नेपालीहरुको महान् पर्व बडादशैं, शुभदिपावली, छठपर्वसहितका चाडपर्वमा घट्न सक्ने सम्भावित घटनालाई मध्यनजर गरेर प्रहरीले सुरक्षा सतर्कता उच्च बनाएको छ । म्याग्दी प्रहरीले चाडपर्वको समयमा समाजमा हुने सामाजिक बिकृतिलाई न्युनीकरण गर्नका लागि विशेष सुरक्षा योजना तयार पारेको हो ।
चाडपर्वको समयमा समाजमा घट्न सक्ने सम्भावित घटनालाई मध्यनजर गरेर चाडपर्वका लागि मात्रै १ सय ५३ जना प्रहरीहरु परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । बडादशैं तथा शुभदिपावली लगायतका चाडपर्वहरुमा विभिन्न किसिमका घटनाहरु घट्न सक्ने भएकाले सम्भावित घटनाको न्युनीकरण गर्न जिल्ला सदरमुकाम बेनीदेखि दुर्गम वस्तीसम्मका आपराधिक घटना र सामाजिक बिकृतिलाई नियन्त्रण गर्न सुरक्षा योजना बनाइएको छ ।
बुधबार जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार भेटघाटमा म्याग्दीका प्रहरी नायव उपरीक्षक विरबहादुर बुढामगरले चाडपर्वलक्षित विशेष सुरक्षा योजना बनाइएको जानकारी दिएका छन् । उनका अनुसार चाडपर्वमा घट्ने विभिन्न घटनालाई मध्यनजर गरी ८ प्रकारका जिम्मेवारी तोकेर सुरक्षा योजना निर्माण गरिएको छ । विशेष गरी चाडपर्वमा बैंक तथा वित्तीय संस्था र सुनचाँदी दुकानमा बढी भीडभाड हुने भएकाले संवेदनशिल ठाउँलाई विभाजन गरी प्रहरीको टोली परिचालन गरिएको प्रनाउ बुढामगरले बताएका छन् ।
बजारको तुलनामा ग्रामीण क्षेत्रमा धेरै चहलपहल, मेला पर्वको आयोजना गरिने भएकाले पनि प्रहरीचौकी नभएका दुर्गम बस्तीमा समेत छड्के गस्तीसहित सादा पोशाकमा प्रहरी परिचालन गरिएको छ । पिकेट डिउटी, ग्रामीण गस्ती, ट्राफिकसहितको चेकजाँच, मोबाइल टोली, सवारी तथा पैदल गस्ती लगायतका योजना बनाइएको प्रनाउ बुढामगरको भनाइ छ । चाडपर्वमा जिल्ला बाहिरबाट भित्रनेहरुले गैरकानुनी सामान ओसारपोसार गर्ने हुँदा आपराधिक गिरोह समेत सक्रिय हुने भएकाले प्रहरीले विशेष सुरक्षा योजना बनाएको उनले बताए । स्थानीय तह तथा वडास्तरमा जनप्रतिनिधिहरूसँग आवश्यक सहकार्य गरी मेलापर्वमा अपराधिक घटना हुन नदिने गरी सुरक्षा योजना बनाइएको छ ।
म्याग्दी जोड्ने पर्वत, कास्की र बागलुङ नाकामा २४ घण्टा प्रहरीको निगरानी, छड्के चेकजाँच, सार्वजनिक सवारीसाधनमा कानुनले बर्जित गरेका समान ओसारपोसार हुनसक्ने भएकाले त्यसलाई नियन्त्रण गर्न सादा पोसाकमा प्रहरी परिचालनलाई प्राथमिकतामा राखिएको छ । जिल्लाका ग्रामीण बस्तीमा अझै पनि प्रहरीको सहज उपस्थिति नभएकालाई चौकीमार्फत जनप्रतिनिधिसँग समन्वय गरी सुरक्षा योजना सफल बनाउने प्रनाउ बुढामगरले बताएका छन् । बजारका होटलहरुमा बास बस्नेहरुको रेकर्ड राख्न लगाउने, जुवातास, घरेलु मदिरा उत्पादन गर्ने ठाउँमा निगरानी गरिने जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
म्याग्दीको बेनी नगरपालिका, मंगला, मालिका, धवलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा इलाका प्रहरी कार्यालय, सीमा प्रहरीचौकी र प्रहरी चौकीबाट निरन्तर निगरानी नभएका स्थानमा छड्के अनुगमन गरिने बताए । चाडपर्वमा बढी मेला हुने ग्रामीण क्षेत्रमा अपराधी नियन्त्रणका लागि ग्रामीण क्षेत्रमा रहेका प्रहरीचौकीबाट समेत नियमित निगरानी बढाइएको बताउँदै आपराधिक घटना न्युनीकरणमा आम नागरिकबाट पनि सहयोगको अपेक्षा गरिएको प्रहरीको भनाइ छ । चोरी, डकैती, लुटपाट, अनियमित भाडा असुल्ने, ओभरलोड, ट्राफिक नियम उल्लङ्घन जस्ता थुप्रै घटनाहरु प्रहरीका सामु चुनौतीका रुपमा रहेको प्रहरीले जनाएको छ ।
म्याग्दी जिल्ला भित्रिने मुख्य नाका कालीपुल बसपार्क, रत्नेचौर, दरबाङ र भूरुङ–तातोपानी क्षेत्रलाई विशेष ध्यान दिइएको छ । यसैगरी बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा गुड्ने सवारीलाई चेकजाँच गर्नुका साथै जिल्लामा २४सै घण्टा चेकजाँचको व्यवस्था गरिएको छ । चाडपर्वका नाउँमा खेलिने जुवातासको नियन्त्रण, मदिराजन्य उत्पादन तथा पटका नियन्त्रण गरिने भएको छ । गाडी जान सक्ने ठाउँमा प्रहरीको मोबाइल टोली गाडी जान नसक्ने ठाउँमा मोटरसाइकलमार्फत प्रहरीको उपस्थितिलाई बलियो बनाइने बताइएको छ । त्यस्तै दशैंतिहारको पूर्वसन्ध्यामा म्याग्दी प्रहरीले सचेतनामूलक अभियान सञ्चालन गर्ने तयारी गरेको जानकारी गराएको छ ।
यसैबीच म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले समाजमा घट्ने सामाजिक बिकृति र आपराधिक क्रियाकलाप न्युनीकरणका लागि सरोकारवाला निकाय सबै मिलेर लाग्नुपर्ने बताए । उनले समाजमा घट्ने जुनसुकै घटनाको बारेमा पनि तत्कालै सम्बन्धित निकायमा खबर गर्न र नियन्त्रण गर्न आग्रह गरेका छन् । चाडपर्व तथा अन्य समयमा संयुक्त रुपमा बजार अनुगमन गरिने जानकारी दिए । यसअघि कालीपुल बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरी सञ्चालन गरिसकिएको छ ।
Previous Articleशिक्षक दिवसको शुभकामना
Next Article पुलिसका तारा देवी र सन्देश स्ट्रङ्गेष्ट खेलाडी घोषित