डा. लक्ष्मी आचार्य गौतम
बिन्जु खड्का
गर्भअवस्था भनेको प्रकृतिको जटिल प्रक्रिया हो । गर्भपतन भनेको कुनैपनि महिलाले गर्भ रोकिएको पत्ता लागेपछि कुनै कारण अप्राकृतिक तरिकाले गर्भ तुहाउनु हो । र, १२ हप्तासम्मको गर्भलाई महिलाले सो इच्छाले गर्भपतन गराउन र विशेष कारणले १८ हप्तासम्म पनि गर्भपतन गराउन सकिन्छ । १२ हप्ताभन्दा माथिको गर्भपतनलाई २ वा २ भन्दा बढि चिकित्सकको सिफारिसमा आमा वा बच्चाको स्वास्थ्य स्थिति असामान्य भएमा मात्र गरिन्छ ।
लिंग पहिचानका आधारमा गर्भपतन गरियो भन्दैमा महिलाले पाएको गर्भपतनको अधिकारलाई फिर्ता गर्न पनि पाइंदैन । वैधानिक गर्भपतनको अधिकार भनेको महिलाले आफ्नो ज्यान बचाउन पाउने अधिकार हो । असुरक्षित गर्भपतन गराएर शरीर अंगभंग भात्र होइन मृत्यु हुन सक्ने सम्भावनाबाट बच्न पाउने महिलाको हक हो । असुरक्षित गर्भपतनको कारण धेरैजसो महिलाहरु सिरियस अवस्थामा पुग्ने र कति महिलाहरुको मृत्यु पनि हुने गरेको पाइएको छ । एउटा महिलाको मृत्यु हुनु भनेको परिवारको महत्वपूर्ण सदस्य गुम्नु हो । परिवारको बिचल्ली हुनु हो । जब गर्भपतनले कानुनी मान्यता पायो त्यसपछि असुरक्षित गर्भपतनबाट महिलाको मृत्यु पनि कम हुन थाल्यो । अझैपनि हाम्रोे जस्तो मुलुकमा पर्याप्त जनशक्ति तयार गर्न बाँकी नै छ ।
नेपालमा सन् २००३ मा गर्भपतनले कानुनी मान्यता पाएपनि यसको कार्यान्वयन सन् २००४ देखि मात्र भयो । सन् २००४ मा पहिलोपटक नेपालमा गर्भपतन सम्बन्धी सेवा प्रसुति गृहबाट सुरु भयो । अहिले ७५ वटै जिल्लामा गर्भपतनको सेवा पाइन्छ । साथै अन्य संघ संस्थाबाट पनि यो सेवा प्रदान गरिदै आएको छ । तर गर्भपतनको सेवा दिने संस्था र व्यक्ति नेपाल सरकारको सम्बन्धित निकायमा सूचीकृत भएको हुनुपर्दछ । नेपालको कानुन अनुसार १२ हप्ता सम्मको गर्भ महिलाले आफूखुशी पतन गराउन सक्छिन । यो उनीहरुको अधिकार हो । बच्चा कहिले जन्माउने, कतिको अन्तरमा जन्माउने वा नजन्माउने भन्ने अधिकार महिलाको हो । यसमा घरपरिवार वा श्रीमान् कसैले करकाप गर्न पाइदैन र गरेमा सजाय हुन्छ । यस्तै कुनै महिला बलात्कृत भएमा हाडनाता करणी भएर गर्भ रहेमा वा गर्भको कारण महिलाको मानसिक अवस्था विग्रिएमा १८ हप्तासम्मको गर्भपतन गराउन पाइने कानुनी प्रावधान छ ।
गर्भपतनको कानुनी मान्यता पाएसँगै यसका समस्या र चुनौती पनि थपिएका छन् । मुख्य समस्या भनेको गर्भमा रहेको शिशुको लिंग पहिचान गरी गर्भपतन गराउनु हो । कानुनी रुपमा शिशुको लिंग पहिचान गरी गर्भपतन गराउनु अपराध हो । यसमा गर्भको लिंग पहिचान गर्ने व्यक्ति, गर्भपतन गराउने व्यक्ति दोषी ठहर हुन्छन् । कानुनले यी तीनै पक्षलाई ३–६ महिनाको जेल सजाय र जरिवानाको व्यवस्था गरेको छ । लिंग पहिचान गरि गर्भपतन गराउनु अपराध हो भन्ने जान्दा–जान्दै किन गर्भपतन गराउदै छौं त ? यो प्रश्न अहम् छ । यो समस्यालाई गर्भपतन गराउन पाउने कानुनी आधारसँग मात्र जोडेर हेर्न मिल्दैन । यसबारे सामाजिक र पारिवारिक संरचनासंगै समाजका विविध पक्षलाई जोडेर मूल्यांकन गर्नुपर्ने हुन्छ ।
लिंगका आधारमा हुने गर्भपतनका घटनासंगै परिवार, समाज र राज्यको दायित्व र कर्तव्य पनि जोडिएको हुन्छ । सर्वप्रथमतः घर परिवारबाट छोरा र छोरीमा हुने विभेदलाई अन्त्य गरौं । हामीले छोरा र छोरीलाई शिक्षा, अवसर, माया र सम्पतिमा समान अधिकार दियौ भने यो समस्याको समाधान हुँदै जान्छ । पितृसतात्मक सोचकै कारण लिंग पहिचानका आधारमा गर्भको शिशु छोरी भए फाल्ने र छोरा भए राख्ने मानसिकताले यो समस्या जटिल बनेको तथ्य लुकाइरहनु पर्दैन होला । छोरा मरेपछि दागबत्ती दिन्छ, बुढेशकालमा पालनपोषण गर्छ, छोरी भनेको अर्काको घर पठाउनै पर्ने जात हो भन्ने सामाजिक गलत मान्यता नहटेसम्म यस्तो समस्या दोहोरिरहन्छ ।
अर्कोतर्फ गर्भमा रहेको शिशु छोरी हो भनेर थाहा पाएर पनि गर्भपतन गराउने डाक्टरहरु दोषी हुन् । पैसाका लागि यस्तो काम गरिनु दण्डनीय छ । गर्भपतन सम्बन्धी तालिम लिएका सबै डाक्टरलाई थाहा छ कि, लिंग पहिचानपछि गरिने गर्भपतन अपराध हो । तर, गर्भवती महिलाले एक ठाउँबाट शिशुको लिंग पहिचान गरी अर्को ठाउँमा गएर गर्भपतन गराउनाले यो समस्या समाधानमा कठिनाई आउँछ । एक ठाउँमा लिंग पहिचानपछि अर्को ठाउँमा डाक्टरलाई विभिन्न समस्या देखाएर वा पारिवारिक रुपमा समस्या देखाउन बाध्य पारेर महिलाको गर्भपतन गर्न आग्रह गर्ने हुनाले यसमा चिकित्सकको मात्र दोष हो पनि भन्न मिल्दैन । यदि महिलाले घरमा चार जना बच्चा छन् यसपाली झुक्किएर गर्भ रह्यो । यो गर्भको बच्चा नफालेमा म आत्महत्या गर्छु, म बच्चालाई पालन र पढाउन सक्दिन भन्ने त्यस्तो अवस्थामा एउटा डाक्टरले के गरोस् ?
हाम्रो कानुनले स्पष्ट भनेको छ कि, यदि गर्भमा रहेको शिशुका कारण आमाको मानसिक अवस्था बिग्रेमा वा आत्महत्या गर्ने प्रयास गरेमा १८ हप्तासम्म गर्भपतन गर्न सकिन्छ । समस्याको मुल जरो भनेको ती महिलालाई त्यस्तो अवस्थामा पु¥याउने पक्ष कुन हो ? भन्ने पहिल्याउनुपर्छ । यसको जवाफ तपाई र हामी सबैले दिनुपर्छ । किनकि दोषी हामी पनि हो । हाम्रो परिावार दोषी हो, समाज दोषी हो र पितृसतात्मक मानसिकता दोषी हो । यदि हामीले घरमा छोरा र छोरीमा गरिने विभेद, असमान व्यवहारलाई हटायौं भने छोरा छोरी समान हुन् भन्ने विचार ल्यायौं र व्यवहारमा लागु गर्न थाल्यौ भने यो समस्याको निदान हुनसक्छ ।
छोराले मरेपछि दागबत्ती दिन्छ, बुढेसकालमा पालनपोषण गर्छ तर छोरी भनेको अर्काको घर पठाउनै पर्ने जात हो भन्ने सामाजिक गलत मान्यता नहटेसम्म यस्तो समम्या दोहोरिरहन्छ । लिंग पहिचानको आधारमा गरिने गर्भपतन सामाजिक अपराध त हुँदै हो । यो संगसंगै जथाभावी गर्भपतन गराउँदा महिलामा हुने खतराहरु पनि छन् । जस्तैः इन्फेक्सन, रक्तश्राव र बाँझोपन इत्यादि । कुनै विशेष कारण नभईकन गर्भपतन गराउनु उचित होइन । आफ्नो गर्भमा रहेको कन्यालाई तुहाई छिमेकीका कन्याहरु खोजी–खोजी दान दक्षिना गरेर पुन्य हुन्छ भन्ने परम्परा त्यागौं ।
(निलगिरि अस्पतालमा कार्यरत डा. गौतम स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुने भने खड्का नर्सिङ इन्चार्ज हुन् ।)
Previous Articleअसुरक्षित यौन र गर्भ बस्न नदिने उपाय
Next Article विरोधका नाममा आर्थाेपार्जन