नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीको बुधबार बेनी नगरपालिका–२, ज्यामरुककोटमा दशैं विशेष कार्यक्रम सम्पन्न भएको छ । नेपालीहरुको घरदैलामो आएको विजयादशमी तथा शुभदिपावलीको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य तथा सांसद भूपेन्द्रबहादुर थापाले पार्टी एकताको अवसरलाई सदुपयोग गरी सबै मिलेर अगाडि बढ्नुपर्ने बताए । उनले नेकपा नेतृत्वको सरकारले जनताको पक्षमा काम गर्दै अगाडि बढिरहेको बताउँदै समृद्ध देश विकास र निर्माणका लागि तल्लो तहबाट लाग्नुपर्नेमा जोड दिएका छन् ।
नेकपाको बेनपाका संयन्त्रका सदस्य एवं गण्डकी प्रदेशका सांसद विनोद केसीले देशमा भएको स्रोतसाधनको परिचालन गरेर देश विकासमा लगाउने र युवाहरुका लागि स्वरोजगार सिर्जना गर्ने बताएका थिए । सोही कार्यक्रममा नेकपा म्याग्दीका संयन्त्र सदस्य एवं जिल्ला समन्वय समितिका सदस्य शेरबहादुर केसीले पार्टी एकता अनुसार कार्यकर्ता हिँड्नुपर्ने बताए ।
बेनपा–२, का वडा अध्यक्ष हिराबहादुर थापाको अध्यक्षता र नेकपाको वडा संयन्त्र सदस्य कृष्ण कार्कीको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेकपाका नेता चन्द्रबहादुर घिमिरेले स्वागत गरेका थिए ।
सोही अवसरमा सांसदद्वय थापा र केसीले ज्यामरुककोटमा रहेको ऐतिहासिक ज्यामरुककोत तथा खड्गभवानी मन्दिरको स्थलगत अवलोकन गर्दै स्थानीयसँग जानकारी लिएका छन् । सांसदद्वयले ऐतिहासिक महत्वको धार्मिक तथा पर्यटकीयस्थल ज्यामरुककोट मन्दिरको विकासका लागि संघ र प्रदेशबाट आवश्यक पहल गर्ने बताए । उनीहरुले कोत मन्दिरको गुरुयोजना बनाएर पेश गर्न सुझाव दिएका छन् ।
कार्यक्रममा वडा अध्यक्ष थापाले वडा र नगरपालिकामार्फत कोत मन्दिरको विकास र संरक्षणमा परेका कार्यक्रम र बजेटबारे जानकारी गराएका थिएभने कोत मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरेले कोत मन्दिरको अवस्था, पूर्वाधारको अभावलगायत विषयमा जानकारी गराएका थिए ।