म्याग्दी, असोज ३१ – म्याग्दीको बेनी नगरपालिका–६, कुरिलाखर्कमा रहेको महारानीथान मन्दिरमा बुधबार पुजाआजा गरिएको छ । नेपालीहरुको महान् पर्व बडादशैंको आज आठौं दिन महाअष्टमीको अवसरमा विभिन्न स्थानबाट मन्दिरमा आएका सर्वसाधारणहरुले पुजाआजा गरेका हुन् ।
बुधबार महाअष्टमीका दिन म्याग्दी जिल्लाको विभिन्न स्थानका साथै छिमेकी बागलुङ जिल्लाबाट पनि भक्तजनहरु आएर पुजाअर्चना गरेको महारानी क्षेत्र विकास समितिले जनाएको छ । जिल्लाकै पुरानो तथा ऐतिहासिक महत्वको महारानीथान मन्दिरमा शनिबार र मङ्गलबार विशेष पुजाआजा हुँदै आइरहेको छ । भाकल गरेर पुरा भएमा सर्वसाधारणले भाकल अनुसार बोका वा परेवाको बलि चढाउने तथा उडाउने गरेका छन् ।
महारानीथान मन्दिरमा पोखरा, भैरहवा, चितवन, बुटवल, बागलुङ, पर्वत जिल्लाबाट भक्तजनहरु आउने गर्दछन् । म्याग्दी र मुस्ताङ जिल्ला भ्रमणमा आउने विभिन्न जिल्लाका पर्यटकहरु महारानीथान दर्शनका लागि पुग्ने गरेका छन् । भाकल गरेर विदेश वा पेशा जागिरमा लाग्नेहरु पुरा भएपछि पुजा गर्न आउने गर्छन् । पछिल्लो समय मन्दिरमा पुजा गर्न भक्तजनहरुको सङ्ख्या बढेको छ ।
महारानी क्षेत्र विकास समितिका अध्यक्ष अमृतदेवी बानियाँका अनुसार विगत केही समययता मन्दिरमा पुजा गर्न आउनेहरुमध्ये ६० प्रतिशतले परेवा उडाउने र ४० प्रतिशतले परेवाको बलि दिने गरेका छन् । परेवा शान्तिको प्रतिक र सूचना सञ्चारको माध्यम भएको हुँदा यसलाई आगामी दिनमा विस्तारै बलि दिनबाट घटाउनेतर्फ समितिमा छलफल भएको अध्यक्ष बानियाँको भनाइ छ । मन्दिरमा बलि दिने ठाउँ पछाडिपट्टी सारिएको छ भने मन्दिर परिसरको पेटीमा प्लाष्टर गर्न थालिएको छ ।
तत्कालीन पर्वतका प्रशासक भर्तीबम मल्ललाई राजा मलेबमले देश छाड्ने आदेश दिँदा नमानेपछि हत्या गरेको थाहा पाई उनकी श्रीमतीले सोही ठाउँमै रुखमा झुण्डिएर आत्महत्या गरेकाले मृतआत्माको श्रद्धास्वरुप उक्त स्थान महारानीथान भएको पाइन्छ । सो स्थानमा शिलामूर्ति स्थापना गरी पुजाअर्चना गर्र्ने गरिएको महारानी क्षेत्र विकास समितिले जानकारी दिएको छ ।