सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले काठमाडौं क्षेत्र नम्बर ७ का सांसद रामबीर मानन्धरले पार्टीमा बुझाएको राजीनामा पत्र अस्वीकृत गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले दिएको राजीनामा पत्र असान्दर्भीक भएकाले अस्वीकृत गरिएको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
नेता बामदेव गौतमका लागि भन्दै सांसद मानन्धरले गएको असोज २३ गते राजीनामा गर्ने घोषणा गर्दै पार्टीमा पत्र बुझाएका थिए । आजको बैठकमा सांसद मानन्धरको राजीनामा, नेता गौतमको सांसद बन्नुपर्ने कारण लगायतका बिषयमा छलफल भएको थियो । झण्डै ५ घण्टा बसेको आजको बैठकमा पार्टीको तल्ला कमिटी एकीकरण, सरकारको मूल्याङकन र पार्टीभित्र देखिएको विवादका बिषयमा छलफल भएपनि ठोस निर्णय हुन सकेन ।
बैठक भोली दिउँसो १ बजे बस्ने गरि आजलाई सकिएको नेता श्रेष्ठले बताउनुभयो । गत असोज २७ गते बस्ने भनिएको सचिवालय बैठक दशैँ लगायतका कारण दशैँपछिलाई सारिएको थियो ।