प्रताप बानियाँ
म्याग्दीको धौलागिरी गाउँपालिका–१, स्थित गूर्जा हिमालको आधारशिविरमा बेपत्ता पर्यटकहरुमध्ये ८ जनाको शव भेटिएको छ । गूर्जा हिमाल आरोहण गर्न गएको ५ जना कोरियाली र ४ जना नेपालीमध्ये ८ जनाको शव देखिएको घटनास्थल पुगेर फर्किनुभएका प्रत्यक्षदर्शी सोमप्रसाद छन्त्यालले टेलिफोनमा जानकारी दिनुभयो ।
उहाँले दिएको जानकारी अनुसार क्षतविक्षत अवस्थामा शवहरु रहेका छन्भने हिमआँधीका कारण यत्रतत्र टेन्ट समेत छरिएको छ । ७ हजार १९३ मिटर अग्लो गूर्जा हिमाल आरोहणका लागि गएको पर्यटकको टोली हिमआँधी र हुरीमा परेको थियो । हिमआँधीका कारण दुर्घटना भएको बताइएको छ । आज बिहान उद्धारका लागि सिम्रिक एअरको हेलिकप्टर घटनास्थल पुगेपनि अवतरण हुन नसकेपछि फर्किएको छ ।
गूर्जाखानी गाउँबाट ५ घण्टाको दुरीमा गूर्जा हिमालको बेसक्याम्प पर्दछ । कोरियाली नागरिक किम चङ होको नेतृत्वमा गूर्जा हिमाल आरोहणका लागि प्रस्थान गरेको टोली बेसक्याम्पमा बास बसेको थियो । म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले गूर्जा हिमाल आरोहण गर्न गएको ५ जना कोरियाली र ४ जना नेपालीको टोली हिम आँधीहुरीमा परेको बताउनुभयो । उद्धारका लागि सिम्रिक एअरको हेलिकप्टर घटनास्थल पुगेपनि अवतरण हुन नसकेको बताउँदै उहाँले घटनास्थल पुगेको टोलीले आफूलाई हेलिकप्टरबाट हेर्दा शवजस्तो देखिएको जानकारी गराएको बताउनुभयो ।
हिमआँधी र हावाहुरीमा परेर बेपत्ता भएका पर्यटकको उद्धारको कार्य जारी राखिएको प्रजिअ अधिकारीको भनाइ छ । घटनाको बारेमा जानकारी आएलगत्तै शनिबार बिहानै ताकम प्रहरीचौकीबाट घटनास्थलतर्फ प्रहरीको टोली पठाइएको म्याग्दीका प्रहरी नायव उपरीक्षक विरबहादुर बुढामगरले जानकारी दिनुभयो । उहाँले दिएको जानकारी अनुसार पर्यटकलाई लिएर गएको गाइडले पनि मानिस गएर उद्धार गर्न समेत समस्या रहेको बताएका छन् । अप्ठ्यारो र सञ्चारले पनि काम गर्न नसक्ने ठाउँमा दुर्घटना भएको हुँदा शव सङ्कलनमा समस्या रहेको जनाइएको छ ।
हिमाल आसपासका क्षेत्रमा रहेका वनजङ्गलका रुख समेत हावाहुरीका कारण भाच्चिँएको अवस्थामा भेटिएकाले अत्यधिक हावाहुरीका साथै हिमआँधीले गर्दा दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । यसै साता मात्रै गूर्जा हिमाललगायत अन्य हिमाल आरोहणको लागि दुई टोली आधारशिविरतर्फ प्रस्थान गरेका थिए । एक दशकपछि मात्रै गूर्जा हिमाल आरोहणका लागि अनुमति दिइएको थियो ।
अपडेट: बेपत्ता आरोही टोलीमध्ये ८ जनाको शव देखियो
Previous Articleछुट्टाछुट्टै दुर्घटनामा सातजनाको मृत्यु
Next Article रुप्से दैनिक ! असोज २४, २०७५