कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्त बलात्कार–हत्या काण्डमा निलम्बनमा परेका तत्कालीन कञ्चनपुर जिल्ला प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टको दोस्रो स्पष्टीकरणसहितको पत्र गृह मन्त्रालयमा पुगेको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालले बिहिवार दिउँसो एसपी विष्ट र भट्टको स्पष्टीकरण पत्र मन्त्रालयमा बुझाएको हो । बुधवार मात्र एसपी विष्ट र निरिक्षक भट्टको पहिलो स्पष्टीकरण पत्र गृहमा बुझाइएको थियो ।
गृह मन्त्रालयले एसपी विष्टलाई गत भदौ ९ गते निलम्बन गरेको थियो । प्रहरीले निर्मलाको हत्यामा ४१ वर्षीय दिलीपसिंह विष्टलाई मुख्य अभियुक्त बनाएर सार्वजनिक गरेपछि प्रहरीको अनुसन्धान शङ्कास्पद भएको भन्दै स्थानीय आन्दोलित बनेका थिए ।
निर्मला घटनाबारे अनुसन्धान गर्न सरकारले गठन गरेको छानबिन समितिले तयार पारेको प्रतिवेदनमा एसपी विष्टले अनुसन्धानमा लापरबाही गरेको निष्कर्ष निकालेसगैं एसपी विष्ट कारबाहीमा परेका हुन् ।