हुन्छ भनी सोच्नु पनि मूर्खता हुन सक्छ। आफूलाई स्वस्थ राख्नका निम्ति पौष्टिक आहार प्राप्त गर्न वा स्वादिष्ट खान भगवानको नाम अघि सारिनु युक्तिसंगत नहुन सक्छ। त्यसको वैज्ञानिक तथा वैचारिक र चित्तबुझ्दो समाधान खोज्नु पर्दछ तर आफ्नो अर्थोपार्जनका लागि मात्रै विरोध गर्ने तरिका पनि त्याग्नु पर्दछ । संसारमा कतिपय धर्मले पर्व विशेषमा पशुबधको परम्परा अँगाल्दै आएका छन्। केही समयअघि मुस्लिम धर्मावलम्बीले बकर इद मनाए। त्यस पर्वमा थुप्रै पशुधन उपयोग भएको छ। यो मुसलमानको परम्परा हो । युरोप तथा अमेरिकी मुलुकमा मनाइने अधिकांश पर्वमा चराचुरुंगीलगायत विभिन्न पशुको मासु अधिक प्रयोग गरिन्छ । यस्ता परम्पराको सर्वत्र प्रशंसा गरिन्छ । यसबाट पनि सवैले पाठ सिक्नु पर्दछ । चाडबाड भनेका वर्षभरिको थकाइ मेटेर फेरि अर्को वर्षका निम्ति आफूलाई तयार पार्ने नियमितता हुन्। यिनलाई यही रुपमा बुझ्नु पर्दछ ।