-सुदर्शनकुमार श्रेष्ठ
“बेनीको बजार जता माया उतै छ नजर, किरे मिरे जाले रुमाल”
यो गीत यति प्रसिद्ध भयो कि जसले बेनी बजारको व्यापक प्रचारप्रसार भयो । यो गीत २०३१÷२०३२ सालमा नेपालको ट्रेन्डिङ नम्बर १ मा परेको थियो ।
म्याग्दी जिल्लाका विभिन्न गाउँमा लाग्ने परम्परागत मेला पर्व अन्तर्गत सिंगा तातोपानीमा फागू पूर्णिमाको बेला लाग्ने मेलामा लोकदोहोरी भाकामा पहिलो पटक गुन्जिएको थियो यो गीत । यस गीतको सृजनाकार को हुन् यद्यपि यकिन छैन । २०३० सालमा मितेरी नाताले बहिनी र दाजु (मनकुमारी छन्त्याल – टीकाबहादुर श्रेष्ठ) भन्दै र व्यवहार गर्दै आएकाहरु विवाह बन्धनमा बाँधिएर बेनी बजारको थातथलो नै छोडेर बुटबल खस्यौली बसाइँसराई नै गरेका ती जोडीले २०३१ सालमा जब आफ्नै कथाव्यथाका परिवेश जोडेर रेडियो नेपालबाट गीत घन्काइयो, एकाएक गीत सुपरहिट भयो र सँगसँगै बेनी बजारलाई पनि चिनाउने काम गरेको थियो । यो गीत मन छन्त्याल र माया लामाले संयुक्त रुपमा गाएका थिए । हाल रिमिक्स गरेर अलिकति फरक पारामा गाइएको छ ।
बेनी बजारको मार्केटिङ त्यसो त यो गीतले नै गराइएको भने होइन । बेनी बजार आफैंमा ऐतिहासिक, धार्मिक एवम् प्राकृतिक एवम् भौगोलिक विविधताको कारण बहुआयामिक महत्व बोकेको ऐतिहासिक सुन्दर सहर हो ।
कुनै बेला मुस्ताङ चीनको अन्तर्राष्ट्रिय गेटवे कोरला नाका प्रचलनमा रहेको बेला चीनसँगको (त्यतिबेला तिब्बत भोट) कारोवारले बेनी बजारको महत्वलाई उजागर गरेको थियो । भोटबाट आउने नुन, सुन, ऊन राडिपाखीसँग नेपालमा उत्पादिन चामल, मकै, घिउ, तेल साटफेर गरेर अन्तर्राष्ट्रिय व्यापार विस्तारको केन्द्र बेनी रहेको सन्दर्भमा बेनीलाई उतीबेलै बेनी सहर भनिन्थ्यो । यस्तै मुक्तिनाथ जाने मूलबाटो यहीँ, धौलागिरि, गुर्जा हिमाल तथा प्राकृतिक छटाले सुसज्जित मनोरम स्थल जान छिचोल्नुपर्ने बेनी बजारको अनिवार्य उपस्थितिले बेनीलाई सम्झनै पर्दथ्यो । यस्तै गलेश्वरबाबा, शिवालय थान, बलमुक्तेश्वर शिव मन्दिर, कोटभण्डार, प्राकृतिक चिकित्सा केन्द्रको रुपमा रहेको सिंगा तातोपानीको स्नान स्थलले बेनी बजारलाई नजोडी नहुने हुँदा बेनीले सबैलाई लोभ्याउँथ्यो । २०१७ सालमा पञ्चायती व्यवस्था लागूृ भएपछि राज्यले ७५ सजल्ला मध्ये म्याग्दी जिल्लाको सदरमुकाम बेनीलाई तोकेपछि म्याग्दीको सदरमुकाम बेनीबजारको महत्व अझ बढेर गएको थियो ।
देशमा संघीयता लागूभएपछि म्याग्दीको सदरमुकाममा केन्द्रित प्रशासनिक तथा विकासे कार्यभार ५ वटा गाउँपालिका र १ नगरपालिकामा विभाजित हुन गयो । यतिखेर बेनीमा सानो सानो व्यापार व्यवसाय गरेर जीवन निर्वाह गर्ने व्यक्तिहरु प्रभावित भइरहेको गुनासाहरु सुन्नमा आएका छन् । बजारमा बहालमा कोठा नपाउने अवस्थामा थियो । यतिखेर यो पंक्तिकारले यसै विषयमा लेख्दै गर्दा ५० वटा पसल सटर बन्द अवस्थामा देखिएको छ । गाउँपालिकाको केन्द्र केन्द्रमा विस्तारै व्यापार व्यवसाय बढ्दै गएपछि बेनीबजारमा यसको असर पर्दै गएको कुरा बुझ्न सकिन्छ ।
के बेनीको भविष्य सकिएकै हो त ?
बेनीको भविष्य सकिएको होइन, अझ थपिनेवाला छ । हो, यतिखेर माथि उल्लेखित कारणले केही असर परेको बखत छ । त्यसो त होलसेल गर्ने ठूला व्यापारीहरु उद्योगी व्यवसायीहरु यातायात व्यवसायीहरुलाई केही फरक परेको छैन ।
बेनीको भविष्य उज्ज्वल छ भन्ने कुरा कसरी भन्न सकिन्छ भने भौगोलिक अवस्थाले बेनी ६ वटा पालिकाको केन्द्रमा नै अवस्थित छ । बेनी यस्तो भाग्यमानी ठाउँ हो, जो पर्वत जिल्लाको उत्तरी भाग बेनीसँगै जाडिएको छ । बागलुङको पश्चिम बेल्ट जाने मुकाम बेनीबजार भएरै हो भने सिंगो मुस्ताङ जिल्ला जहाँ मुक्तिनाथ र कोरला नाका अवस्थित छ, त्यहाँ जाने मूल ढोका बेनी नै हो । अन्तर्राष्ट्रिय रागमार्ज कालीगण्डकी करिडोर बेनी भएर जानुको विकल्प छैन । काली म्याग्दी, रघुगंगा लगायत प्रसिद्ध नदी र थुप्रै सहायक नदीहरुले सुसम्पन्न म्याग्दी जलविद्युतको हब बन्ने कुरामा शंकै भएन । जसको अधिकतम फाइदा बेनीलाई नै हुन्५ । यस्तै हिमाल, पहाड, जङ्गल, जडिबुटी, तालतलैया, धार्मिक तथा सांस्कृतिक धरोहरको केन्द्रस्थल रहेको म्याग्दी र यसको केन्द्रविन्दु बेनीमा थरिथरिका मान्छेलाई घरिघरि आउनु पर्ने बाध्यता बनाउँछ । मानिसको जति ओइरो लाग्छ, त्यति त्यति विकासको पहिरो चल्ने न हो, त्यसैले बेनीको भविष्य समुज्ज्वल छ ।
सुन्दर बेनीबजारलाई अझ सुन्दर बनाएर यसबाट अपार फाइदा लिन सकिने ठूलै अवसर भए पनि दूरगामी सोच र चिन्तनको अभावको कारण म्याग्दीले साँच्चै विकासमा फट्को मार्ला या नमार्ला भन्ने कुरामा शंका पनि लाग्छ । बेनी र म्याग्दीलाई केही कुरामा दूरगामी महत्वका साथ योजना बनाएर कार्यान्वयनमा जुट्ने हो भने यो साँच्चै भूस्वर्गको टुक्रा हुनेछ र यहाँ स्वर्गीय आनन्दको रसास्वादन गर्न आउनेहरुको माचो नै लाग्नेछ तब त म्याग्दीको विकास नभए कसको हुन्छ, हैन त ?
तर यो सानो लेखमा सम्भावनाका चुराकुरा पूराकापूरा लेख्न सम्भव नभएकोले छोटोमा मोटो कुरा लेखेर सम्बन्धित सरोकारवाला सबैको ध्यानाकर्षणको लागि निवेदन गर्दछु ।
१. हालसालै कालीगण्डकी र म्याग्दी नदी नियन्त्रणको लागि जुन ढाँचामा सिमेन्टेड आरसिसी वाल लगाइएको छ, त्यो विल्कुल केटाकेटी पाराको भयो भनेर यो पंक्तिकारले प्राविधिक वा इन्जिनियर तथा प्रशासकीय अधिकृतसहितको वृहत भेलामा बेलाबेलामा आफ्नो कुरा राख्दै आएको थियो । खास हुनुपर्ने वारि र पारि दुबै किनारको विचार गरी नदीलाई बीचैबीच बग्न दिने गरी बाटो बनाइदिने र तटबन्ध ठाडो वाल होइन तर तरेली परेको, बुटवल तिनाउ नदीको तटबन्ध जस्तो होस्, त्यो खालको बनौटले एकातिर नदी जति बढ्छ बग्ने स्थान पनि बढी नै पाउँछ र अर्कोकुरा नदीसम्म पुगेर जल उपयोग गर्न जो कोहीलाई जहाँ कहीँबाट पनि सजिलो हुन्छ । अहिलेको जस्तो बनोटले सुरक्षाको हिसाबले पनि खतरा हुन्छ । आत्महत्या गर्न वा कसैले कसलाई घचेटेर हत्या गरिदिन पनि सकिने संरचना हो यो । हालै एकजना १७ वर्षीया युवतीले विद्युत कार्यालयनेरबाट हामफालेर बेपत्ता भएको कुरा १ महिना पनि पुगेको छैन । यी नदीहरुमा बाँध बाँध्न सकियो भने स्थानीय रुपमा जलक्रिडा गर्न, स्थानीय रुपमा जल यातायात ढुवानी गर्न, सामुदायिक रुपमा माछापालन, जलहाँस पालन गरेर आम्दानी बढाउनुका साथै पर्यटकहरुको मन लोभ्याएर म्याग्दी जाऊँजाऊँ बनाउन सकिन्छ ।
२. बाटो जति बनाइन्छ, पिचै बनाइयोस् र कम्तीमा दोहोरो गाडी निर्वाह चलोस् । विकासको पंखा आफैं गाउँगाउँ घरघरमा जान्छ । अहिलेको सडक विकास होइन, ज्यानमारा हो । जुनसुकै बेला तपाइँहामी जोसुकै पनि परमधाम हुन सक्छौं । सडक सञ्जाल एम्बुस सञ्जालको रुपमा प्रतिस्थापित छ ।
३. प्राकृतिक तथा धार्मिक पर्यटकीय सूचना केन्द्र र पूर्वाधार बनाउने काम त भर्खरभर्खर भएको छ तर ती अझै पनि दीर्घकालीन सोच अनुसार छैनन्, कामचलाउ प्रवृत्तिमा आधारित छन् । मजबुत योजना र कार्यान्वयनमा दरिलो कदम आवश्यक छ ।
४. म्याग्दीको हावापानी स्वर्गीय आनन्द दिने खालको प्राकृतिक छ । यसको सदुपयोग गर्ने हो भने म्याग्दीका भीर पाखा पखेरामा जताततै सुन फलाउन सकिन्छ । यसको लागि राज्यले प्रोत्साहन गर्नुपर्दछ र सामुदायिक तथा निजी क्षेत्रलाई उक्साउनु पर्दछ ।
५. वैदेशिक रोजगारको तथ्याङ्क उतार्नै पवर्दछ र स्वदेशमै गोडमेल नगरी समृद्धि हासिल गर्न सकिँदैन भन्ने स्वाधीनता, राष्ट्रियता र स्वाभिमानको अहम् जनजन खासगरी युवा मनमा भरिदिनु पर्दछ । लौ त कसो नहोला विकास ? रुप्से दैनिकको विशेषांक प्रकाशनको सन्दर्भले सरोकारवालाहरुमा ब्रेन स्ट्रोमिङ होस्, अहिले यत्ति ।
(लेखक नागरिक समाज म्याग्दीका संयोजक हुन् ।)
Previous Article९ सय किशोरीले आज रेडियो बहस गर्ने
Next Article खेलकुद विकासको निःशर्त आयामहरु