नेपाल कम्युनिष्ट पार्टीको सचिवालयका हिजो र आजका बैठकमा राजीनामा अस्वीकृत गर्ने बैठकका रुपमा परिणत भएको छ । नेता वामदेवका लागि त्याग गर्न तम्सेका काठमाडौं क्षेत्र नं. ७ का सांसद रामवीर मानन्धरको राजीनामा सचिवालयको हिजो बैठक अस्वीकर गरेको थियो भने आज प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको राजीनामा अस्वीकार गर्ने निर्णय गरेको हो ।
प्रवक्ता नारायणकाजी श्रेष्ठले ३ महिना अघि प्रवक्ता पदबाट राजीनामा दिएका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको आज ५ घण्टा लामो सचिवालय बैठकले प्रवक्ताबाट श्रेष्ठले दिएको राजीनामा अस्वीकृत गरेको हो । त्यस्तै आजको बैठकमा बरिष्ठ नेता माधवकुमार नेपालको असहमतिपत्रबारे गंभीरतापूर्वक छलफल भएको प्रबक्ता श्रेष्ठले बताए ।
बैठकले आगामी दिनहरुमा कमजोरी सच्याउने दुबै अध्यक्षले प्रतिवद्धता व्यक्त गरेको र यसअघि सचिवालयको बैठकले गरेको प्रदेश नेतृत्व इञ्चार्ज, सह –इञ्चार्ज, अध्यक्ष र सचिव तोक्ने निर्णय आजको सचिवालय बैठकले सदर गरेको प्रवक्ता श्रेष्ठले बताए ।
पार्टीका विभिन्न कमिटीहरुको एकीकरण र जनवर्गीय संगठनहरुको एकता लगायतका बिषयमा छलफल गर्न पर्सी सचिवालयको बैठक पुनः बस्ने भएको छ । त्यही बैठकले एकताको प्रस्ताव तयार पारेर कात्तिक १२ र १३ गते बस्ने स्थायी कमिटी बैठकमा पेश गर्ने तयारी छ ।