राजेशचन्द्र रा.भ.
पोहोर साल खुशि फाट्यो
जतन गरि मनले टाले
त्यही साल माया फाट्यो
जतन गरि मनले टाले
यसपाली त मनै फाट्यो
केले सिउने ?
केले टाल्ने हो ?
गायिका अरूणा लामाले गाएको नेपाली आधुनिक गितले भुकम्प पिडितको पिडालाई छोएको छ । हो यो गितले पक्कै पनि भुकम्प पिडितको पीडालाई कम होइन झन् पीडा थप्ने काम भने गरेको छ । नेपालमा २०७२ बैशाख १२ र २९ गते गएको महाभुकम्पको कारण घरबारबिहिन भएका भुकम्प पिडितलाई प्रधानमन्त्री प्रचण्डले आफैले सरकारको नेतृत्व गरेलगत्तै ४५ दिनभित्र राहत रकम दिने घोषणा गरेपनि सबै भुकम्प पिडितले सरकारले घोषणा गरेको राहत रकम पाउन भने सकेनन् । भुकम्प गएको १७ महिना बितिसक्दा पनि पिडितको ओत लाग्ने बासको ब्यबस्थापन हुन सकेको छैन । दुई वर्षा मौसम पालमुनि गुजारा गरेको सारा दुनियाँले देखेको छ ।
नेकपा माओबादी केन्द्र र नेपाली काङ्ग्रेस बिच गठबन्धन गरि बनेको सरकारले नितिगत रूपमा बनाएको भुकम्प पिडितलाई दुई किस्तामा राहत रकम प्रदान गर्ने कार्ययोजना समेत फेल खाएपछि नेपालको काम गर्ने तरिका कस्तो रहेछ भन्ने कुरा समेत सारा दुनियाँमा छर्लङ्ग भएको छ । यसपालिको दशै पनि सकिसकेको छ । हुने खानेले नेपालीको महान् चाड दशै धुमधाम साथ मनाए । अलिअलि हुनेले पनि यसपटक दशै जनतन खुशी साथ मनाएर बिदाबारि गरिसके तर भुकम्प पिडितले भने अहिलेको दशै पनि पालमुनि मनाउन बाध्य भए ।
जनताको सरकार भनेर कसम खाएको प्रचण्ड सरकार पनि उहीँ पुरानो बोतलमा नयाँ लेबलभन्दा केही फरक देखिएन । साँच्चै कै कसम र प्रतिबद्धता खै कहाँ गयो ? कसैलाई थाहा छैन । भन्न जति सजिलो छ काम गर्न त्यति सजिलो भने छैन भन्ने कुरा पनि माओबादि र नेपाली कांग्रेसले अबश्य बुझे होलान् । नेपालको राजनीति, प्रशासन, कर्मचारीतन्त्रको काम गर्ने शैली पन्चायती भन्दापनि झन् खतम छ भन्ने कुरा नेपाली जनताले मात्र होइन सारा दुनियाँले थाहा पाएको बिषय हो । ९ महिनाको जिम्मेवारी लिएर बनेको प्रचण्ड सरकारले धेरै भन्दा धेरै काम गरेर जनतालाई देखाउन खोजे पनि तर कामले खासै गति लिन भने सकेको छैन । जनतामा सरकारले यो गर्ला, जनतालाई राहत देला भन्ने कुरा त ‘आकाशको फल आँखातरि मर’ भने जस्तो नै भैसक्यो । बजारमा सामान किनमेल गर्न निस्कने हो भने सामान किनी सक्नु छैन । एक झोला तरकारी किनमेल गर्नलाई झोलाभरि पैसा बोक्नु पर्ने दिन आईसक्यो ।
गरिब जनताको लागि चाडपर्व पनि साँच्चै भन्नू पर्दा ‘खाउ भने दिनभरिको सिकार नखाउ भने कान्छा बाउको अनुहार’ भनेझै भैसक्यो । बजार सरकारको नियन्त्रणमा छैन, केही ठुलो ब्यापारी, कालाबजारीको कब्जामा देखिन्छ । सरकार निरीह देखिन्छ कसैलाई कार्बाही गर्न सक्दैन । जिल्लाको हालत पनि त्योभन्दा कुनै फरक छैन । जनताले चुनेर पठाएको जनप्रतिनिधिलाई यो कुराको कुनै चासो देखिदैन । गाउँ–गाउँमा जाने भाषण गर्ने, रिबन काट्ने अनि प्रमुख अतिथि बन्दैमा फुर्सद छैन । आफ्नो वरिपरिको समस्या के छ भन्ने समेत हेक्का छैन । भुकम्प पिडितको कथा र ब्यथा बुझ्ने धेरै टाढाको बिषय बनिसक्यो । यो त खाली राजनीति गर्ने र भाषण गर्ने माध्यम मात्र बनेको कारणले पनि भुकम्प पिडित र पुर्ननिर्माणले गति नलिएको हो भन्ने कुरा पनि प्रमाणित भैसक्यो ।
सरकारसँग पैसा नभएको पनि हैन । मुख्य कुरा इच्छाशक्ति नभए अर्को नेपाललाई सहयोग गर्ने बिदेशी राष्ट्रको दबाब र प्रभाव नै प्रमुख कारण हो भनेर बुझ्न सकिन्छ । भुकम्प पिडितको पीडा आफ्नो ठाउँमा छ । मौकामा चौका हान्ने बानी परेका राजनीति दलका नेता तथा कार्यकर्ताले यसैलाई मागी खाने भाडो बनाए । कयौं नक्कली भुकम्प पिडित खडा गरेर उनीहरूको नाम सक्कली भुकम्प पिडितमा लेखाउन सफल भए । जसको कारणले पनि बास्तबिक भुकम्प पिडितले राहत पाउन धेरै ढिलाई भएको हो । नेपालमा जे कुरामा पनि राजनीति हुने भएको कारणले पनि हामी पछि परेका हौ । साँच्चै आफु सरकार बाहिर बस्दा एउटा कुरा गर्ने अनि सरकारमा गएपछि हिजो गरेको बाचा सबै भुल्ने प्रबृत्ति नै सबैभन्दा बढि खतरनाक छ ।
केपी ओलीको नेतृत्वको सरकारलाई बिस्थापित गरि कांग्रेस माओबादी र राप्रपाबीच समिकरण गरि नयाँ सरकार बन्यो । हिजोका दिनमा जे–जति तर्क पेश गरियो, त्यो सबै बहानाबाजी मात्रै हो रहेछ । संविधान संशोधन, मधेसी मोर्चासँग बार्ता, निर्वाचन, शान्ति प्रकृयाको कुरा सबै नाटक मात्र हो रहेछ । खास कुरा त जसरी भएपनि सरकारमा जाने आफ्नो र आफन्तको लागि पैसा कमाउने अनि कमिसन खाने भन्दा अरू कुनै उदेश्य देखिएन । २०७४ माघ ७ गतेभित्र देशको ३ वटा निर्वाचन सम्पन्न गर्नु पर्ने बाध्यता छ । तरपनि अहिलेको अबस्थामा देशमा निर्वाचन हुने कुनै लक्षण देखिदैन । प्रधानमन्त्री प्रचण्डले दिनरात निर्वाचन गराउन सरकार तयार रहेको भाषण गर्न ब्यस्त छन् तर कुनै पनि बाताबरण भने छैन ।
गाउँ पुर्नसँरचना गरिएपनि प्रमुख ३ राजनीति दलबीच सहमति हुन सकेको छैन । संविधान संशोधन गर्ने भनिएपनि अहिलेसम्म राजनीति सहमति हुन सकेको छैन सहमति नभएपछि प्रकृया अगाडि बढ्न सकेको छैन । सबै कुराको प्रभाब राजनीतिले छिनोफानो गर्ने हो तर देशको प्रमुख राजनीति दल सहमतिमा नआएसम्म त्यो संभब छैन ।
अहिले कांग्रेस, माओबादी, एमाले र मधेसी मोर्चा एक नहुँदासम्म राजनीतिले निकास पाउन सक्दैन । दिन ढल्कदैछ तर राजनीति दल आ–आफ्नो ईगोमा छन् । यही कारणले गर्दा आज भुकम्प पिडित पालमुनि बस्न बाध्य छन् । अब ढिलो नगरी सबैलाई मान्य हुने सहमति गरि अघि बढ्न जरुरी छ । ३ वटा निर्वाचन समयमा भएन भने अहिले संविधानसभाले बनाएको संविधान फेल हुने छ त्यसकारण सबै जिम्मेवार बन्न अब ढिलो नगरौ । अरूणा लामाले गाउनु भएको गित…
यसपालि त मनै फाट्यो
के ले सिउने के ले टाल्ने हो
भनी भुकम्प पिडितले फेरि फेरि गाउन नपरोस् ।