आजभन्दा १५ वर्ष अगाडि साप्ताहिक पत्रिकाबाट प्रकाशन आरम्भ गरिएको रुप्से अहिले आएर दैनिकका रुपमा सञ्चालनमा रहेको छ । २०६९ सालदेखि दैनिक रुपमा सञ्चालन भएको पनि ७ वर्षमा चल्दैछ । सुरुको समयमा साप्ताहिक रुपमा प्रकाशन भई रहेको पत्रिकालाई सञ्चार सहकारीमार्फत प्रकाशन गर्दै दैनिक पत्रिका तपाइँहरुको हातहातमा पु¥याउनु नै हाम्रो पहिलो जित हो । रुप्से आफैमा पनि म्याग्दीको इतिहास हो । धौलागिरी र अन्नपूर्ण हिमालको खोच संसारकै गहिरो अन्धगल्छीमा पर्ने रुप्से झरना जस्तै कलकल बग्ने हाम्रो प्रयास अहिलेसम्म पनि निरन्तर रुपमा जारी नै छ । देशमा सिर्जना भएका विषम परिस्थितिहरुको सामना गर्दै विभिन्न डर, त्रास र धम्कीको सामना गर्न पनि कुनै कसर बाँकी राखेको छैन रुप्सेले । यस्ता धेरै आरोह अवरोहरु पार गर्दै आजको दिनसम्म आइपुगेको हो । विश्वमा सञ्चारको विकाससँगै छापा, विद्युतीय र अनलाइन सञ्चारमाध्यमको विकास र विस्तार भैरहेको वर्तमान परिस्थितिमा थप चुनौतीहरु पार गर्दै अगाडि बढ्दै जाने हाम्रो प्रण यथावत नै छ । मानवीय स्वभाव भनेको नै जित्ने हो र त्यसका लागि सदैव प्रयासरत छ, साथै रहनका लागि कटिबद्ध पनि छ । म्याग्दी जिल्लाको पहिलो निरन्तर प्रकाशित पत्रिका रुप्से पहिलो दैनिक अनि प्रेस काउन्सिलबाट वर्गीकरण गर्दा पहिलो ‘क’ वर्गको पत्रिका पनि रुप्से नै हो । म्याग्दी सन्देश, म्याग्दी सञ्चार पत्रिका प्रकाशन भएर केही समयपछि प्रकाशन अवरुद्ध भएको अवस्थामा म्याग्दीमा पत्रिका पढ्ने बानी बसाल्न पनि रुप्से सफल भएको थियो ।
बच्चा जन्मेर हुर्केपछि १५ वर्षे उमेर पुग्ने बेलामा उसले एसएलसी दिन्छ भन्ने जुन नेपाली समाजको विद्यमान सामाजिक मान्यता छ त्यही स्थानमा पुगेको छ रुप्से अहिले । पत्रिका प्रकाशन गर्नु मात्र ठूलो कुरा थिएन । त्यसलाई निरन्तर सञ्चालन गर्नु निकै चुनौती थियो । त्यही चुनौतीलाई थेग्दै अगाडि बढ्ने बेलामा म्याग्दी जिल्ला र आसपासका क्षेत्रका पाठक, उद्योगी, व्यापारी तथा समग्र विज्ञापनदाताले देखाउनुभएको सहयोग सद्भाव र मायाकै कारणले नै हामी अहिलेको अवस्थामा आइपुगेका हौं । समग्र शुचिन्तक विज्ञापनदाता, ग्राहकहरुकै माया र हौसलाका कारणले नै हामी यहाँसम्म आइपुग्न सफल भएका छौं । आगामी दिनमा पनि यहाँहरुको माया, ममता र स्नेह पाउने नै छौं भन्ने आशा राखेका छौं । १५ वर्षे यात्रासम्म यहाँहरुले गर्नुभएको माया, सहयोग र सद्भावको कुनै मूल्य चुकाउन हामी सकौंला या नसकौंला त्यो थाहा छैन । तैपनि सामाजिक हिसाबले हेर्ने हो भने १५ वर्षको अवधि खासै धेरै होइन तर पनि यस अवधिमा पार गरिएका यतिका घुम्तीहरु भने पक्कै पनि चानचुने थिएनन् । यो अवसरमा हामी हाम्रा श्रद्धेय पाठक, सिर्जनशिलताले भरिएका पत्रकार, लगनसिल भएर काम कारवाही अगाडि बढाइरहेका कर्मचारी, तथा बिक्रेता अनि शुभेच्छुकहरुप्रति आभार व्यक्त नगरी बस्न सकिँदैन ।
रुप्से पत्रिकाले आजको दिनबाट १४ वर्ष पुरा गरेर १५औं वर्षमा पाइला टेक्दै गर्दाका दिन धेरै कामहरु पनि यसै दिन हुँदैछ । आजकै दिन रुप्से सञ्चार सहकारीको वार्षिक साधारणसभा तथा अधिवेशन पनि भव्य रुपमा सम्पन्न गरिँदैछ । आजका दिन सम्मानित हुनुहुने सम्पूर्ण रुप्सेका सहयोद्धाहरुको सहयोग र मेहनतलाई भुल्न सकिदैन । रुप्से सञ्चार सहकारीको टिममा बसेर काम गर्नुहुने सम्पूर्ण सञ्चालक समितिहरुको सहयोग विना अहिलेको अवस्थामा पक्कै पनि आउन सम्भव थिएन । आजको निर्वाचनबाट आउने नयाँ टिमले रुप्सेलाई थप व्यवस्थित र अझै राम्रो बनाएर अघि बढाउनेमा आशा गरेको छु । नयाँ टिमले रुप्सेलाई सबैको रुप्से बनाएर लैजानेछ । रुप्सेको ग्राहक अभियानमा सहभागी बन्नुभएका सम्पूर्ण ग्राहक महानुभावहरुमा धन्यवाद, ग्राहक बम्पर अभियानमा विभिन्न पुरस्कार उपलब्ध गराएर सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी निकायलाई पनि धन्यवाद ।