म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित युनिक बचत तथा ऋण सहकारी संस्थाको बुधबार बेनीमा १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कुल १ हजार ४२० जना शेयर सदस्य रहेकोमा शेयर पुँजी ७० लाख १४ हजार ८०० र निक्षेप सङ्कलन दुई करोड ७३ लाख ३७ हजार ६१५ रुपैयाँ रहेको सहकारीले जनाएको छ ।
साधारणसभाको उद्घाटन गर्दै सहकारीका ज्येष्ठ शेयर सदस्य नारायणदत्त सुवेदीले सहकारी समाज रुपान्तरणको अभिन्न अङ्गका रुपमा स्थापित भएको बताए । उनले सहकारीमार्फत आयआर्जन, उत्पादन र व्यावसायिकमूलक क्षेत्रमा लगानी गर्नुपर्ने भन्दै आर्थिक रुपमा विपन्न नागरिकको जीवनस्तरमा सुधार ल्याउनुपर्नेमा जोड दिएका छन् ।
साधारणसभामा संस्थाका सचिव श्रीधर सुवेदीले प्रगति र कोषाध्यक्ष ताराप्रसाद आचार्य (बाबुराम)ले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभाको अवसरमा संस्थाका सञ्चालक समिति सदस्य ध्रुव जिसीलाई हालै विराटनगरमा सम्पन्न म्युजिक खबर म्युजिक अवार्ड अन्तर्गत लोकदोहोरीतर्फ सर्वोत्कृष्ट लोकदोहोरी गायक नवविधा–२०७५ अवार्ड प्राप्त गरेकोमा सम्मान गरिएको थियो ।
साधारणसभाको उद्घाटनसत्रमा लेखा संयोजक नारायण शर्मा र शेयर सदस्य तारानाथ शर्माले मन्तव्य राखेका थिए । कार्यक्रम सहकारीका अध्यक्ष गोविन्द बानियाँको अध्यक्षता, उपाध्यक्ष ठाकुरप्रसाद शर्माको स्वागत र सचिव श्रीधर सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।