प्रदेश ३ का भौतिक योजना तथा निर्माणमन्त्री केशव स्थापितले आफूमाथि लागेको १५ वर्ष अगाडिको यौन हिंसाको विषयमा मुख खोलेका छन् ।
आफूलाई यौन हिंसाको आरोप लगाउन रश्मिला प्रजापतिविरुद्ध मानहानीको मुद्धा लगाउने तयारी गरेको मन्त्री स्थापितले बताएका छन् ।
प्रजापतिलाई यौन हिंसाको आरोप पुष्टी गर्न चुनौती दिँदै मन्त्री स्थापितले कानुनी कारबाहीको बाटो रोज्ने तयारी थालेको बताए ।
उनले आफू हेटौंडाबाट प्रजापतिविरुद्ध मानहानीको मुद्धा हाल्न काठमाण्डु आएको बताएका छन् । उनले भने, ‘हिंसाको आरोप यो भन्दा अगाडि दुई पटक खेपि सकें । अब उहाँविरुद्ध मानहानीको मुद्धा हाल्ने हो ।’
उनले महिला हुँदैमा जथाभावी बोल्न नहुने भन्दै यसको समाधान कानुनी उपचार मात्र भएको बताएका छन् ।
प्रजापतिले आफूले यौन प्रस्ताव नमान्दा जागिरबाट निकालिएको बताए पनि स्थापित भने यसको प्रतिवाद गर्छन् । उनले १५ वर्षअगाडि आफू मेयर हुँदा करारमा रहेकी प्रजापतिसहित अन्य कर्मचारी पनि निकालिएकाले उक्त आरोप झुटो भएको दाबी गरेका छन् ।
प्रजापतिले सामाजिक सञ्जालमा स्थापितले आफूमाथि यौन हिंसा गरेको र यौन प्रस्ताव पनि गरेको सार्वजनिक गरेकी छिन् ।