
काठमाडाैं । सिन्धुली, नुवाकोट र मोरङमा शुक्रबार भएका छुट्टाछुट्टै दुर्घटनामा सातजनाको मृत्यु भएको छ । ५८ जना घाइते भएका छन् । सिन्धुली र नुवाकोटमा तीन–तीन तथा मोरङमा भएको दुर्घटनामा दुईजनाको ज्यान गएको हो ।
अाजकाे नयाँ पत्रिका दैनिकमा याे खबर छ – सिन्धुलीबाट नयाँ पत्रिकाकर्मी विदुर पौडेलले पठाएको समाचारअनुसार सुनकोसी गाउँपालिका–५ रिठ्ठेभिरमा शुक्रबार दिउँसो यात्रुबाहक बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सुनकोसी गाउँपालिका–८ सिन्धुपाल्चोकका रवि भण्डारी, मरिण गाउँपालिका–७ का बसचालक राजकुमार लामा र उनका भाइ अमित लामा रहेको प्रहरीले जनाएको छ ।
भण्डारीको घटनास्थलमै र लामाद्वयको उपचारका लागि धुलिखेल अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रामेश्वरप्रसाद यादवले जानकारी दिए । सिन्धुलीको मरिणबाट काठमाडौं जाँदै गरेको ना६ख ९१२ नम्बरको वासुकी यातायातको बस बिपी राजमार्गअन्तर्गत पर्ने रिठ्ठेभिरबाट सुनकोसी नदीमा खसेर दुर्घटना भएको हो ।
घटनामा तीनजना घाइते भएका छन् । घाइते हुनेमा गोरखा पाल्सी बजारका हरि दाहाल, सिन्धुली पाल्चोक बलेफु–८ का रोहित पराजुली र रामेछाप खाडादेवी गाउँपालिका–५ का दीर्घ मोक्तान छन् । बसमा ८ जना यात्रु मात्र रहेकाले ठूलो दुर्घटना भए पनि मानवीय क्षति कम भएको प्रहरीको भनाइ छ ।
७ वर्षअघि आजकै दिन रिठ्ठेभिरनजिकै बस दुर्घटना हुँदा ४३ जनाको ज्यान गएको थियो ।
नुवाकोटबाट नवदीप अजनबीले पठाएको समाचारअनुसार नुवाकोटमा शुक्रबार भएको दुर्घटनामा तीनजनाको ज्यान गएको छ । समुद्रटारबाट सदरमुकाम विदुरतर्फ आउँदै गरेको बा १ ख ६३५६ नम्बरको बस दुर्घटना भएको हो । ५५ जना घाइते भएका छन् ।
बा१ख ६३५६ नम्बरको यात्रुवाहक बस समुद्रटार–त्रिशूली सडक खण्डको सूर्यगढी गाउँपालिका–५ छेडीखोलामा दुर्घटना भएको हो । पञ्चकन्या गाउँपालिका थप्रेककी ३२ वर्षीया मीनु तामाङ, पञ्चकन्या गाउँपालिका–४ का ५९ वर्षीय भगवान कँडेल र चितवन मुग्लिनका ५७ वर्षीय बलराम तिवारीको मृत्यु भएको प्रहरीले जनाएको छ । तामाङ र तिवारीको घटनास्थलमै तथा कँडेलको राजधानीको ग्रिनसिटी अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।
बस सडकदेखि करिब ७५ मिटर तल खसेको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए । घाइतेहरूको उद्धार गरी २९ जनालाई उपचारका लागि काठमाडौं पठाइएको छ । उनीहरूको ग्रिनसिटी र ग्रान्डी अस्पतालमा उपचार भइरहेकोछ । घाइतेमध्ये गम्भीर अवस्थाका ४ जनालाई हेलिकोप्टरबाट काठमाडौं लगिएको हो । २१ जना सामान्य घाइते त्रिशूली अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।
मोरङबाट नयाँ पत्रिकाकर्मी उत्तम पोखरेलले जनाएअनुसार बेलबारीनजिकै रहेको बेतना सिमसारमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । बिहीबार साँझ ६ः४५ बजे पूर्वबाट पश्चिम आउँदै गरेको ना५ख १९२० नम्बरको ट्रकले विपरीत दिशातिर गइरहेको को१२प ९६८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा बेलबारी ११ बस्ने वर्णबहादुर राई र सोही वडा बस्ने मनकुमार राईको मृत्यु भएको अस्थायी ट्राफिक पोस्ट बेलबारीका प्रमुख लीला श्रेष्ठले जानकारी दिए । दुवैजनाको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रमुख श्रेष्ठले बताए । ठक्कर दिने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालक भने फरार भएका छन् ।