पर्वत जिल्लाको जलजला गाउँपालिका–३ मा मल्लाजमा एक समाजसेवीले व्यक्तिगत लगानीमा ऐतिहासिक मल्लाज कोत मन्दिरको पुनः निर्माण गरेका छन् । १२औं शताब्दीमा निर्मित कोत भगवती मन्दिरको पूनर्निर्माण तथा संरक्षणमा मल्लाज स्थायी घरभई हाल काठमाण्डौंको ताहाचल बस्ने शिवप्रसाद श्रेष्ठले स्वर्गीय मातापिता बाबुलाल र बालकुमारी श्रेष्ठको स्मृतिमा करिब ४० लाखको लागतमा मन्दिरको पुनः निर्माणका गरेका हुन् ।
बिहीबार एक कार्यक्रमकाबीच नवनिर्मित मन्दिर तथा भौतिक संरचनाको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी र चन्दादाता श्रेष्ठले संयुक्तरुपमा उद्घाटन गरेका थिए । बाइसे–चौबीसे राज्यका पालामा निर्मित कोतमन्दिर जिल्लाकै पुरानो भएपछि संरक्षणका सरकारी बजेटले प्राथमिकता नपाएपछि स्थानीयको सक्रियतामा १ करोड २० लाख लगानीमा विभिन्न पूर्वाधार निर्माण गरिएको थियो । धार्मिक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्ने स्थानीयले बनाएको गुरुयोजना अनुसार मन्दिरका साथै पदमार्ग, बाघको शालिक, देवी भूमेथान, प्रवचन सत्तल भवन लगाएतका संरचना समेत बनाइएको मल्लाज कोत निर्माण समितिका अध्यक्ष क्याप्टेन टेकबहादुर जिसीले बताए ।
२०७२ सालमा सञ्चालित श्रीमद्भागवत तथा धनधान्याञ्चल विश्वशान्ति ज्ञान महायज्ञमार्फत सङ्कलित रकमबाट मन्दिरको पुनः निर्माण, पूजास्थल निर्माण, भवन निर्माण, खेलमैदान विस्तार गरी प्याराफिट निर्माण गरिएको मल्लाज कोत मन्दिर व्यवस्थापन समितिले जनाएको छ । साविकका पाँचवटा गाविसको एउटै कोत मन्दिर तत्कालीन मल्लाज राज्यका राजाले पूजाआजाका लागि निर्माण गरिएको थियो ।
हरेक वर्षको रामनवमी र बडादशैंको समयमा पूजाआजा हुने उक्त कोत मन्दिरको दर्शन तथा पूजाआजा गरेमा मनोकामना पुरा गर्ने जनविश्वासले जिल्ला बाहिर बसोबास गर्ने मल्लाजबासी समेत पुजा गर्न आउने गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि पर्यटनमन्त्री अधिकारीले धार्मिक तथा पूर्वाधार विस्तारमा प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने बताए । मन्दिरसहित पूर्वाधारको उद्घाटन कार्यक्रममा बोल्दै पर्वतका प्रतिनिधिसभा सदस्य पदम गिरीले धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको मल्लाज क्षेत्रको विकासलाई प्राथमिकता दिने बताए ।
Previous Articleपढाइ पूरा गर्नका लागि यी महिलाले गरिन् अनौठो बिहे
Next Article नेकपा म्याग्दीको जिल्लास्तरीय संयन्त्र गठन